site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक वर्षमा एक सय किलोमिटर ग्रामीण सडक कालोपत्रे गर्ने लक्ष्य
फाइल तस्बिर ।

काठमाडौं । एक वर्षभित्र १०० किलोमिटर ग्रामीण सडक कालोपत्रे गर्ने लक्ष्य राखेको सहरी विकास मन्त्रालयले आठ महिना बित्दा ८.६ किलोमिटर मात्र सडक कालोपत्रे गर्ने काम सकेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा मन्त्रालयले झापा, रोल्पा र पर्वत गरी तीन जिल्लामा जम्मा ८.६ किलोमिटर ग्रामीण सडक कालोपत्रे गर्ने काम सम्पन्न गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षमा मन्त्रालयले देशभर १०० किलोमिटर ग्रामीण सडक कालोपत्रे गर्ने लक्ष्य बनाएको थियो ।

पुल निर्माणको अवस्था पनि सडकको भन्दा फरक छैन । चालु आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले ३० वटा स्थानीय सडक पुल निर्माण गर्ने लक्ष्य राखेको थियो । तर, आठ महिना बित्दा पाँचवटा पुल मात्र बनेका छन् ।

मन्त्रालयले पछिल्लो आठ महिनामा सर्लाहीको गेरुका नदी पुल, सिरहा नगरपालिकामा माडर पुल, दार्चुलाको तपोवन चौलानी नदी पुल, सोलुखुम्बुको लिुखखोला पुल र सिरहाको सुखचैना बुधौरा पुलको निर्माण कार्य सकेको छ ।

मन्त्रालयका अनुसार, चालु आर्थिक वर्षमा देशका विभिन्न स्थानमा ३३० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य रहेको थियो । तीमध्ये हालसम्म १६२ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ ।

वाग्मती सुधार आयोजनाअन्तर्गत चालु आर्थिक वर्षमा २०० मिटर नदी तटबन्ध, ३५० मीटर सडक कालोपत्रे र १५० मिटर मुख्य ढल निर्माण भएको सहरी विकास मनत्रालयको तथ्यांकले देखाउँछ ।

स्थानीय तहबाट हुने सार्वजनिक सेवा प्रवाह सहज रूपमा दिने उद्देश्यका साथ सहरी विकास मन्त्रालयले ६८ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य यस वर्ष राखेको थियो । हालसम्म ३६ वटा स्थानीय तहहरुको प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न गरी सार्वजनिक सेवा सुचारू भएको छ ।

चालु आर्थिक वर्षमा एक हजार ७२३ हेक्टर सिंचित क्षेत्रफल वृद्धि गर्ने उद्देश्य रहेकोमा साना सिँचाइ कार्यक्रम कार्यान्वयनअन्तर्गत ६७८ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको दाबी मन्त्रालयको छ ।

सुनसरीको लौकही सभाहल र बाँकेको नेपालगंज सिटीहलको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा लौकही सभाहलको निर्माण कार्य अन्तिम चरणमा रहेको र नेपालगञ्ज सिटीहलको ठेक्का अनुसारको निर्माण कार्य सम्पन्न भई विल फरफारकको अन्तिम चरणमा रहेको छ ।

चालु आर्थिक वर्षमा भैसेँपाटीस्थित मन्त्री निवासको दोस्रो चरणको निर्माण कार्य र चण्डीदल गणका लागि भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

हालसम्म भैसेँपाटीस्थित मन्त्री निवासको दोस्रो चरणको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भइ बाँकी निर्माण कार्य भइरहेको छ । चण्डीदल गणका लागि भवन निर्माण कार्य सम्पन्न भइ हस्तान्तरणको प्रक्रियामा रहेको र प्रयोगमा आईसकेको छ ।

२०८१ असोज ३ गतेदेखि संविधान दिवसको दिनबाट धरहरा सञ्चालनमा ल्याई परीक्षणको लागि धरहरा, बेसमेन्ट पार्किङ र बगैँचा सर्वसाधारणको लागि खुल्ला गरिएको थियो । हालसम्म एक लाख ३० हजारभन्दा बढीले धरहराको भ्रमण गरेको र दुई करोड ३७ लाखभन्दा बढी राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालयको बजेट ९१ अर्व ३५ करोड २३ लाख रुपैयाँ रहेको छ । जसमा संघतर्फ ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रहेको छ ।

हालसम्म चालु तर्फको खर्च २५.२३ प्रतिशत रहेको छ भने पुँजीगत तर्फको खर्च १७.४३ प्रतिशत रहेको छ । समग्रमा हालसम्म जम्मा १२ अर्ब २४ करोड तीन लाख ८७ हजार अर्थात् १७.९३ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा सहरी विकास मन्त्रालय (संघीय कार्यालय)बाट कार्यान्वयन हुने तीन हजार ७१६ वटा नयाँ कार्यक्रमहरूमध्ये एक हजार ६२३ वटा कार्यक्रमहरूको बोलपत्र आह्वान भइसकेको छ ।

त्यसैगरी बोलपत्र आह्वान भएका एक हजार ६२३ वटा कार्यक्रमहरूमध्ये पनि एक हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भइ १२४ वटा कार्यक्रमहरूको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

बोलपत्र आह्वान हुन नसकेका बाँकी दुई हजार ९३ वटा कार्यक्रमहरूमध्ये २८८ वटा कार्यक्रमहरू बहुवर्षीय स्वीकृतिको लागि प्रस्तावित कार्यक्रमहरू हुन् भने ८० वटा कार्यक्रमहरू संशोधनको लागि प्रस्तावित कार्यक्रमहरू हुन् ।

संशोधनको लागि प्रस्तावित ८० वटा कार्यक्रमहरूमध्ये ४४ वटा संशोधन भइ आइसकेको छ भने बाँकी संशोधन हुने प्रक्रियामा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro