site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानन्यायाधीशमा कार्यकारीको भोक जागेको छ : बार अध्यक्ष घिमिरे

पोखरा । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायिक नेतृत्व स्वेच्छाचारी भएको आरोप लगाएका छन् । उनले प्रधानन्यायाधीशमा कार्यकारीको भोक जागेको आरोप लगाए । यसकै कारण न्यायपालिकामा विकृति फैलिएको उनको भनाइ छ ।

नेपाल बार एसोसिएसनको ५०औँ कार्यकारिणी परिषद् बैठक र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा हुने राष्ट्रिय गोष्ठीका बारेमा जानकारी दिँदै आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले न्यायिक नेतृत्वमा जिम्मेवारीभन्दा सिटको बार्गेनिङ र कार्यकारी भूमिका खोज्ने प्रवृत्ति बढेको आरोप लगाएका हुन् ।

“न्यायपालिका आफैँमा स्वेच्छाचारी संस्था होइन, लोकतान्त्रिक व्यवस्थाअन्तर्गत राज्यको एउटा अंग हो । नीति र पद्धति मान्नुपर्छ । मान्दैन भने त्यसमाथि प्रश्न उठाउन पाइन्छ । न्यायिक नेतृत्व जनता र संविधानप्रति उत्तरदायी हुनुपर्छ,” उनले भने ।

प्रधानन्यायाधीश संवैधानिक परिषद्को सदस्य हुँदा कार्यकारीको भोक जगाइदिएको भन्दै उनले आफैँले निर्णय गरेको विषयमा मुद्दा परेमा न्यायिक नेतृत्वबाट सही फैसला आउँछ भन्ने कसरी विश्वास गर्न सकिन्छ ? भन्दै उनले प्रश्न गरे ।
 
असोजमा न्यायपरिषद्को न्यायाधीश सिफारिससम्बन्धी निर्णयमाथि आलोचना गरेको विषयमा उनीमाथि सर्वोच्च अदालतको प्रशासनले अवहेलनाको मुद्दा दर्ता गराएको थियो । सो मुद्दा आफूले खेपिरहेको र असंवैधानिक कार्यप्रति आवाज उठाउँदा पक्राउ गर्नेजस्ता कार्य भएको बताए । 

उनले भने,“जब न्यायपालिकाभित्रै विसंगति, विकृति, भ्रष्टचार छ भन्ने कुरा उठिरहेको छ भने हामीले अमेरिकाजस्तो परिकल्ना गर्न सक्दैनौँ ।’’

न्यायाधीशविनाको समाज परिकल्पना गर्न नसकिने उल्लेख गर्दै बार अध्यक्ष घिमिरेले थपे, ‘‘न्यायाधीश योग्य नियुक्त गरौंँ, त्यसका मापदण्ड बनाऔँ, तर न्यायाधीश बन्न गएपछि त्यो व्यक्तिलाई नभुत्ल्याऔँ, भुत्ल्याएको कुखुराजस्तो बनाएर अदालतभित्र नछिराऔँ, सम्मानित नै बनाएर राखौँ, अपमानित नगरौँ ।”

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्