site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अन्तिम खेलमा पनि लुम्बिनी पराजित, कर्णालीको प्लेअफ सम्भावना बलियो 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)–२०२४ को आफ्नो अन्तिम खेलमा पनि लुम्बिनी लायन्सले हार व्यहोरेको छ । शुक्रबार भएको खेलमा कर्णाली याक्ससँग लुम्बिनी पाँच रनले पराजित भएको हो । 

योसँगै लुम्बिनीले प्रतियोगिताका सात खेलमा एक जित र ६ हारको नतिजासहित आफ्नो यात्रा टुंग्याएको छ । 

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १२९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२३ रनमात्र बनाउन सक्यो ।

जितसँगै कर्णालीले भने आफ्नो प्लेअफ सम्भावनालाई बलियो बनाएको छ । ६ खेलबाट आठ अंक जोडेको कर्णाली तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

लुम्बिनीका टम मुरेसले सर्वाधिक ३६ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ३५ बलमा चार चौका र एक छक्का प्रहार गरे । ४०–३ को स्थितिबाट मुरेसले पाँचौँ विकेटका निम्ति सन्दीप जोरासँग ५१ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ सम्हालेका थिए । 

सन्दीपले २१ बलमा दुई छक्कासहित २४ रन थपे । ओपनर आशुतोष घिरैयाले २१ बलमा दुई चौकासहित १६ रन बनाए । अर्जुन साउदले ६ बलमा तीन चौका प्रहार गर्दै १३ रन जोडे । कप्तान रोहितकुमार पौडेल व्यक्तिगत १० रनमा पभेलियन फर्किनुअघि आठ बलमा दुई चौका प्रहार गरे ।

कर्णालीका जिसान मक्सुदले दुई विकेट लिए । कप्तान सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र विलियम बोसिस्टोको नाममा समान एक विकेट रह्यो ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२८ रनको योगफल खडा गरेको थियो ।

कर्णालीबाट विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । उनले ३० बलमा तीन चौका र तीन छक्का प्रहार गरे । अर्जुन घर्तीले २५ बलमा दुई चौका र एक छक्कासहित २५ रन बनाए । 

४७–४ को स्थितिबाट यी दुईले पाँचौँ विकेटका निम्ति ७२ रनको साझेदारी गर्दै कर्णालीलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए । 

ओपनर बाबर हायातले २२ बलमा एक चौका र एक छक्कासहित २० रन थपे । चान्डिविक वाल्टनले १५ बलमा एक छक्कासहित १३ रन बनाए । 

यसबाहेक, कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका विकाश अग्रीले तीन विकेट लिए । दुई ओभर बलिङ गरेका अग्रीले १४ रनमात्र खर्चिए । तिलक भण्डारीले दुई विकेट लिए । यस्तै, रेमोन सिमोन्ड्स, साद बिन जफर र रोहितकुमार पौडेलले समान एक विकेट लिए ।

लिगका सुरुआती दुई खेलमा हार व्यहोरे पनि कर्णालीले त्यसपछिका तीन खेलमा भने लगातार जित निकालेको थियो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेट र दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध तीन विकेटले पराजित भएको थियो ।

त्यसपछि कर्णालीले तेस्रो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेट, चौथो खेलमा विराटनगर किंग्सविरुद्ध सात रन र पाँचौँ खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको जित निकालेको थियो ।

लुम्बिनीले भने सात खेलबाट दुई अंक जोड्दै प्रतियोगिताको अन्त्य गरेको छ ।

लुम्बिनीले प्रतियोगिताको सुरुआती चार खेलमा लगातार हार व्यहोरेको थियो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोलीले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध दुई विकेट, दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध १० विकेट, तेस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ४५ रन र चौथो खेलमा जनकपुर बोल्ट्ससँग एक रनको हार व्यहोरेको थियो ।

पाँचौँ खेलमा चितवन राइनोजविरुद्ध ३३ रनको जित निकाले पनि छैटौँ खेलमा लुम्बिनीले काठमाडौं गुर्खाजसँग १८ रनको हार व्यहोरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro