
काठमाडौं । अमेरिकाले इरानबाट तेल किनेको भन्दै चीनमा रहेको एक स्वतन्त्र तेल प्रशोधन कारखाना ‘टिपट रिफाइनरी’माथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि दबाब बढाउने रणनीतिका साथ यो प्रतिबन्ध लगाएकोे हो ।
टिपट रिफाइनरी तेल उद्योग सानो स्वतन्त्र प्रशोधन कारखानाका रूपमा छ । अमेरिकी वित्त मन्त्रालयले बुधबार चीनमा रहेको एउटा स्वतन्त्र टिपट रिफाइनरीमा प्रतिबन्ध लगाएको घोषणा गरेको हो ।
यसले इरानबाट एक अर्ब डलरभन्दा बढी मूल्यको कच्चा तेल खरिद गरेको आरोप लगाइएको छ । ट्रम्प प्रशासनले चीनको रिफाइनरीमा लगाएको यो दोस्रो सानो प्रतिबन्ध भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकी वित्तीय प्रणालीसँग जोडिएका कारण अमेरिकाले यसअघि चिनियाँ टिपट रिफाइनरीलाई निसाना बनाउन ध्यान दिएको थिएन । अमेरिकी प्रतिबन्धको जोखिमका कारण चिनियाँ राज्य नियन्त्रित तेल कम्पनीले इरानी तेल खरिद बन्द गरिसकेका छन् ।
अमेरिकी वित्त मन्त्रालयद्वारा बुधबार प्रकाशित वक्तव्यमा यो कदमले चिनियाँ आयातकर्तालाई इरानी तेल खरिद नगर्न दबाब बढाउने उल्लेख छ । योसँगै ट्रम्पले इरानी तेल निर्यात शून्यमा झार्न दबाब अभियान पुनः सुरु गरेका बताइएको छ ।
ओमानमा गएको साता र रोममा आउँदो हप्ता हुने इरानसँग परमाणु कार्यक्रमसम्बन्धी वार्ताबीच अमेरिकाले यो कदम चालेको हो । ट्रम्प प्रशासनले यो महिना इरानसँग पुनः वार्ता सुरु गरेको छ ।