
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अब विदेशबाट आयात गरिने औषधि (फार्मास्युटिकल)मा आयात कर लगाउने घोषणा गरेका छन् । राजधानी वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले विदेशी कम्पनीलाई औषधि उद्योग अमेरिकामै खोल्न बाध्य पार्ने उद्देश्य राखिएको बताएको बीबीसीले जनाएको छ ।
“हामीले यस विषयमा एक आवश्यक कदम चाल्न लागेका छौँ । जब हामी औषधिमा आयात कर लगाउँछौँ, अमेरिका संसारकै ठूलो बजार भएकाले विदेशी कम्पनी अमेरिकामै औषधि उद्योग स्थापना गर्न फर्किनेछन्,” ट्रम्पले भनेका छन् ।
ट्रम्पका अनुसार, आयात करले औषधि कम्पनीलाई एक प्रकारको दबाब सिर्जना गर्नेछ । परिणामस्वरूप ती कम्पनीले चीनजस्ता देशबाट आफ्नो उद्योग सारेर अमेरिकामा स्थापना गर्नेछन् ।
ट्रम्पले गत हप्ता आयात कर घोषणा गर्दा औषधि उद्योगलाई छुट दिएका थिए । तर, उनले पहिले नै औषधिमा पनि छुट्टै आयात कर लगाउने बताउँदै आएका थिए ।
संसारमा सबैभन्दा धेरै औषधि चीन, भारत र युरोपमा उत्पादन हुन्छ । यस निर्णयबाट भारतको फार्मास्युटिकल उद्योगमा ठूलो प्रभाव पर्न सक्ने बताइएको छ ।