site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चीनमा कोरोनाजस्तै एचएमपीभी : कति घातक, के हो तथ्य ? 

काठमाडौं । छिमेकी मुलुक चीनमा कोरोनाजस्तै लक्षणको नयाँ संक्रमण फैलिएका विषयमा त्यहाँको सरकारले हालसम्म आधिकारिक विवरण सार्वजनिक गरेको छैन । गएको डिसेम्बर अन्तिमदेखि चीनमा कोरोनाजस्तै श्वासप्रश्वासजन्य संक्रमण ह्युमन मेटान्युमोनोभाइरस (एचएमपीभी) फैलिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चामाध्यमले समाचार सम्प्रेषण गरिरहेका छन् ।

उत्तरी चीनका केही सहरमा इन्फ्लुएन्जा (फ्लु)जन्य संक्रमणका बिरामी बढिरहेका त्यहाँको सेन्टर फर डिजिज् कन्ट्रोल (सीडीसी)ले जनाएको छ । सीडीसीले डिसेम्बर अन्तिम साता सार्वजनिक गरेको तथ्यांकानुसार, अस्पताल पुगेका मध्ये ३०.२ प्रतिशतमा चिसोजन्य इन्फ्लुएन्जा र ६.२ मा एनएचपीभीसँग मिल्दाजुल्दा लक्षण देखिएका छन् । उनीहरू एचएमपीभी संक्रमित नै हुन् भनेर सीडीसीले पुष्टि गरेको छैन ।

चीन सरकारले यसबारे आधिकारिक तथ्यांक हालसम्म सार्वजनिक गरेको छैन । सामाजिक सञ्जालमा भने एचएमपीभीका कारण अस्पताल भरिभराउ भएको भन्दै भिडियो सामग्र्री सार्वजनिक गरिएको छ ।

Dabur Nepal
NIC Asia

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पनि नयाँ भाइरसको जोखिम रहेको भन्दै तीन दिनअघि सतर्कताका निम्ति ‘अलर्ट’ गराएको छ । मन्त्रालयले नेसनल सेन्टर फर डिजिज् कन्ट्रोललाई संक्रमण भित्रिन सक्ने भन्दै निगरानी गर्न आदेश दिएको थियो  ।

वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी हाल चीनमा फैलिरहेको संक्रमण एचएमपीभीकै कारण भन्ने पुष्टि नभएको बताउँछन् । जाडोयाममा श्वासप्रश्वासम्बन्धी धेरैखाले संक्रमण फैलिन सक्छ । त्यसैले एकैपटक धेरै बिरामी अस्पताल भर्ना भएकै आधारमा एचएमपीभी भएको भन्न नमिल्ने उनको तर्क छ । एचएमपीभी भइहाले पनि कोरोनाको जस्तो महामारी ननिम्त्याउने उनको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म चीनमा एचएमपीभी पुष्टिको कुनै जानकारी प्राप्त नभएको जनाएको छ । “चीनमा नयाँ भाइरस फैलिएको बारे हामीकहाँ अहिलेसम्म आधिकारिक रिपोर्टिङ भएको छैन । हामीले यसको चेकजाँच वा निगरानीलाई लिएर अहिलेसम्म कुनै गाइडलाइन बनाएका छैनौँ,” महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले बाह्रखरीसित भने ।

संक्रमणजन्य रोगसहित नेपाल भित्रने यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न विधिबाट निगरानीमा भने राखिएको उनले जानकारी दिए ।

विश्वका निम्ति एचएमपीभी नयाँ भाइरस होइन । सन् २००१ मा पहिलोपटक पुष्टि भएको यो आरएनए भाइरस हो । श्वासप्रश्वास, संक्रमितले प्रयोग गरेका सामान छुँदाको अवस्था, खोक्दा, हाछ्युँ गर्दा खकार वा सिँगानको माध्यमबाट यो संक्रमण सर्छ ।

भारतीय विशेषज्ञले यसलाई म्युटेन्ट (रूप फेर्ने) प्रजातिको भाइरस भनेका छन् । म्युटेन्ट हुने क्रममा यो झनै घातक हुन सक्ने उनीहरूको जिकिर छ ।

यो संक्रमणको ३ देखि ६ दिनमा लक्षण देखिन्छ । अधिकांश मानिसमा मध्यम लक्षण मात्र देखिने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ । यो श्वासप्रश्वाससँग सम्बन्धित संक्रमण हो । कडा लक्षण भएमा निमोनिया हुन सक्ने डब्ल्यूएचओले उल्लेख गरेको छ ।

डब्ल्यूएचओले हालसम्म यसलाई विश्वव्यापी आपत्कालीन अवस्था घोषणा गरेको छैन । तर, ‘केस’ बढ्दै गएकाले कडा नियमनका निम्ति सम्बन्धित निकायलाई सतर्क गराइरहेको छ ।

चीनमा हाल १४ वर्षमुनिका बालबालिका, वृद्धवृद्धा र रोगप्रतिरोधी क्षमता कम भएकाहरूलाई कडा निमोनिया एचएमपीभी संक्रमणले सताइरहेको कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एचएमपीभीमा कोरोनाजस्तै रुघाखोकी, ज्वरो, थकान महसुस हुनेजस्ता लक्षण देखिन्छ । हालसम्म यसविरुद्धको कुनै खोप छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  १५:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro