site stats
बाह्रखरी :: Baahrakhari
खेल
३५ वर्षपछि एन्फिल्डमा फर्किएको च्याम्पियन उल्लास

काठमाडौं । जारी सिजनको लामो पर्खाइको अन्त्य गर्दै लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । घरेलु मैदान एन्फिल्डमा टोटनहमविरुद्ध ५–१ को जित निकाल्दै लिभरपुल प्रिमियर लिग च्याम्पियन बन्यो ।

योसँगै लिभरपुलले सबैभन्दा धेरै प्रिमियर लिगको उपाधि जित्ने कीर्तिमानमा म्यानचेस्टर युनाइटेडसँग बराबरी गरेको छ । यी दुवै क्लबले समान २० पटक प्रिमियर लिगको उपाधि जितेका छन् ।

टोटनहमसँगको जितसँगै एन्फिल्ड रोडस्थित रंगशाला बाक्लो रातो धुवाँले भरियो । रंगशालामा उपस्थित समर्थकले ‘इंग्ल्यान्डकै सबैभन्दा सफल क्लब’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । यो एन्फिल्डमा ३५ वर्षपछि देखिएको उल्लास थियो ।

l2-1745829535.jpg
लिभरपुल यसअघि सन् १९९० को अप्रिल २८ मा एन्फिल्डमा यस्तै अनुभवसहित प्रिमियर लिग च्याम्पियन बनेको थियो । त्यसयता लिभरपुलले प्रिमियर लिगको उपाधि नै नजितेको भने होइन । २०२० मा योर्गान क्लोपले लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बनाएका थिए । तर, कोभिड–१९ महामारीका कारण बन्द रंगशालामा खेल आयोजना गरिँदा समर्थकले उल्लास मनाउन पाएनन् ।

यही लामो प्रतीक्षा अन्त्य गर्न खेलको पहिलो ह्विसिल बज्नुअघिदेखि नै लिभरपुलका समर्थक व्यग्र थिए । जब मुख्य रेफ्रीले अन्तिम ह्विसिल बजाए, एन्फिल्डको माहोल हेर्नलायक थियो ।

सफलतामा सबैभन्दा ठूलो योगदान थियो, डच प्रशिक्षक आर्ने स्लटको – जसले जिम्मेवारी सम्हालेको एक वर्षभन्दा पनि कम समयमा लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बनाए । लिभरपुल क्लोपले जिम्मेवारी छोडेको ३४३ दिनमै च्याम्पियन बनेको हो ।

l3-1745829552.jpg
सन् २०१५ मा लिभरपुल आएका क्लोपले जिम्मेवारी छोड्दा क्लब ठूलै अनिश्चिताबाट ग्रुजिएको थियो । तर, स्लटले त्यसलाई एक वर्षभन्दा लामो समय टिक्न दिएनन् ।

“क्लोपको स्थान लिनु निकै ठूलो जिम्मेवारी थियो । तर, उनले (स्लट) आफ्नो काम आफ्नै शैलीमा पूरा गरे – जसको सबै श्रेय स्लटलाई नै जान्छ,” प्रिमियर लिग च्याम्पियन बनेपछि कप्तान भर्जिल भान डाइकले भने, “हामी प्रिमियर लिग च्याम्पियन बन्छौँ भन्ने सोच्ने सायदै कोही थिए ।”

एन्फिल्डको माहोल
मध्य बिहानीदेखि नै एन्फिल्डको सडकमा समर्थकको लामो लाइन थियो । सबै रंगशाला प्रवेश गर्नेमध्येको पहिलो बन्न व्यग्र प्रतीक्षामा थिए । यो भीड यति ठूलो थियो कि एन्फिल्डका सडकमा आँखाले भ्याएसम्म समर्थकको लाइन थियो । सडक पूर्ण रूपमा जाम थियो ।

खेलका निम्ति बिक्री भएको प्रतिटिकट मूल्य अनधिकृत रूपमा तीन हजार पाउन्डसम्म पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तर, समर्थक त्यो मूल्यको पर्वाह नगरी एन्फिल्डमा च्याम्पियन बन्दाको क्षण अनुभव गर्न लालायित थिए ।

खेलको १२औँ मिनेटमा डोमिनिक सोलान्केको गोलमा टोटनहमले अग्रता बनाएको थियो । त्यसको चार मिनेटपछि नै लुइस डियाजको गोलमा लिभरपुल खेलमा फर्कियो । लिभरपुलले पहिलो हाफमा ३–१ को अग्रता बनायो । दोस्रो हाफमा दुई गोल थप्यो ।

l4-1745829569.jpg
लिभरपुलका लुइसबाहेक एलिक्सस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सालाहले गोल गरे । लिभरपुलले अर्को एक गोल भने टोटनहमका खेलाडीबाट आत्मघाती उपहार पाएको थियो ।

“यहाँ समर्थकको अघि उपाधि जित्नु विशेष हो । एकदमै असाधारण अनुभव । यो पाँच वर्षअघि उपाधि जित्दाको भन्दा धेरै रह्यो,” क्लबका फरवार्ड सालाहले समर्थकको उल्लासपूर्ण साथलाई यसरी शब्दमा उतारे ।

अझ विशेष कुरा त के भने, १९९० मा लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बनाएका प्रशिक्षक केनी डालल्गिस पनि एन्फिल्डमा खुसियाली मनाइरहेका मध्येमा थिए ।

“पाँच वर्षअघि पनि लिभरपुलले उपाधि जितेको थियो । तर, त्यस बेला मैदानमा समर्थक थिएनन् । यसले पनि रंगशालामा समर्थकको उपस्थिति कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाउँछ । हाम्रो टिमले आज उत्कृष्ट प्रदर्शन गर्‍यो । यो टिममा हाम्रा समर्थक पनि समावेश छन्,” प्रशिक्षक स्लटले थपे ।

l6-1745829589.jpg
आधिकारिक च्याम्पियन बने पनि लिभरपुलले यो सिजन अझै चार खेल खेल्न बाँकी छ । तालिकाको शीर्ष स्थानमा आसीन लिभरपुलले ३४ खेलबाट ८२ अंक जोडेको छ । त्यो दोस्रो स्थानको आर्सनलको भन्दा १५ अंक धेरै हो । समान खेलबाट आर्सनलको ६७ अंक छ । अर्थात्, अबका चारै खेलमा लिभरपुलको हार र आर्सनल विजयी हुँदा पनि स्लटको टिम तीन अंकले अगाडि रहन्छ ।

l5-1745829605.jpg
यही समीकरणले लिभरपुल पाँच वर्षपछि पुनः प्रिमियर लिग च्याम्पियन बन्यो । पाँच वर्षअघिको शून्यतालाई चिर्दै यो सिजन एन्फिल्डमा एउटा चर्को नारा लगाइयो, “यु विल नेभर वक अलोन ।” अर्थात्, “तिमी कहिल्यै एक्लो हिँड्ने छैनौ ।”

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्