
काठमाडौं । परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टीभित्र आफू भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढेको बताएकी छन् ।
इलामको श्रीअन्तुमा आज कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र यो प्रवृत्ति अझ बढी कांग्रेसमा देखिएको बताइन् ।
“आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला, तर त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो,” राणाले भनिन् ।
अहिले नेपाली कांग्रेस सरकारमै रहेको अवस्थामा कांग्रेसकै नेताहरूले सरकारको विरोध बढी गरिरहेको उनको गुनासो छ । “आगामी निर्वाचनमा हामीले पार्टीलाई अहिलेको भन्दा ठूलो बनाउनुपर्नेछ । अरू पार्टीहरू ‘मिसन ८४’ भन्दै अघि बढेका छन्, तर हामी भने देशैभरिका कार्यकर्तालाई एकताबद्ध गरेर पार्टी मजबुद बनाउन लाग्नुको सट्टा आपसी विवाद गर्दै हिँडेका छौँ,” उनले भनिन् ।