site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राजावादीको प्रदर्शन अराजक हुन सक्ने सुरक्षा विश्लेषण, ड्रोनबाट पनि निगरानी 

काठमाडौं । काठमाडौं उपत्यकामा आज (चैत १५) हुने गणतन्त्रवादी र राजावादीको प्रदर्शनका निम्ति उच्च सुरक्षा व्यवस्था गरिएको छ । प्रदर्शन शान्तिपूर्ण रूपमा गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको छ ।

नेपाली सेनाको ‘इन्टेलिजेन्स’ टोली समेत खटाइएको छ । उपत्यका प्रहरी कार्यालयअन्तर्गत नियमित खटिने टोलीभन्दा करिब चार हजार प्रहरी थप गरिएको छ ।

सादा पोसाकका प्रहरीले दुवै पक्षका प्रदर्र्शनकारीको गतिविधि नियाल्न ड्रोन क्यामेरा समेत प्रयोग गर्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी शेखर खनालले जानकारी दिए ।

यस्तै, प्रहरीले भीड नियन्त्रणका निम्ति ‘वाटर क्यानन’ तयारी अवस्थामा राखेको छ ।

प्रदर्शनकारीले ‘अनावश्यक’ फोन नगरून् भनेर कल सम्पर्क टावरमा अवरोध गर्ने उद्देश्यले जामरको प्रयोग गरिने जनाइएको छ ।

राजावादी र गणतन्त्रवादी प्रदर्शनकारीबीच एकापसमा मुठभेड नहोस् भनेर उनीहरूका रुट फरक–फरक तय गरिएको एसएसपी खनालले बताए ।

प्रदर्शन शान्तिपूर्ण रूपमा गराउन जिल्ला सुरक्षा समितिले समेत नियमित ‘अपडेट’ जारी राखेको छ । जिल्ला सुरक्षा समितिले राजावादीलाई कार्यक्रमका निम्ति तीनकुने र गणतन्त्रवादीलाई प्रदर्शनीमार्ग (भृकुटीमण्डप)को स्थान उपलब्ध गराएको छ ।

गणतन्त्रवादीको प्रदर्शनको नेतृत्व समाजवादी मोर्चा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले गरेका छन् ।

राजावादीको प्रदर्शनको नेतृत्व पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीले गरेका छन् । आजको प्रदर्शनको ‘कमान्डर’ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तोकिएको छ ।

प्रहरी अधिकारीका अनुसार, गणतन्त्रवादीभन्दा राजावादीको प्रदर्शन अराजक हुन सक्ने आकलन गरिएको छ । उनीहरूलाई तीनकुनेबाट बानेश्वरतर्फ अघि बढ्न नदिने योजनासहित सुरक्षा टोली खटाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro