
काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गरिने भएको छ ।
चिडियाखानाद्वारा बिहीबार (चैत २८) आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागानुसार आउँदो वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।
उनले भने, “त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ ।”
चिडियाखाना हाल बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने गरिएको छ ।
त्यहाँ रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गरे । उनले यो चिडियाखाना साँघुरो भएकाले विस्तारका निम्ति सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधानानुसार आवश्यक काम भइरहेको बताए ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताए । यसको सम्वर्द्धनमा सबैलाई हातेमालो गर्न उनले आग्रह गरे ।
उनले आफू ललितपुरमा अतिक्रमणमा परेका, मासिएका, पुरिएका, सांस्कृतिक सम्पदाको पुनरुत्थान र संरक्षणमा केन्द्रित भएको जानकारी गराए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले चिडियाखाना थप दुर्लभ वन्यजन्तु स्वदेश तथा विदेशबाट ल्याउने तयारी भइरहेको र त्यसमा विभागले आवश्यक समन्वय गरिरहेको बताए । रासस