
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर गरिएको छ । ललितपुरमा सोमबार साँझ चलचित्रको प्रिमियर गरिएको हो ।
चलचित्रमा कप्तान सुब्बाको जीवनको संघर्ष र सफलताको कथा देखाइएको छ ।
निर्देशक मिलन चाम्सले भने, “विदेशमा भन्दा नेपालमा प्रतिक्रिया राम्रो आएको छ । खेलाडीको जीवनीमा चलचित्र बनाउनु चुनौतीपूर्ण विषय थियो ।”
उनले चलचित्र फुटबल खेलाडी र कप्तान सुब्बाका लागि डिजिटल दस्तावेज भएको बताए ।
अभिनेता दयाहाङ राईले चलचित्र हेर्न पुगेका अभिनेता दयाहाङ राईले अञ्जिला सम्झनलायक चलचित्र बनेको बनाए ।
“खेलप्रेमीका हिसाबले मेरा लागि यो चलचित्रमा जोडिएर काम गर्न पाउनु सौभाग्य हो,” उनले भने, “खेलाडी र खेलका विषयलाई चलचित्रमार्फत प्रवर्द्धन गर्नुपर्ने बेला आएको छ, अन्य चलचित्रकर्मीले पनि यो आँट गर्नुपर्छ ।”
चलचित्र निर्माता प्रेमकुमार श्रेष्ठले खेलकुदमा लाग्नेलाई चलचित्रले प्रेरित गर्नेमा विश्वास व्यक्त गरे ।
कप्तान सुब्बालाई काठमाडौं ल्याएर विभागीय टिम सशस्त्र प्रहरी बलमा भर्ना गराउनुका साथै होस्टेल राखेर पढाएका निर्माता श्रेष्ठले सुब्बाको संघर्ष कनाथक चलचित्रको पटकथाभन्दा कम नभएको बताए ।
निर्देशक चाम्सले कप्तान सुब्बाको जीवनीको ९० प्रतिशत कथालाई चलचित्रमा समावेश गरेको बताए ।
उनले खेलकुदमा आधारित रही चलचित्र बनाउन नेपाली स्रोत र साधनले भ्याएसम्म प्रयास गरेको बताए ।
चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र फागुन २९ गतेबाट प्रदर्शनमा आउँदै छ ।