
काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले यदि भारतले आफ्नो भूमिमा कुनै कारबाही गरेमा त्यसको उचित जवाफ दिने बताएका छन् ।
बिहीबार इस्लामाबादमा प्रधानमन्त्री सहबाज सरिफको अध्यक्षतामा भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ख्वाजा आसिफले भने, “हामी हरेक आतंकवादी हमलाको निन्दा गर्छौं, तर हामीलाई आफ्नो रक्षा गर्ने अधिकार छ ।”
“हामी पूर्ण रूपमा तयार छौँ, भारतको कुनै पनि दुस्साहसको उचित जवाफ दिनेछौँ । यदि भारतले पाकिस्तानको कुनै पनि सहरमा कुनै कारबाही गर्छ र कुनै पनि पाकिस्तानी नागरिकलाई हानि पुर्याउँछ भने, त्यसको पनि उही तरिकाले जवाफ दिइनेछ ।”
अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि बुधबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस)को बैठकले धेरै निर्णय गरेको थियो । बैठकले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी सीमा बन्द गर्नेलगायत धेरै निर्णय गरिएको थियो ।
यसको प्रतिक्रियामा, बिहीबार इस्लामाबादमा पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले पनि जवाफी निर्णयहरू गर्यो ।
भारतको अनन्तनाग प्रहरीले बिहीबार जम्मू कश्मीरको पहलगाममा आतंकवादी हमला गर्नेहरूको तस्बिर जारी गर्यो । अनन्तनाग प्रहरीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा जारी गरेको तस्बिरमा रहेका तीनजनामध्ये दुईजना पाकिस्तानी नागरिक भएको जनाएको छ । तीनैजना चरमपन्थी संगठन लस्कर–ए–तैयबासँग सम्बन्धित रहेको बताइएको छ । बीबीसी