site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
दुर्गेशले छाडेको गीतमा पलको मोडलिङ, के हो र ‘हट र पट’ ?

काठमाडौं । यो वर्ष मेला महोत्सवमा एउटा गीत खुब चलेको छ । एकजना कलाकारले मात्र होइन, धेरै गायक–गायिकाले यो गीत गाइरहेका छन् । त्यो गीत हो– ‘दुस्मन हेरेको हेरै...।’ 

गीत दुर्गेश थापाको हो । स्टेजमा यो गीत दुर्गेश त गाउँछन् नै, अरू धेरैले पनि गाइरहेका छन् । 

यही गीतले दुर्गेशलाई अहिले स्टेजमा भ्याइनभ्याइ छ । महिनाको ३० दिन नै उनी मेला महोत्सवमा हिँडिरहेका छन् । हरेक दिन दुर्गेश पुग्ने ठाउँ फरक हुन्छ, भूगोल अनुसारका मान्छे, फरक हुन्छन् । आयोजक फरक हुन्छ । तर, गीतको डिमान्ड एउटै हुन्छ– दुस्मन हेरेको हेरै...।

Dabur Nepal

मनसुन सकिएर मेला महोत्सवको सिजन सुरु हुने तयारीमा थियो । दुर्गेशलाई मेला महोत्सवमा गाउने गीत चाहिएको थियो । मेला महोत्सवमा चल्ने गीत अरूभन्दा अलि फरक चाहिन्छ, यसको नाडी दुर्गेशले छामिसकेका थिए । अरूमा भर परे स्टेजमा चल्ने भरपर्दो गीत नआउन पनि सक्थ्यो । त्यसैले आफैँले उनले गीत तयार पारे– दुस्मन हेरेको हेरै...।

कसैले के अर्थ लगाए, कसैले के । गीतको चर्चा भयो, स्टेजमा माग बढ्यो । त्यसैले अहिले दुर्गेश व्यस्त छन् । 

‘महिनामा अहिले औसतमा कति दिन कार्यक्रम गर्नुहुन्छ ?’

‘३० दिनमा ३० दिन नै कार्यक्रम छन् । कुनै दिन पनि फुर्सद छैन ।’ 

स्टेज भत्काइदिन्छु...?

कहिले विवाद कहिले चर्चा, दुर्गेश सधैँ यसको केन्द्रमा रहन्छन् । सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहन्छन् । कास्कीको लेखनाथ महोत्सवमा त्यस्तै भयो । दुर्गेशकले ‘स्टेज नै भत्काइदिन्छु’ भने, त्यही नै सामाजिक सञ्जालमा ‘भाइरल’ भयो । 

भएको के थियो ?

“हिसाब नै गर्ने हो भने मेरो सबैभन्दा धेरै फ्यान बच्चाबच्ची हुनुहुन्छ । उहाँहरू महोत्सवस्थलमा आउनुभएको थियो । तर, प्रहरीले स्टेजमा आउन दिएन,” दुर्गेश भन्छन्, “त्यसैले आउनुस्, स्टेजमा सँगै नाच्नुपर्छ । नाचेर स्टेज भत्काइदिनुपर्छ । नाच्दा स्टेज भत्किएछ भने म बनाइदिन्छु भनेको हुँ ।” तर, टिकटकमा भ्युज बटुल्न धेरैले अरू काटेर स्टेज भत्काइदिन्छु भन्नेमात्रै राखेको दुर्गेशको गुनासो छ ।

बच्चाहरूलाई आफूले छुट्टै तरिकाले ‘इन्फरमेसन’ दिने गरेको उनी बताउँछन् । आफ्नो गीतका शब्द बच्चाले सम्झिन सक्ने सहज किसिमका हुने गरेको उनको तर्क छ । 

“के हो तिम्रो नाम, परिचय पाम भन्नेजस्ता शब्द एकपटक सुनेपछि बच्चाको दिमागमा रहिरहन्छ । स्कुलमा पनि त नयाँ विद्यार्थी र शिक्षक आउँदा परिचय गरौँ भन्ने हुन्छ,” दुर्गेश भन्छन्, “यस्ता सामान्य सम्झिन सक्ने शब्द भएकाले बच्चा फ्यान हुनुभएको हो ।” 

वृद्धवृद्धा र महिलालाई तिजको गीत गाएर मनोरञ्जन दिँदा उनीहरू आफ्नो प्रस्तुति हेर्न आउने गरेको दुर्गेशको बुझाइ छ । 

“माइला दाइ, माइली भाउजू, काकाकाकीलाई आकर्षण गर्ने छुट्टै कन्सेप्ट बनाएको छु,” दुर्गेश भन्छन्, “योङ जेनेरेसनलाई नचाउने शिवरात्रिको गीत छ । क्षेत्रीको छोरो हिरो भन्ने गीत छ । यसरी सबैलाई समेट्न प्याकेज नै छ मसँग ।” 

‘दुस्मन’ चर्चित भयो । एउटै स्टेजमा ‘दुस्मन’ चारपटक गाउने गरेको दुर्गेश स्मरण गर्छन् । 

“कार्यक्रम यही गीतबाट सुरु गर्छु । त्यसपछि अरू गीत गाउँछु । त्यसपछि फेरि अरू गीत गाउँछु । अनि दर्शकले 'दुस्मन वान्स मोर' भन्नुहुन्छ, गाउँछु । बाँकी अरू गीत गाउँछु । फेरि स्टेजबाट ओर्लिने बेलामा दुस्मन वान्स मोर भन्नुहुन्छ । यसरी हरेक स्टेजमा यो गीत चारपटक गाउँछु,” उनले सुनाए, “मैले मात्रै होइन, अरूले पनि यो गीत गाइरहनुभएको छ । एलिना र समीक्षाले दाइ हरेक स्टेजमा दुस्मन दुई/तीनपटक गाउनुपर्छ भन्ने भनिरहनुभएको छ ।” 

बच्चाहरूमा पनि आफ्नो गीत लोकप्रिय भएको उनले सुनाए । विद्यालयका कार्यक्रममा आफ्नो गीतमा विद्यार्थी नाचेका भिडियोहरू सामाजिक सञ्जालमा आइरहेको देख्न सकिने उनी बताउँछन् । ओखलढुंगाकी एक विद्यार्थीले विद्यालयको कार्यक्रममा नाचेको भिडियो दुर्गेशलाई मनपर्‍यो । उनले १० हजार रुपैयाँ बराबरको कपी, कलम र विद्यालयको पोसाक किनेर पठाइदिए ।

“अर्को यस्तै बच्चा नाचेको मलाई मन परेको छ । उहाँ को हो भनेर पत्ता लगाउँदै छु,” उनी अगाडि थप्छन्, “उहाँलाई पनि यस्तै सहयोग गर्ने तयारीमा छु ।” 

को हो दुस्मन ?

‘दुस्मन... गीत बनाउँदा कसैप्रति लक्षित थियो ?’

“मिडियाको आफ्नै दुस्मन होला । हरेक संस्थाको प्रतिस्पर्धी र दुस्मन हुन्छ नै । व्यक्तिको पनि दुस्मन हुन्छ । त्यो सन्दर्भमा यो शब्द प्रयोग भएको हो,” जवाफमा दुर्गेश प्रस्ट पार्छन्, “संयोग त्यस्तै परेकाले मैले कसैप्रति लक्षित गरेको हो कि भन्नेछ । नाम तोकिएको छैन । इन्डस्ट्री भनेको छु । यो च्यालेन्ज र ट्यालेन्टको कुरा हो आफूले गरेको प्रगतिमा दुस्मन हेरेको हेरै भइरहेको छ भन्ने मात्र हो ।”

‘पल शाहप्रति लक्षित होइन र ?’

“होइन । कोही व्यक्तिप्रति लक्षित होइन, प्रगति हेरेर प्रतिस्पर्धी बसिरहेको छ भन्ने कन्सेप्ट मात्र हो,” उनले प्रस्ट पार्ने प्रयास गरे ।  

व्यस्त भएकैले उनले प्रमोद खरेलको ‘लै लै लै’ र वसन्त थापाको ‘मयाली’मा काम गर्न पाएनन् । 

दुर्गेश विवाद र चर्चामा आइरहने व्यक्ति हुन्, अक्सर गीतमा शब्दको कहरमा उनी परिरहन्छन् । सञ्चारमाध्यमले प्रश्न उठाइरहन्छन् । समाजिक सञ्जालमा गीतमा यस्ता शब्द प्रयोग सही कि गलत भन्ने पक्ष/विपक्षमा चर्चा भइरहन्छ । 

दुर्गेशलाई यस्तै एउटा प्रश्न– ‘हट त धेरैले बुझे होला पट भनेको चाहिँ के हो ?’

यसमा धेरैले आआफ्नै अर्थ लगाएको र सञ्चारमाध्यमले पनि त्यसैगरी लेखेको उनी बताउँछन् । “मेरो यो सन्दर्भमा आजकाल सहरबजारमा धेरै युवती जिम जानुहुन्छ । शरीरलाई मेन्टेन गर्नुहुन्छ । त्यो देखेर केटाहरूले कस्तो हट देखिएको, पट देखिएको भनेको मैले सुनेको छु,” उनी प्रस्ट पार्ने प्रयास गर्छन्, “सबै कुरालाई नकारात्मक सोच्नुपर्छ पर्छ भन्ने छैन । मैले नकारात्मकरूपमा प्रयोग गर्ने भए सेक्सी अथवा म्याक्सी लगाएर भन्ने शब्द प्रयोग गर्थें होला । पहिला त्यस्ता शब्द प्रयोग गरियो होला । तर, अब संगीतलाई दुर्गन्धित बनाऊँ भन्ने पक्षमा छैन ।”

‘पट’ भन्ने शब्द आफ्नो गीतमा जिम गएर फिगर बनाउने युवतीका सन्दर्भमा प्रयोग गरेको उनको भनाइ छ । “यो त युवा पुस्ताले प्रयोग गर्ने स्ल्याङ होइन र ?,” दुर्गेशले प्रतिप्रश्न गरे । 

बेलामौकामा दुर्गेश गीतमा आफ्ना कुरा पनि गर्छन् । यस गीतमा पनि उनले आफ्नो प्रशंसाका शब्द सुटुक्क छिराए–
आज भोलि दुर्गेशको गीत फिलिमतिर बिक्छ
हेर्दै जा भाइ इन्डस्ट्रीमा को चाहिँ बढी टिक्छ । 

“छ माया छपक्कै होस् वा ह्रस्व दीर्घको मेरो गीत, बिकेकै हो । दर्शक तथा स्रोताले मन पराएकै हो । आफ्ना कुरा गर्न पनि त पाइयो नि,” दुर्गेश भन्छन्, “अहिले पनि सिनेमा गीत चाहियो भनेर मेकरहरूले भनिरहनुभएको छ । स्क्रिप्ट पठाइरहनुभएको छ । गीतको थिमका लागि पोस्टर पठाइरहनुभएको छ । म आफैँले नभ्याएर मात्र हो । समय मिलेसम्म चलचित्रमा पनि गीत गर्ने हो ।” 

धरातल बिर्सिन्नँ

‘चलचित्रको गीत गाउन पाउनु लोकगायनको क्षेत्रमा काम गर्नेहरूका लागि प्रगतिको फड्को हो, उचाइँमा पुगेका मापक हो ?’

चलचित्रका लागि गीत गाए पनि र चले पनि आफूले आफ्नो धरातल भने नबिर्सिने दुर्गेश बताउँछन् । “म अरूको कुरा त गर्न सक्दिनँ । तर, मैले मेरो धरातल बिर्सिन हुँदैन । मेरो गोरेटो भनेकै लोकगीत संगीत हो,” दुर्गेश भन्छन्, “लोकदोहोरीकै अग्रज दाजुहरूको हात समाएर यहाँसम्म आएको हुँ । दोहोरीलाई तल्याउँन मिल्दैन । चलचित्रका गीत गाएर त्यहाँ मलाई रुचाइए पनि म बाचुन्जेल मेरो प्राथमिकता दोहोरी नै रहनेछ ।” 

कला, संस्कृति र संस्कार जोडिएको लोकदोहोरीबाट आफू कहिल्यै टाढिन नसक्ने दुर्गेश सुनाउँछन् । चलचित्रका गीतमा पनि लोक र दोहोरी आउन थालेको र त्यस्ता गीतमा आफूलाई काम गर्न समस्या नरहेको उनको भनाइ छ । 

“म आफ्नो धरातल बिर्सिन्नँ । माटोमा संघर्ष गरेर आएको मान्छे हुँ, माटोको गीत मलाई सधैँ प्यारो हुनेछ,” दुर्गेश प्रस्ट पार्छन्, “भुइँबाट संघर्ष गरेर आएको हो । मैले टेकेको भुइँ मैले बिर्सिन मिल्दैन ।”

कस्तो ट्रयाक हो ?

स्टेजमा ट्रयाकमा गीत गाइरहँदा दुर्गेश स्टेजतिर माइक फर्काउँछन्, तर उनको स्वरमा गीत बजिरहन्छ । उनी गाउन छोडेर गीत नाच्न थाल्छन् । तर, उनकै स्वरमा बजिरहन्छ । 

कसरी ?

यसलाई दुर्गेश आफ्नो ‘डिजाइन’ भन्छन् । गीत गाउन स्टेजमा जाँदा कति गाउने, कहाँनेर नाच्ने, कहाँ गाउन छोडेर दर्शकतिर माइक फर्काउने त्यहीअनुसारको ट्रयाक आफूले बनाउने गरेको दुर्गेश निर्धक्क सुनाउँछन् । 

“म गायकभन्दा पनि पर्फमर हो नि । म गाउने, सँगै नाच्ने हो । म मोडल पनि हो नि ! त्यसैले मैले गाउनैपर्छ भन्ने छैन,” उनी भन्छन्, “मैले त दर्शकलाई इन्टरटेन गराउने हो । म गायक भएको भए त नारायण गोपाल भइहाल्थेँ नि !” 

कतै ट्रयाक र कतै भोकल बराबर हुने गरेको भन्न दुर्गेश हिचकिचाहट मान्दैनन् । कतै अभिनय गर्ने र कतै डान्स गर्ने भएकाले डिजाइन नै त्यहीअनुसार गरिएको उनी बताउँछन् । 

“कतै र्‍याप हुन्छ, त्यो छिटो हुन्छ । एक/डेढ घण्टा निरन्तर उफ्रिँदा मलाई पनि गाह्रो हुन्छ, म पनि मान्छे हुँ,” दुर्गेश अगाडि थप्छन्, “हट भएर, पट भएर टिकटकमा भाइरल भएको शब्द हो । यो त मैले गाइरहनुपर्दैन, दर्शकतिर माइक फर्काउँदा उहाँहरूले नै गाउनुहुन्छ । यो मेरो भोकललाई रेस्टको समय पनि त हो ।” 

दुर्गेश आफ्नो छुट्टै ‘प्यार्टन’ रहेको दाबी गर्छन् । आफ्ना गीत छुट्टै खालका हुने गरेको उनको भनाइ छ । “मेरो आफ्नै वर्ल्ड छ । मेरो वर्ल्डमा म ठिक छु भन्ने लाग्छ । अडियन्सले राम्रै मानिरहनुभएको छ,” उनी भन्छन्, “मेरो कार्यक्रममा आउनेहरू दोहोरिएर आइरहनुभएको छ ।” 

‘हिरो लाग्छु’

चलचित्रमा दुर्गेशका गीत चल्न थाले । उनीबाट गीत लिन सिनेमाका निर्देशक र निर्माता ‘पाइपलाइन’मा बस्छन् । दुर्गेश स्वयं आफूलाई गायक कम पफर्मर बढी मान्छन् । 

‘चलचित्रमा हिरो बन्ने रहर हो ?’

“छैन, मलाई हिरो छैन । हिरो भएर पनि नाम नै कमाउने हो । यता (गायन र पर्फम)बाट पनि नाम नै कमाउने हो । हिरो हुँदैन धेरै नाम कमाउने, गीतसंगीतमा कम नाम हुने भन्ने होइन,” दुर्गेश भन्छन्, “दर्शक स्रोताको मन जित्ने हो । उहाँहरूको माया पाउने हो । जहाँ भए पनि कामले मन जित्ने हो । त्यो काम गीतसंगीतमै रहेर गरिरहको छु । यता, पनि हिरो नै हो । आफूले आफैँलाई हिरो जस्तै लाग्छ मलाई ।”  

‘अफर’ छोड्दै

दुर्गेश आफैँ भने व्यस्त छन् । दिनकै कार्यक्रम गर्छन्, नयाँ गीतका लागि समय छैन । ‘अफर’हरू आइरहन्छन्, समय अभावले सुटिङमा समय दिन सकेका छैनन् ।

त्यसैले पछिल्लो समय उनले काम गर्नेभन्दा पनि नगरेका गीतको संख्या धेरै छ । गीत राम्रो लागे काम गर्छन्, अन्यथा गर्दैनन् । 

प्रमोद खरेलले गाएको गीतको भिडियोका लागि उनलाई प्रस्ताव पुगेको थियो । तर, उनले यो गीतको भिडियोमा काम गरेनन् । 

स्टेज कार्यक्रममा व्यस्त भएपछि भिडियोमा काम गर्न उनले अस्वीकार गरिदिएका थिए । त्यसपछि यो गीतमा पलको ‘इन्ट्री’ भयो । दुर्गेशले छोडेको यो गीतमा पलले मोडलिङ गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro