site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ : माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकार आफ्नै कारणले ढल्ने टिप्पणी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सोमबार बिहान बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार आफ्नै कारणले ढल्ने बताएका हुन् ।

उनले देशमा राम्रा काम गरिरहेका कर्मचारीलाई हटाउने खेल भइरहेको आरोप लगाए । देशमा असाधारण परिस्थिति बन्दै गएको उनले उल्लेख गरे । असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीका बीचमा एकरूपता र समझदारी हुन जरुरी रहेकामा उनले जोड दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यो देशमा राम्रो काम गरिरहेका छन्, उनीहरूलाई हटाउने खेल भइरहेको छ,” उनले भने, “असाधारण परिस्थिति देशमा बन्दै छ ।”

उनले सरकार राजनीतिक दलहरू फुटाउने चलखेलमा लागिरहेको आरोप समेत लगाए । संविधान संशोधन अग्रगमन र परिवर्तनका पक्षमा हुनुपर्ने उनले बताए । “राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने खालको पनि चर्चा चलिरहेको छ,” उनले भने, “संविधान संशोधन गर्ने हो भने अग्रगमनको पक्षमा परिवर्तनको पक्षमा, जनताका अधिकारहरू बढाउने पक्षमा गर्नुपर्छ ।”

राष्ट्रियताको सवाल झन् पेचिलो र जटिल बन्दै गएको तथा लोकतन्त्रका मूल्य, मान्यता र आदर्श कुल्चिने कुचेष्टा भइरहेको आरोप उनले लगाए ।

“प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । त्यसले मात्रै अहिले देखिएका विकृति, विसंगतिहरू, यो अस्थिरता हट्छ, राजनीतिक स्थायित्व ल्याउन सक्छ भन्ने हाम्रो विचार छ,” उनले भने, “निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ ।”

प्रवक्ता सापकोटाले जनतालाई सही ढंगले परिवर्तन र अग्रगमनका पक्षमा दिशानिर्देश गर्न जरुरी रहेको बताए । “एकपछि अर्को जनहितविपरीतमा जाँदै छ यो सरकार, पहिलो र दोस्रो पार्टी मिलेर सरकार बन्दै छ, यसले अलिकति अधिनायकवादतिर, अलि तानाशाहीतिर जान्छ भन्ने थियो नि, अहिले ठिक त्यस्तै कुरा पुष्टि भइरहेका छन्,” उनले भने । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्