
काठमाडौं । फुटपाथमा व्यापार गरी गुजारा टार्ने व्यापारीमाथि काठमाडौं महानगरपालिकाको नगरप्रहरी करिब साढे दुई वर्षदेखि कडा रूपमा तैनाथ छ ।
नगरप्रहरीबाट ठेलागाडा र साइकल खोसिएकाहरू रुँदै अनुनय–विनय गरेका भिडियो क्लिप सामाजिक सञ्जालमा यत्रतत्र भाइरल बने । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को चर्को विरोध पनि भयो ।
जबकि बालेनले मेयरमा निर्वाचित हुनुअघि ठाउँ र समय छुट्याएर फुटपाथ व्यापार व्यवस्थापन गर्ने बताएका थिए । उनले चुनावी अभियानका क्रममा टेलिभिजन अन्तर्वार्तामा भनेका थिए, “नगर प्रहरीको काम कसैलाई फालिदिने होइन । मेयरको काम पनि त्यस्तो व्यापारलाई सीमित क्षेत्र घोषणा गरेर बिहानको साढे ५ बजेदेखि साढे ७ बजेसम्म वा बेलुकाको कुनै समयमा म्यानेज गर्न सकिन्छ । त्यो एकदमै ठूलो समस्या नै होइन । हामीले ४५, ५० ठाउँ हेरेका छौँ । त्यसलाई समय तोकेर म्यानेज गर्न सकिन्छ ।”
तर, आफ्नै बोलीविपरीत एक्सनमा उत्रिएका बालेन विरोध र आलोचनाको कुनै प्रवाह नगरी ती व्यापारीलाई हटाउनतिरै लागिरहे ।
०७९ असार १७ गते नगर प्रहरीले बालुवाटारको फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्य दम्पतीमाथि जबरजस्ती बल प्रयोग गर्यो ।
नगरप्रहरीले मकैसहितको ठेलागाडा जफत गरी लछारपछार गर्दा त्यतिबेला मेयर बालेनको चर्को आलोचना भयो । त्यसपछि तत्कालीन नगरप्रहरी प्रमुख धनपति सापकोटाका कारण बालेनले गाली खानुपरेको आरोप लाग्यो ।
त्यसपछि बालेनले सापकोटालाई हटाएर एसपी राजुनाथ पाण्डेलाई नगरप्रहरी प्रमुखको जिम्मेवारी दिए । तर, पाण्डेको नेतृत्व फुटपाथ व्यापारीमाथि झनै निर्मम बन्यो ।
सापकोटा नेतृत्वले लछारपछार गरेको केही दिनपछि एसपी पाण्डे नै सापकोटा शैलीमा उत्रिए । ०७९ असार २१ गते मंगलबार थापाथली चोकमा मकै बेच्ने ६० वर्षीय तेजबहादुर तामाङ, सीता लामा दम्पती र सञ्जुदेवी चौधरीको मकैसहित दाउरा, कराही, कपडालगायत सामान उठाउन पुग्यो ।
०७९ असोज अन्तिम साता थापाथली क्षेत्रबाटै पानीपुरी र चटपटे बेच्दै आएकी लमजुङकी ३४ वर्षीय शर्मिला तामाङको ठेला जफत गर्यो । नगरप्रहरीले जबरजस्त उठाइदिएको ठेला फिर्ता माग्दै शर्मिलाले महानगरसामु अनुनय–विनय गरिन् । तर, शर्मिलाले ठेला फिर्ता पाइनन् ।
सोही साल माघ १७ गते नेपाल विद्युत् प्राधिकरणअगाडि हृदयविदारक दृश्य देखियो । ०७३ सालमा रुखबाट लडेर दुवै खुट्टा नचल्ने दोलखा सैलुङ गाउँपालिका–८ का ५२ वर्षीय डिल्लीबहादुर कार्कीलाई ह्विलचेयरसहित सामान जफत गरेर नगर प्रहरीले खुला ट्रकमाथि राख्यो ।
पानी, मास्क र चुरोट बेच्दै आएका डिल्लीबहादुर रुँदै फेरि यस्तो नगर्ने अनुनय विनय गर्दा पनि प्रहरीले मानेन । उनलाई नगरप्रहरीले टेकुस्थित प्रहरी कार्यालय पुर्यायो ।
ट्रकको पछाडि ह्विलचेयरमा बसेर उनी रुँदै गरेका तस्बिर केहीबेरमै सामाजिक सञ्जालमा भाइरल बन्यो । नगरप्रहरीले उनलाई अबदेखि त्यहाँ नबस्ने सर्त गराएर छाड्यो । तर, अर्को विकल्प नहुँदा उनी काठमाडौंमै पुरानै पेसा गरेर बसिरहेका भेटिन्छन् ।
महानगर आन्तरिक प्रशासन तथा जरिवाना इकाइका अनुसार करिब साढे दुई वर्षको अवधिमा नगरप्रहरीले फुटपाथ व्यवसायीका ५४९ ठेलागाडा र ७१४ वटा साइकल खोसिदिएको छ ।
जबरजस्ती खोसिएका ठेलागाडा र साइकल ०८० भदौ १ गते महानगरले लिलाम गरेको छ । जसमध्ये पहिलो चरणमा १४० वटा साइकल, १०२ ठेलागाडा, ६० प्लास्टिकका क्रेटसहित ५ हजार ५२४ केजी कपडाजन्य सामान छन् ।
सोही मितिमै दोस्रो चरणमा ३१९ साइकल, २४६ साइकल, १ हजार १६५ क्रेटसहित ३७ हजार ३५८ केजी कपडाजन्य सामान लिलाम गरेको छ ।
त्यस्तै ०८० भदौ १० गतेका दिन २५५ वटा साइकल, २०१ ठेलागाडा, ७० प्लास्टिकका क्रेटसहित १५ हजार १४० केजी र कपडाजन्य सामान लिलाम गरेको छ । सोबापत १५ लाख पाँच हजार ८ रुपैयाँ आम्दानी गरेको महानगरले जनाएको छ ।
तत्कालीन नेकपा एमालेबाट निर्वाचित मेयर विद्यासुन्दर शाक्यले ०७४ सालमा कार्यापालिका बैठकबाट फुटपाथ र सडकबाट जफत भएका सामान फिर्ता नदिने निर्णय गरेका थिए । सोही निर्णयलाई बालेनले कार्यान्वयन गर्दै आएका छन् ।
नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले साढे २ वर्षदेखि फुटपाथमा व्यापार गर्न नदिन कडा रूपमा नगरप्रहरीले एक्सन लिएको बताए । “फुटपाथ पैदलयात्रुका लागि हो । कुनै पनि बेला काठमाडाैं महानगरपालिकाभित्र फुटपाथ व्यापार गर्न मिल्दैन । अहिलेको समयमा बेलुका ८ बजेसम्म फुटपाथ व्यापार पूर्ण नियन्त्रणमा छ । त्यसपछि पनि नगरप्रहरी टोली खटिएर ठाउँको ठाउँ कारबाही गर्दै आएको छ,” उनले बाह्रखरीसित भने ।
फुटपाथको भौतिक संरचना बिगार्न नदिन र सडकमा फोहोरमैला फाल्नेलगायत थुप्रै विषयमा कडा कारबाही गर्दै आएको एसपी पाण्डेले बताए ।
“फुटपाथ हटाउन, फोहोरमैला गर्नेलाई कारबाही गर्न, फुटपाथको भौतिक संरचना बिग्रन नदिन २४ सै घण्टा नगरप्रहरी तैनाथ छ । पैलदयात्रु हिँड्नका लागि बनाइएको फुटपाथमा व्यापार गर्न मिल्दैमिल्दैन,” एसपी पाण्डेले भने ।
महानगरसँग करिब ४०० को संख्यामा नगरप्रहरीको टिम छ ।