
काठमाडौं । औषधि व्यवस्था विभागले सामाजिक सञ्जलामार्फत औषधिको भ्रामक प्रचार नगर्न विक्रेतालाई चेतावनी दिएको छ । विभागले फेसबुक, टिकटकलगायत माध्यमबाट विभिन्न रोग निको हुने भन्दै अप्रमाणित औषधिको विज्ञापन गरेर नबेच्न भनेको हो ।
विभागले विभागमा दर्ता नभएका र कुनै वैज्ञानिक आधार नभएका औषधिको प्रयोगले स्वास्थ्यमा गम्भीर असर निम्त्याउनेतर्फ सजग गराएको छ । विभागले मधुमेह, मोटोपन, प्रोस्टेट, युरिक एसिड निको हुने तथा यौनशक्ति बढाउने नाममा भएका प्रचारका आधारमा औषधि प्रयोग नगर्न सर्वसाधरणलाई पनि आग्रह गरेको छ ।
विभागले गरेको प्रयोगशाला परीक्षणमा यौन दुर्बलता हटाउन प्रयोग हुने औषधिमा 'सल्डेनफिल'को समिश्रण भेटिएको छ, जसको अधिक प्रयोगले स्वास्थ्यमा गम्भीर असर पुर्याउनुका साथै मृत्युसमेत हुन सक्ने देखिएको छ ।
यस्तै, मोटोपन घटाउन भन्दै प्रचार गरिएको गार्सिनिया कम्बोजियाको प्रयोगबाट लेड पोइजनिङ (जसको असर मिर्गौलादेखि मस्तिष्कसम्म पर्न सक्छ), पेटसम्बन्धी जटिल समस्या, कब्जियतलगायत गम्भीर असर देखिने प्रमाणित भएको छ ।
अन्य औषधिसँग मिल्दोजुल्दो नाम राखेर प्रचारप्रसार, बिक्रीवितरण तथा ओसारपसार गर्नेलाई औषधि ऐन, २०३५ अनुसार कारबाही गरिने विभागको चेतावनी छ ।