ब्लुज एक
जहाँ जन्मेँ
त्यो घर रहेन
जहाँ थियो डेरा
त्यहाँ टिक्न पाइएन
देश पनि थियो
विदेशिनु पर्यो
भाषा पनि थियो
बोल्न पाइएन
हुलाकीले पत्ता लाउने
आफ्नो कुनै ठेगान भएन
सत्ताले लखेटिरह्यो
लखेटिरह्यो
लखेटिरह्यो
पराई देशको
बास भयो
भोक नबुझ्ने शासक
सिंहदरबारमा रहिरह्यो
ब्लुज दुई
एटलान्टिक, प्यासफिक महासागरका जल स्पर्श
साथ छुटेका आफ्ना नदी, महानदी
कोसी, कर्णाली, भेरी, सेती, कमला, मेची, वाग्मती, विष्णुमती
सम्झाउने गर्छन्
थुप्रैथुप्रै जलप्रवाह
सम्झाउने गर्छन्
तारिखहरू
तिथिहरू
दसैँ, तिहार, होली, इद, मुहर्रम
उदासीमा डुब्छ मन
छिटै उड्ने फिर्ती टिकट छैन
श्रमका वर्षहरू व्यहोर्नु छ धेरै
ब्लुज तीन
आँखाको मापनमा नआउने
आकाश निल्न ठडिएका
अजंगका भवनहरू
चिल्ला, काला, चौडा अलकत्रे सडकमा हुँइकिरहने
साइबर कारहरू
कर्पोरेट दासत्वका दबिएका
बेफुर्सदका गतिहरू
यान्त्रिक कोसिसका
पार्कहरू
सजावटमा उमारिएका क्षणजीवी फूलबोटहरू
वृक्षहरू
माटोहरू
खेतहरू, बारीहरू, पहाडहरू, मैदानहरू सब बिरान लाग्छन्
यै बिरानीमा
घरदेशको आतंकित बेरोजगार
रोजगार हुन आयो
ब्लुज चार
घोर विभेद थियो
क्रूर दलवाद थियो
असमानता व्याप्त थियो
भ्रष्टहरू, दुष्टहरू, चम्चाहरू पदासीन थिए
भोको मान्छे एक्लो थियो
सहनै नसकिने
कठोर स्थिति थियो
आजित भएर देश छोडियो