site stats
बाह्रखरी :: Baahrakhari
देश
१७ अर्ब ८६ करोड अवैध कारोबार गरेको आरोपमा २१ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ अवैध कारोबार गरेको आरोपमा २१ जनालाई पक्राउ गरेको छ ।

सीआईबीले सोमबार एक विज्ञप्ति जारी गर्दै ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ कारोबारीलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

Argakhachi Cement Island Ad

पक्राउ पर्नेहरूमा मोरङका वीरेन्द्रप्रसाद साह र दिपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका नीरोजकुमार महतो, अलितादेवी महतो, प्रकाश सिंह र अरुण कुमार, पर्साका प्रदीपकुमार साह र धनुषाका संजीवकुमार महतो छन् ।

यस्तै, नवलपरासीका राजकमल लोनिया, भीमकुमारी गुरुङ, सप्तरीका रामविलास साह तेली र ममताकुमारी साह, पर्साका बिकर्ण जंग राणा, नवलपरासीका गणपती पाण्डे, वीरगंजका सलमा खातुन, सप्तरीका शुसिलाकुमारी काहु, चितवनका गोविन्दप्रसाद आचार्य र सप्तरकिा शम्भु मेहता पनि पक्राउ परेका छन् ।

विदेशबाट रेमिट्यान्सबापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक रेमिट्यान्सको नाममा नेपालमा अवैध कारोबार (भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली) लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले यस्तो अवैध कारोबार गरेको सीआईबीले जनाएको छ ।

यसरी प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरूमा जम्मा गर्नको लागि ‘मनी म्युल’हरूलाई परिचालन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूले नेपाल राष्ट्र बैंकबाट जारी आदेश र निर्देशनविपरीतको कार्य गरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिमको कसुर उपर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्