site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विक्रममाथि 'आक्रमण गर्ने' थप एक पक्राउ, जेलमा चिनेका साथीले खुलाएका थिए संलग्नता !

काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको आरूघाट गाउँपालिका–८ का २९ वर्षीय सिजन अधिकारी छन् ।

उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा शंकास्पद तवरले हिँडिरहेको अवस्थामा उनलाई फेला पारिएको आचार्यले बताए । तर, प्रहरी स्रोत उनलाई भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको बताउँछ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका अधिकारी विगतमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको देखिएको छ । ०७२ असोजमा उनी सुन लुटापाटमा संलग्न रहेको पाइएको छ । यस्तै, ०७३ माघमा उनले ३० लाख रुपैयाँ लुटेका थिए ।

०७४ जेठमा फेरि उनले सुनकै प्रलोभन देखाएर २५ लाख रुपैयाँ लुटेका थिए । तर, त्यस घटनापछि ‍उनी पक्राउ परे । काठमाडौं जिल्ला अदालतले उनलाई ६ वर्षको जेल सजाय सुनाएको थियो । त्यतिबेला उनी ५२ महिना जेल बसेर छुटेका थिए ।

प्रहरी स्रोतका अनुसार, सिजनले जेलमा चिनेका अजय तामाङले व्यवसायी लामामाथिको आक्रमणमा उनको संलग्नता रहेको खुलाएका हुन् । त्यसपछि पछ्याएको प्रहरीले उनलाई दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याउन सफल भएको प्रहरी स्रोत बताउँछ ।

नुवाकोटका व्यवसायी लामामाथि गत कात्तिक ११ गते उनको अफिस नजिकै लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा अन्धाधुन्ध रड प्रहार गरिएको थियो । लामामाथि गाडी पार्किङ गरेर झरेलगत्तै अजय लामासहित चार जनाको समूहले आक्रमण गरेको थियो ।

आक्रमण गर्ने समूह र विक्रमबीच कुनै दुस्मनी नभएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरूलेसुपारी लिएर विक्रममाथि आक्रमण गरेको निष्कर्ष प्रहरीले निकालेको छ । अजय लामा समूहको आक्रमणमा परेको विक्रमको टाउकोमा गम्भीर चोट लागेको थियो । करिब एक महिना चक्रपथस्थित ग्रिन सिटी अस्पतालमा भर्ना भएका विक्रम हाल डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro