site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले धनी विदेशीलाई ५० लाख डलरको ‘गोल्ड कार्ड’ बेच्ने, बस्न र काम गर्न पाउने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ बस्न, काम गर्न र नागरिकता लिन चाहने धनी विदेशीहरूको लागि नयाँ अफरको घोषणा गरेका छन् । 

राष्ट्रपति ट्रम्पले मंगलबार अमेरिकाले धनी विदेशीहरूलाई ‘गोल्ड कार्ड’ बेच्ने बताएका छन् । यो कार्डले विदेशीहरूलाई अमेरिकामा बस्न र काम गर्ने अधिकार प्रदान गर्नेछ ।

‘गोल्ड कार्ड’ ५० लाख अमेरिकी डलर तिरे प्राप्त गर्न सकिने र यो कार्ड लिएसँगै अमेरिकी नागरिक बन्ने प्रक्रिया अघि बढ्ने पनि उनले जनाएका छन् ।

Argakhachi Cement Island Ad

“हामी एउटा गोल्ड कार्ड बेच्न गइरहेका छौँ,” अमेरिकी राष्ट्रपति ट्रम्पले ओभल अफिसबाट भने, “तपाईंसँग ग्रीन कार्ड छ । यो एउटा गोल्ड कार्ड हो । हामी त्यो कार्डको मूल्य लगभग ५० लाख डलर राख्दैछौँ र त्यसले तपाईंलाई ग्रीन कार्डको विशेषाधिकार दिनेछ । साथै, यो नागरिकता प्राप्त गर्ने बाटो पनि हुनेछ । यो कार्ड किनेर धनी मानिसहरू हाम्रो देशमा आउनेछन् ।”

ट्रम्पले गोल्ड कार्डको बिक्री लगभग दुई हप्तामा सुरु हुने बताए । उनले लाखौँ यस्ता कार्डहरू बेच्न सकिने समेत जनाए । 

‘रूसी कुलीन वर्गलाई कार्ड बेच्ने विचार गर्नु भएको हो’ भनि सोधिएको प्रश्नको जवाफ दिँदै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “हो, सम्भवतः म केही रूसी कुलीन वर्गलाई चिन्छु जो धेरै राम्रा मानिसहरू हुन् ।” 

ट्रम्पसँगै उभिएका वाणिज्यमन्त्री हावर्ड लुटनिकले गोल्ड कार्डले सरकारको ईबी–५ आप्रवासी लगानीकर्ता भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्ने बताए । गोल्ड कार्डले विदेशी लगानीकर्ताहरूलाई अमेरिकी परियोजनाहरूमा लगानी गरी रोजगारी सृजना गर्न र अमेरिकामा आप्रवासन गर्न अनुमति दिने उनले जनाए ।

“अवश्य पनि उनीहरू विश्वस्तरीय नागरिक हुन् भनी सुनिश्चित गर्न एउटा जाँच पास गर्नुपर्नेछ,” उनले भने । 

अमेरिकाको नागरिकता तथा आप्रवासन सेवा वेबसाइटका अनुसार सन् १९९२ मा कंग्रेसद्वारा पास गरिएको ईबी–५ कार्यक्रमले कम्तीमा १० लाख ५० हजार डलर लगानी गर्ने वा लक्षित रोजगार क्षेत्र भनिने आर्थिक रूपमा संकटग्रस्त क्षेत्रहरूमा आठ लाख डलरको न्यूनतम लगानी गर्ने आप्रवासीहरूलाई ग्रीन कार्ड प्रदान गर्न सक्छ । सीएनएन 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्