site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल बनाउन भारत र चीनको सद्भाव अनिवार्य, ‘छिमेक पर’को नीति पनि अँगाल्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने राष्ट्रिय भेला बिहीबार सम्पन्न भयो । काठमाडौंमा आयोजना गरिएको भेलामा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । 

भेलाले पारित गरेको प्रतिवेदनमा रास्वपाको ‘विदेश नीति कस्तो हुने’ भन्ने खाका कोरिएको छ । प्रतिवेदनमा दुई छिमेकी भारत र चीनलाई उच्च प्राथमिकता दिइएको छ । अन्य देशलाई ‘छिमेक पर’ नीतिमार्फत हेरिने प्रतिवेदनमा उल्लेख छ ।

नेपालीहरू एकपछि अर्को राजनीतिक आन्दोलन, व्यवस्था परिवर्तन र संविधान लेखन वा पुनर्लेखनको विवादमा अल्मलिएको प्रतिवेदनमा जनाइएको छ ।

“नीतिभन्दा नियतको कमजोरी रहेको हाम्रो राजनीतिको सही व्याख्या गर्न र अन्तर्राष्ट्रिय राजनीतिबाट प्रशस्त दीक्षित हुन अनिच्छुक देखिन्छौँ,” प्रतिवेदमा भनिएको छ । 

सन् १९४५ पछि दुई ध्रुवीय हुँदै सन् १९९० बाट एक ध्रुवीय भएको विश्व राजनीति र शक्तिको समीकरण अहिले बहुध्रुवीय भैसकेको ठम्याइ रास्वपाको छ । 

“हामी विश्वको अति रणनीतिक ठाउँमा छौँ । चीन र भारत हाम्रा दुई छिमेकी मात्र होइनन्, संसारको परस्परविपरीत शासकीय व्यवस्था र राजनीतिक विचार भएका एकदलीय समाजवादी र बहुदलीय प्रजातन्त्रका अग्रणी राष्ट्र पनि हुन्,” प्रतिवेदनमा भनिएको छ । 

रास्वपाका अनुसार संसारका सबैभन्दा ठूलो जनसंख्या भएको चीन र भारत अबको केही समयमा विश्वकै ठूला तीन आर्थिक शक्तिमध्येका दुई हुनेछन् । 

लामिछानेले प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा उल्लेख छ, “नेपालको विकास र स्थायित्व यी दुवै देशको पनि सामरिक हितभित्रै पर्दछ । हामीकहाँ अस्थिरता हुनु, असमानता चर्कनु वा गरिबी बढ्नुले छिमेकमा पनि प्रतिकूल असर पर्छ ।” 

नेपाल कमजोर भएमा घुसपैठ गरेर उनीहरूविरुद्ध हुन सक्ने अन्य पक्षको अवाञ्छित क्रियाकलापबारे छिमेकीहरू चनाखो हुने प्रतिवेदनमा जनाइको छ । त्यसको मुकाविला गर्नसमेत स्थिर र बलियो नेपाल अपरिहार्य रहेको जनाइएको छ ।

“यसरी, नेपाल बनाउन हाम्रा उदाउँदा विशाल छिमेकको सहयोग र सद्भाव लिनुनै पर्नेछ भने हामी बलियो हुँदा उनीहरूले पनि सुरक्षित महसुस गर्नेछन्,” प्रतिवेदनमा उल्लेख गरिएको छ । 

भारत र चीनको द्रुततर विकासको राज पत्ता लगाएर त्यसलाई अनुकरण र अनुशरण गर्दै जानुपर्ने पनि प्रतिवेदनमा जनाइएको छ । दुवै देशको राजनीतिसँग नजिक र विश्वासको वातावरण नेपालको अन्तर्राष्ट्रिय अर्थ राजनीतिको मुख्य चासो बन्नुपर्ने बुझाइ रास्वपाको छ ।

भारत र चीनसँगको सम्बन्ध कसिलो बनाउँदै गर्दा उनीहरूप्रतिको अधिक निर्भरता नहोस् भन्नेप्रति पनि नेपालको ध्यान जान जरुरी रहेको प्रतिवेदनमा जनाइएको छ । 

“छिमेक परको नीति पनि हामी अंगाल्नेछौँ । लगानी, पर्यटन, व्यापार, सहुलियतपूर्ण वित्तीय स्रोतको विविधीकरण र व्यापकीकरण गर्न अन्य पूर्वी एसियाली राष्ट्र र खाडी मुलुकहरू, युरोप, जापान र अस्ट्रेलियासँगको सम्बन्ध पनि आत्मीय हुन आवश्यक छ,” प्रतिवेदनमा भनिएको छ ।

परराष्ट्र मामिलाको मुटुमा नेपालको आर्थिक हित राख्ने र नवीन प्रविधि एवं जलवायु कूटनीतिजस्ता विषयलाई परम्परागत दौत्य सम्बन्धसँग गाँस्दै अघि बढ्ने फराकिलो विदेश नीतिको सिर्जनशील अभ्यास गर्ने नीति रास्वपाले लिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro