-1739594455.jpg)
सम्बन्धहरू शब्दहरूको पुलमा टेकेर उभिन्छन् । जब दुई व्यक्ति एकार्कासँग संवाद गर्छन्, तब भावनाहरू बहन्छन्, असमझदारीहरू चिर्ने प्रयास गरिन्छ । सम्बन्धको जग बलियो बन्छ । तर, कहिलेकाहीँ शब्दहरू ओइलाउँछन् । मौनताको भित्ताभित्र सत्यहरू थुनिन्छन् । तत्पश्चात् जित्ने खेलाडीहरू पनि हारेको महसुस गर्छन् ।
‘तिमी नबोलेर जित्यौ, म नबोलाएर जितेँ । अनि, हारचाहिँ हाम्रो सम्बन्धको भयो ।’
यस वाक्यांशमा सम्बन्धको एउटा गहिरो द्वन्द्व प्रकट हुन्छ । त्यहाँ दुई व्यक्ति जित्छन्, तर सम्बन्ध हार्छ । तर, के साँच्चै जित्नुलाई जित भन्न मिल्छ ? अन्ततः हामीले सम्बन्धलाई नै गुमाइरहेका हुन्छौँ ।
शब्दको शक्ति अपरम्पार छ । मौनताको पनि आफ्नै भाषा हुन्छ । कहिलेकाहीँ मौनता आत्मसंयमको अभिव्यक्ति हुन्छ । कहिलेकाहीँ स्वाभिमानको, कहिलेकाहीँ क्रोधको । मौनता एकप्रकारको प्रतिरोध पनि हो । यसले आत्मसम्मान जोगाउन भूमिका खेल्छ । तर, जब दुई व्यक्तिले एकार्कासँग संवाद नगरी मौनतालाई नै हतियार बनाउँछन्, तब सम्बन्धको आत्मा नै क्षीण हुन थाल्छ ।
संसारमा धेरै सम्बन्धहरू संवादको कमीले टुट्छन् । अहंकारको कारण मौनताको भित्ताभित्र हराउँछन् । जब हामी बोल्दैनौँ, हाम्रो भावनाले बोझिलो भार उठाउँछ । अन्ततः सम्बन्ध कमजोर बन्छ ।
मौनता शब्द होइन, एउटा अनुभूति हो । यो केवल चुप बस्नु मात्र होइन । बरु, असंख्य भावनाहरूको सामूहिक स्पन्दन हो – जुन उच्चारणभन्दा गहिरो, अभिव्यक्तिभन्दा तीव्र र शब्दभन्दा व्यापक हुन्छ ।
मौनताको आफ्नै भाषा छ, जुन कसैले देख्दैन । तर, अनुभूत गर्न सक्छ । कहिलेकाहीँ मौनता क्रोध हो, कहिलेकाहीँ सहमति । कहिलेकाहीँ असहमति त कहिलेकाहीँ गहिरो चेतनाको संकेत । मानिसहरू मौन रहन्छन्, जब तिनीहरू अव्यक्त रहन चाहन्छन् । तिनीहरू आफूलाई बुझ्ने कुनै मन खोज्छन् । उनीहरू शब्दहरूले व्याख्या गर्न नसक्ने अनुभवको गर्भमा हराउँछन् ।
विज्ञानले मौनतालाई केवल बाहिरी शारीरिक अवस्थाको रूपमा परिभाषित गर्छ । मनोविज्ञानले यसलाई गहिराइमा पुगेर व्याख्या गर्छ । मौनता कहिलेकाहीँ सञ्चारको सबभन्दा प्रभावकारी रूप पनि हुन्छ ।
दुई प्रेमीको मौन नजरले कहिलेकाहीँ हजार शब्दभन्दा बढी अर्थ दिन सक्छ । आमाले सन्तानलाई हेर्ने मौन दृष्टिले उसको सम्पूर्ण पीडा भुलाउन सक्छ । कविको मौनता शब्दहरूमा पोखिन तयार रहेको भावनाको समुद्र हो । यसले ऊभित्रै हलचल मच्चाइरहेको हुन्छ ।
मौनता शक्ति र सौन्दर्य हो । इतिहास हेर्ने हो भने, बुद्धले मौन ध्यानमार्फत शाश्वत सत्य प्राप्त गरे । गान्धीको मौन सत्याग्रहले विशाल साम्राज्यलाई झुकायो । मौनता आत्मसंयमको पनि प्रतीक हो । जसलाई साँचो अर्थमा मौन बस्न आउँछ, ऊ आफैँलाई बुझ्न थाल्छ । किनकि, वास्तविक मौनता बाहिरी संसारबाट हटेर आत्मासँग साक्षात्कार गर्नु हो ।
मौनता कहिलेकाहीँ बोझ पनि हुन्छ । जब अन्यायको विरुद्ध उठ्नुपर्ने आवाज मौन रहन्छ, त्यो कायरता बन्दछ । जब मनका प्रश्नहरू उत्तरको खोजीमा मौन रहन्छन्, त्यो असहायताको संकेत बन्छ । जब दुःखले गाँजेर मन रुँदा पनि आवाज निस्किन सक्दैन, मौनता वेदनाको अर्को नाम बन्छ ।
साहित्यका हरेक विधामा मौनताको आफ्नै स्थान छ । उपन्यासमा मौन पात्रहरूले कथा बोकेका हुन्छन् । कविता मौनतालाई शब्दमा ढाल्ने कलाको पराकाष्ठा हो । नाटकको संवादविहीन क्षणले दर्शकको हृदय छियाछिया पार्न सक्छ । मौनताको गहिराइलाई जसले बुझ्न सक्छ, ऊ साहित्यिक सिर्जनाको मौलिक स्रोतको मुहाननजिक पुग्न सक्छ ।
अन्ततः मौनता केवल शून्यता होइन, बरु सम्भावनाको एउटा गहिरो धरातल हो । कहिलेकाहीँ मौन बस्दा आत्मा स्पष्ट देखिन्छ । विचारहरू पवित्र बन्छन् । हृदयले जीवनको साँचो अर्थ भेट्न सक्छ । मौनता शब्दभन्दा विशाल छ । समयभन्दा पर छ । अनुभूतिभन्दा गहिरो ।
मौनताको गहिराइ बुझ्न कहिलेकाहीँ मौन हुन जरुरी छ । चुपचाप एकान्तमा बस्नु मात्र होइन, भीडकै घुइँचोमा पनि मन एक्लै संवाद गरिरहेको हुन्छ । त्यहाँ निःशब्द सौन्दर्यको प्रारम्भ हुन्छ ।
नबोल्नु कहिलेकाहीँ सहज लाग्न सक्छ । केही कुरा अनावश्यक लाग्न सक्छन् । केही चोट सहन सकिने लाग्न सक्छन् । तर, जब कुरा नगर्नु हाम्रो स्वाभिमानसँग गाँसिन्छ, तब त्यो मौनता एउटा अदृश्य हतियार बन्छ । दुवै पक्ष जित्न खोज्छन्, तर त्यो जित क्षणिक मात्रै हुन्छ । किनकि, जुन सम्बन्धले हार्छ । त्यसको मूल्य प्रायः ढिलो मात्र थाहा हुन्छ ।
संसार ध्वनिहरूले भरिएको छ – हावाको सुसाइ, पातको खसाइ, नदीको कलकल, मान्छेको बोलावट, संगीतको गुञ्जन, सवारीसाधनको घारघुर आदि । यति धेरै ध्वनिमध्येको एउटा मौनता पनि छ, निःशब्द । यो मौनता कहिलेकाहीँ आवाजभन्दा गहिरो हुन्छ । शब्दभन्दा प्रभावशाली लाग्छ ।
निःशब्दको सौन्दर्यलाई बुझ्न हम्मे हुन्छ, किनभने यो प्रत्यक्ष सुन्न सकिँदैन । छाम्न सकिँदैन । यसलाई अनुभूति गर्न सकिन्छ । आँसु खस्दा ओठले केही नबोले पनि हृदयको करुणा झल्कन्छ । प्रियजन टाढिँदा शब्दहरू गुम्सिएर आउँछ । मौनताको भारी बोकेरै हृदय धपक्क पोल्छ ।
निःशब्द सधैँ दुःखद मात्रै हुँदैन, कहिलेकाहीँ यो प्रेमको पराकाष्ठा पनि हो । दुई प्रेमीबीच गहिरो समझदारी भएपछि एकार्कालाई हेरिरहनु मात्र पर्याप्त हुन्छ, कुनै शब्दको आवश्यकता हुँदैन । एउटी आमाले आफ्नो शिशुलाई छातीमा टाँसेर जिस्काउँदा सायद त्यो निःशब्द स्नेह संसारको सबैभन्दा गहिरो संवाद हुन्छ ।
संगीतकारले मौनतालाई संगीतमा प्रयोग गर्छन् । कविले निःशब्दलाई कवितामा उतार्छन् । चित्रकारले मौनतालाई रङहरूमा उनेर कैद गर्छन् । लेखकले केही अंश नलेखेर पनि पाठकलाई गहिरो अनुभूति दिन सक्छन् । साहित्यमा निःशब्द भनेको पाठकको चेतनामा उत्पन्न हुने भावनाको निर्विवाद शुद्ध स्वरूप हो ।
तथापि, संसार मौनतालाई बुझ्न चाहँदैन । मानिसहरू सधैँ केही न केही बोल्न चाहन्छन् । आवाजले नै अस्तित्व प्रमाणित हुन्छ भन्ने भ्रममा पर्छन् । तर, कहिलेकाहीँ शब्दहरू फिक्का हुन्छन् । भावहरू अव्यक्त नै उत्तम देखिन्छन् । जब आँखाले आँखा बोल्छ, जब मनले मन बुझ्छ, तब निःशब्दको सुन्दरता स्वयं काव्यमय आवरणमा अवतरित हुन्छ ।
निःशब्दको सौन्दर्य अनुभूत गर्न सक्नुपर्छ, किनभने कुनैकुनै कथा शब्दविहीन हुन्छ । कुनैकुनै पीडा वाक्यविहीन हुन्छ । कुनैकुनै सौन्दर्य आवाजविहीन हुन्छ । मौनताको गहिराइ नबुझ्नेहरू शब्दहरूको भीडमा हराइरहन्छन् । परन्तु, जसले मौनताको सौन्दर्यलाई महसुस गर्छ, ऊ शब्दभन्दा परको सत्यलाई बुझ्न थाल्छ ।
साँचो जित भनेको संवादको जित हो । शब्दहरूले सम्बन्धलाई सहज बनाउँछ, असमझदारीहरू खुलेर सुल्झाइन्छ । मौनतालाई अहंकार होइन, धैर्य र समझदारीका रूपमा प्रयोग गरिन्छ, तब मात्र सम्बन्ध बलियो रहन्छ ।
हामी नबोलेर जित्न सक्छौँ । तर, त्यो जित केवल व्यक्तिगत अहंकारको जित मात्र हुनेछ । साँचो जित भनेको हात समातेर अगाडि बढ्न सक्नु हो । भावनाहरूलाई शब्दमा उन्न सक्नु हो । मौनतालाई सम्बन्ध टुटाउने औजार होइन, सम्बन्ध बलियो बनाउने सहायक तत्त्व बनाउनुपर्छ ।
यदि, जित्नु नै छ भने सम्बन्धलाई जिताऔँ । संवाद गरौँ । शब्दहरूलाई सरल किसिमले कसैलाई चोट नपुग्ने गरी, बरु सबैको मन छुने गरी लेखनमा लगाऔँ । अहंकारलाई भत्काऔँ । अन्ततः सम्बन्धको जित नै हाम्रो साँचो जित हो ।