
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बुधबार शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको हरेक परिवर्तनमा नेपाली पत्रकारिता जगत्ले उल्लेखनीय भूमिका खेलेको बताए ।
समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने राष्ट्रपतिको भनाइ छ । सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्ने अवस्थाको सुनिश्चितातर्फ सबैको ध्यान जान आवश्यक रहेकोमा उनले जोड दिए ।
स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको भन्दै राष्ट्रपति पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताविना लोकतन्त्रको कल्पना गर्न नसकिने स्पष्ट पारे ।
सूचना प्रविधिको विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधारहीन र मिथ्या सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्न नेपाली प्रेस सक्षम हुने विश्वास उनले व्यक्त गरे ।
राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनपछि नेपाली जनताले अपेक्षा गरेको सुशासन, विकास, प्रगति र आर्थिक समृद्धिको युगानुकूल चाहना पूरा गर्ने अभियानमा नेपाली प्रेसले अझै प्रभावकारी ढंगले काम गर्नेमा आफू विश्वस्त रहेको धारणा राखे ।
सो अवसरमा वरिष्ठ पत्रकार सम्मान पत्रकार महासंघका पूर्वअध्यक्ष विपुल पोखरेल र प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गणेश बस्नेतलाई प्रदान गरिएको थियो । त्यस्तै, राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ विमल गौतम, दीपेन्द्र श्रेष्ठ, लोग्सरी कुँवर, दीपेन्द्र बान्तवा, डिल्लीराम खतिवडा र सागर पण्डितलाई प्रदान गरिएको थियो ।