
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । बुधबार आयोगको आयोजनामा आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना तर्जुमा एवं राष्ट्रिय आयोजना बैंकसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
आयोगका उपाध्यक्ष प्रा.डा. अधिकारीले आयोजनालाई अध्ययन र कार्यान्वयन हुने किसिमका गरी दुई प्रकारमा विभाजन गरिने उल्लेख गरे । उनले कार्यान्वयन गरिने खालका आयोजना तीन करोड रूपैयाँभन्दा कमको नहुने बताए ।
उनले तीन करोडभन्दा कमको आयोजना राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट गर्न नमिल्ने बनाइएको समेत छलफलका क्रममा स्मरण गराए ।
सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नै आयोजनाको प्राथमिकता र पुनः प्राथमिकता गर्नुपर्ने उल्लेख गरे । छिटो सम्पन्न हुने आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्ने उनले जोड दिए ।
उनले प्रोजेक्ट बैंकमा पनि नजाने डीपीआरमा पनि नजाने आयोजनामाथि प्रश्न उठ्ने र उठ्नु जायज पनि भएको भन्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नभएको आयोजना अध्ययनको क्रममा राखिने समेत उल्लेख गरे ।