site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेरि क्षेत्रोपवास
SkywellSkywell

चार दाजुभाइमध्येमा सबैभन्दा निरोगी मानिनुहुन्थ्यो बुवा । सामान्य बिमारी हुनु त स्वाभाविक हो, तर थलैपर्ने गरी बुवा बिरामी हुन छोड्नुभएको धेरै भइसकेको थियो ।

७९ वर्षको उमेरमा पुग्दा भने बुवा अलि कमजोर देखिन थाल्नुभयो । बुवाको संघर्षमय जीवनले पनि रोगव्याधिमाथि विजय हासिल गर्नुभएको हो कि जस्तो लागेको छ मलाई ।

आँखाको मोतियाविन्दुले अप्ठ्यारो पार्न थालेपछि आँखाको उपचार गराउन काठमाडौं ल्याइएको थियोे उहाँलाई । आँखाको उपचार चल्दाचल्दै कब्जियतले पनि सताउन थाल्यो । खानामा रुचि घट्न थालेपछि पेटको उपचार सुरु गरियो ।

KFC Island Ad
NIC Asia

भाइमार्फत वीरेन्द्र अस्पताल छाउनीमा भर्ना गरेर सुरु भएको उपचार र विविध प्रकारका परीक्षणपश्चात् बुवालाई ठूलो आन्द्रामा क्यान्सर भएको निर्क्योल भयो । क्यान्सर विभिन्न स्थानमा फैलिएको र कलेजोमा पनि गम्भीर असर पारिसकेको रहेछ ।

उपचारका क्रममा भाइ उमेश अहोरात्र खटिइरहेको थियो । हाम्रा दिनचर्या बदलिएका थिए । दिन अस्पतालमा बितिरहेका थिए । खान र सुत्नको कुनै ठेगान थिएन । परिवारमा बिमारी परेपछि सबै सदस्य हत्तु–हैरान परिन्छ । मन भित्रैदेखि दुखिरहेको थियोे ।

Royal Enfield Island Ad

यस्तो असाध्य रोगले छोए पनि बुवालाई बचाउन सकिन्छ कि भन्ने आशाको लहर मेरो अनुहारमा सलबलाइरहेको थियो । हामीले नभ्याउँदा मेरी पत्नी इन्दिरा र भाइबुहारी गंगाले पनि अस्पतालमा बुवाको हेरचाह गरिरहेका थिए । छोरो ईश्वर र भतिज सन्देश आफ्नो पढाइ छोडेर पनि अस्पताल पुगिरहेका थिए ।

नातामा पर्ने व्यक्तिहरूले यही रोगका कारण प्राण त्याग्नुभएको हामीलाई थाहा थियोे । तर पनि आफ्नै परिवारमा बिरामी पर्दा भने भित्रैदेखि गलिँदो रहेछ ।

बुवाले खाना खान छोड्नुभएपछि भने डाक्टरहरूको समूह बुवाको पेटको शल्यक्रिया तत्काल गर्नुपर्ने निष्कर्षमा पुग्नुभएको थियोे । शल्यक्रिया त गर्ने, तर बुवाको शरीरमा हेमोग्लोबिन र प्रोटिनको मात्रा असाध्यै न्यून थियोे ।

शरीरमा हेमोग्लोबिन र प्रोटिनको मात्रा बढाएपछि मात्र २०८० मंसिरको तेस्रो साता बुवाको शल्यक्रिया भयो र हामीले सन्तोषको श्वास लिन पाएका थियौँ ।

उप्रान्त शल्यक्रिया विभागले बुवालाई अंकोलोजी विभागमा सिफारिस गरेको थियोे । क्यान्सर रोग विशेषज्ञ डाक्टर सुनीलकुमार श्रेष्ठले केमोथेरापीको तयारी गर्दै यस रोगको पहिचान गर्ने सम्बन्धमा धेरै महत्त्वपूर्ण कुरा बताउनुभएको थियोे ।

उहाँले भन्नुभयो– कुनै पनि व्यक्तिलाई अकारण पखाला लाग्ने र कब्जियत हुने भइरह्यो भनेचाहिँ आन्द्राको क्यान्सरको सम्भावना अधिक हुन्छ ।

बुवाको उमेर, शारीरिक अवस्था र भर्खरै गरिएको शल्यक्रियाका कारण पनि बुवाले केमोथेरापीका जटिलताहरू थेग्न सक्ने अवस्था थिएन । निरन्तर रूपमा हेमोग्लोबिन र प्लेटलेटको मात्रा घटिरहेको थियोे । त्यसैले डाक्टर साबहरू पनि केमोथेरापीको उपचार पद्धतिबाट अपेक्षित लाभ हुनेमा शंकित नै हुनुहुन्थ्यो ।

अन्तमा डाक्टरले निष्कर्ष सुनाउनुभयो– बुवालाई घरमै राखेर हेरचाह गर्नुहोस्, मन लागेको कुरा खान दिनुहोस् ।

जतिसुकै मन थाम्न खोजे पनि भित्रैदेखि विचलित हुँदै थियौँ हामी । अनेकौँ प्रयास गरेर सम्भावनाका नयाँ क्षेत्रहरू पनि पहिल्याउँदै थियौँ ।

कसैको केही सीप लागेन । वैकल्पिक उपचारका सम्भावना सीमित हुँदै गए । बुवा केही समयको मात्रै पाहुना हो भनेर मान्न मन कसैगरी तयार भएको थिएन । बुवा काठमाडौं बस्न मानिरहनुभएको थिएन । उहाँ भन्नुहुन्थ्यो– म काठमाडौं आएको चार महिना भइसक्यो, मलाई घरमा लैजाओ ।

अन्ततः बुवालाई सर्लाहीस्थित घरैमा राखेर हेरचाह गर्न थालियो । अलि दिन त बुवालाई गाउँघरमा नै सहज भयो, केही फेरिएजस्तो पनि हुनुभयो । पछिपछि बुवामा कमजोरी बढ्दै गयो । उहाँ शिथिलशिथिल हुँदै जानुभएको थियो ।

आखिरीमा यो असाध्य रोगले बुवालाई लगिछाड्यो । २०८१ साल वैशाख ८ गते शनिबार अपराह्न ४ः३० बजेतिर बुवाले प्राण त्याग्नुभएको थियो । सबै परिवारबीच बुवाले आँखा चिम्लनुभएको थियोे ।

रुवाइको ध्वनिले घर कोलाहलमय बनेको थियोे । सम्झाइबुझाइ गर्नुपर्ने मानिस नै रुने कार्यक्रममा सामेल भएपछि परिस्थितिलाई कसले सम्हाल्ने ?

झमक्क साँझ पर्दासम्म पनि म अन्योलको पोखरीमा डुबिरहेको थिएँ । वाग्मती नदीको किनारमा बुवाको अन्तिम संस्कार सम्पन्न गरी राति करिब १० बजेतिर हामी उदास मन लिएर घर फर्कियौँ । हामीले मान्दै आएको संस्कारले हामीलाई सेता पहिरनमा कोराभित्र हुलिदिएको थियो ।

कोठाको एउटा कुनामा आमा सेतै परिधानमा कुचुक्क परेर बस्नुभएको थियो । आमाको सिउँदोबाट सौभाग्य पुछिइसकेको थियोे । हातका चुराहरू फुटिसकेका थिए । अब एउटा कुनामा म र भाइ, अर्को कुनामा आमा । अर्को कोठापट्टि आमाका बुहारीहरू र छोरी बसेका थिए । 

परेपछि भोग्नुपर्छ भनेको यही हो सायद । समाज र संस्कारले किरियापुत्रीहरूका लागि कडा नियम बनाइदिएको छ, पहिल्यैदेखि । हामीले कसैलाई छुनु हुँदैन । हामीलाई पनि कसैले छुन हुँदैन । छोइएमा फेरि क्षेत्रवास बस्नुपर्ने हुन्छ ।

क्षेत्रोपवासका दिन केही खान नहुने । बुरुसले दाँत माझ्न नहुने, साबुनले हात धुन नहुने । पाँच सय वर्षअघि जेजस्तो गरिन्थ्यो, अहिले पनि सोही मुताबिक नै गर्नुपर्ने कठोर आचारसंहिता बनेको थियोे ।

फेरि, संस्कारजन्य नियमहरू पनि थरीथरीका हुँदा रहेछन् । पुरोहितको छुट्टै नियम, वरिपरि झुम्मिने आगन्तुकहरूका छुट्टै नियम, दाजुभाइका छुट्टै नियम । यस्तो कर्म गरिसकेका भुक्तभोगीहरूका छुट्टै नियम । घरका महिला सदस्यहरूका छुट्टै नियम ।

यी छुट्टाछुट्टै नियमहरू पालना गर्न पनि कति गाह्रो पर्ने रहेछ । हाम्रो संस्कार भन्ने कि कुसंस्कार भन्ने खालको द्विविधा सिर्जना भइरहेको थियोे । कुसंस्कार भन्ने आँट जुटाउन पनि गाह्रै रहेछ । सजायस्वरूप हप्कीदप्की खानुपर्ने हुँदो रहेछ । त्यस्तै परे समाजबाट हुन सक्ने बहिष्करणको सजाय भोग्न पनि तम्तयार भएर बस्नुपर्ने रहेछ ।

दोस्रो दिनदेखि दशौँ दिनसम्म बिताउन एक युगजस्तो लाग्ने रहेछ फेरि । शौचालय जान पनि पालोपहरा चाहिने । बिरालो, कुकुरजस्ता जनावरहरूबाट टाढै रहनुपर्ने जस्ता कठिनाइपूर्ण दिनहरूको स्मरणले पनि सारा शरीर सिरिङ्ङ हुने रहेछ । यो समाज सितिमिति परिवर्तन नहुने रहेछ भन्ने कुरा मजाले भोग्दै थियौँ हामी ।

यस्तो बेलामा सामाजिक सहयोग भने मज्जाले पाइने । पुग नपुग, सरसहयोगका लागि छिमेकीहरूले बढाएका हातहरूले मनमा निकै ढाडस दिँदा रहेछन् । क्षेत्रोपवासका दिन ढिकुरो उठ्दो रहेछ अनि त्यसको भोलिपल्टदेखि ढिकुरोको पूजा । ढिकुरे भाइहरू वरिपरि जुट्दा रहेछन् ।

दाजुभाइहरूलाई पनि सधैँ आइपुग्न कठिनाइ । दूरीमा अलि टाढा भए पनि मधु दाइ डालो बोक्न खटिनुभएको थियो भने उहाँलाई ल्याउने–लैजाने र हामीलाई खानपिनको व्यवस्थापन गरिदिने काममा जीवन भाइ खटिए ।

अरू दाजुभाइहरूलाई पनि सहयोग गरेजस्तो पनि देखाउनु छ, सहयोग गर्न मन भने छैन फिटिक्कै । एकजना भाइले त भनी पनि हाले– खर्चबर्च छ कि छैन नि ? भनिहाल्नु है । मसँग नभए पनि साहुले पत्याउँछन् मलाई ।

‘धन्यवाद भाइ, अहिलेसम्म चल्दै छ’ यति भनेर मैले कुरा टुंग्याउन खोजेँ ।

भोलिपल्ट उसैले फेरि भन्यो– पुरोहितलाई दानदक्षिणा राम्रै गर्नुपर्छ नि ! गरुड पुराण भन्नेलाई पनि ठग्नु हुँदैन, थाहा छ कि छैन ?

आफूलाई मनभरि सन्ताप छ । केही दाजुभाइलाई चाहिँ पुरोहितले पाउने दानदक्षिणाको चिन्ता छ । यस्ता दाइभाइहरू हामीलाई सहयोग गर्न जम्मा भएका हुन् कि पुरोहितलाई, मैले बुझ्न सकिरहेको थिइनँ ।

अब सरसामान जुटाउने समय आउँदै थियोे । पहिले जे परे पनि हामी छौँ भन्ने केही दाजुभाइहरू पछि हट्दै थिए । एघारौँको काम कसरी गर्ने भन्ने कुरामा उनीहरू हामीलाई निर्देशन दिँदै थिए ।

कुनै बाहुनलाई खोजेर काट्टो खुवाउनुपर्छ भनेर उनीहरू हामीमाथि दबाब बढाउँदै थिए । यो कुरा हामीले मानेनौँ । यस विषयमा भाइ उमेश र म एकमत थियौँ । काट्टो खुवाउने अमानवीय प्रथा हामी कुनै हालतमा स्वीकार गर्दैनौँ भनेपछि उनीहरू अलि टाढाटाढा हुँदै गइरहेका थिए ।

तेह्रौँ पुण्यतिथिका दिन शैयादान गर्ने बेला कसैले सुनको प्रतिमाको कुरा उठायो, म छक्क परेँ । एक टुक्रा सुन नलगाई बुवा आफ्नो भौतिक जीवन त्यागेर पण्डाहरूले भन्दै आएको स्वर्गतिर लागिसक्नुभयो, अब यहाँ सुनको प्रतिमाको खोजीमा दुःखी आत्माहरू तड्पिरहेका थिए ।

जेनतेन बुवाको काजकिरिया सम्पन्न गर्‍यौँ । व्यावहारिक कठिनाइका कारण कपडा फुकाउने निर्णय गरियो । यस विषयमा पनि कैयौँ व्यवधान सिर्जना भए । यस विषयमा नजिकका काकाको पनि विमति रह्यो ।

शोकको घडीमा हामीलाई सम्झाइबुझाइ गर्नुपर्ने बेलामा उहाँले हामीलाई गाली गरिरहनुभएको थियो । उहाँको आशय थियो– सेतो कपडा लगाएर एक वर्ष पनि बाबुको शोक बोक्न नसक्ने गधा हौ तिमीहरू !

गाउँकै मामा पर्ने एकजना निकै कुर्लिए । उनको नजरमा कपडा फुकाएर हामीले ठूलो अपराध गरेका थियौँ ।

उनले आक्रोशित हुँदै भने– तिमीहरूको बाबुप्रतिको भक्ति पनि देखियो । एक वर्ष सेता वस्त्र धारण गर्न नसक्ने तिमीहरू कसरी छोरा भयौ ? बाउ बारबार मर्दैनन् त !

यिनको धार्मिक कट्टरताको वचनवाणले गर्दा हाम्रो मन छियाछिया भएको थियो । भाइले त यिनलाई मुखभरिको जवाफ पनि दिइसकेको थियो । म भने यस्ता मोटा बुद्धिसँग किन सवालजवाफ गर्नु भनेर चुप लागेर बसेको थिएँ । सामान्य परिवर्तनलाई पनि स्वीकार गर्न नसक्ने यी आदिम पण्डाहरूसँग केही गरी नसकिने रहेछ ।

यस्ता संस्कारहरूलाई सरल बनाउँदै लगेर सबैलाई सहज हुने बनाउनुपर्नेमा देखासिकी गर्दै जटिल बनाएर संस्कार सिध्याउन र धर्मान्तरण गराउने कार्यमा यस्ता पण्डाहरूको पनि हात हुँदो रहेछ भन्ने बुझ्दा भने भित्रैदेखि मन दुखिरहेको थियो ।

यी पुराना सोचका मानिसहरूका नजरबाट जोगिँदै बुवाको काजकिरिया सिध्यायौँ । बुवाको आशीर्वादले गर्दा हामीले अरूबाट छोइएर फेरिफेरि दोहोरो क्षेत्रोपवास बस्नु परेन ।

(कर्मैया, सर्लाही)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro