
काठमाडौं । काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । अपराह्नपछि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“काठमाडौंमा आज आंशिक बदली हुनेछ । अपराह्नपछि क्षणिक वर्षाको पनि सम्भावना रहेको छ,” मौसमविद् शान्ति कँडेलले बाह्रखरीसँग भनिन् ।
उनका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान छ ।
पश्चिमी र स्थानीय वायुको प्रभावका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहँदा वर्षा हुने भएको हो ।
दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफादेखि आंशिक बदली रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।
राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहनेछ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।