
काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनारविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वोच्चले लिखित जवाफ माग्ने आदेश गरेको छ । अधिवक्ता मनिषा गौतमले दायर गरेको अवहेलना निवेदनमा मंगलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको इजलासले लिखित जवाफ माग्ने आदेश गरेको हो ।
उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले अन्तरजातीय विवाह विवादमा नवराज विकसहितको ज्यान गएको घटनामा जन्मकैदको जिल्ला अदालतको फैसला सदर गर्दै जातीय विभेदसम्बन्धी आदेश बदर गरिदिएको थियो ।
रुकुमपश्चिमको सोती घटनामा जिल्ला अदालतको फैसला उच्च अदालत सुर्खेतले उल्टाएपछि सुनारले फैसला गर्ने न्यायाधीशको राजीनामा माग्दै प्रदर्शन गरेका थिए । दैलेख घर भएका सुनारले उच्च अदालत सुर्खेतको आदेशविरुद्ध प्रदर्शन गरेका थिए ।
उक्त आदेशविरुद्ध सुनारले न्यायाधीशको नामै किटेर राजीनामा माग्दै प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनविरुद्ध अधिवक्ता गौतमले यही वैशाख १९मा अवहेलना निवेदन दर्ता गराएकी थिइन् ।