site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सञ्चार क्षेत्र महेन्द्रकालीन कानुनका भरमा चलेको रहेछ, म त छक्कै परेँ : मन्त्री गुरुङ

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा लोकतन्त्र आएको लामो समय भइसक्दा पनि सञ्चार क्षेत्र महेन्द्रकालीन कानुनका भरमा चलिरहेको बताएका छन् । उनले २०४८ सालमा बहुदलीय प्रजातन्त्र र ०६३ सालमा लोकतान्त्रिक व्यवस्था आए पनि सञ्चार क्षेत्रका अधिकांश कानुन महेन्द्रकालीन समयका रहेको बताए ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रका केही कानुन नयाँ बने पनि अधिकांश कानुन दशकौँ पुराना रहेकाले धेरै समस्या रहेको बताए ।

Argakhachi Cement Island Ad

देशभरका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १८औँ वार्षिक साधारण सभामा उनले भने, "म सञ्चारमन्त्री बन्न पाउँछु भन्ने पनि थिएन, मैले बन्न चाहेको पनि थिइनँ । तर, यहाँ आएपछि यो मन्त्रालय अन्तर्गतको क्षेत्र कसरी चलेको रहेछ भन्ने थाहा पाएर म छक्कै परेँ ।"

उनले अबको एक वर्ष नीतिगत सुधारलाई पहिलो प्राथमिकता दिएर अघि बढ्ने निधो गरेर काम पनि थालेको बताए । अब त्यसैअनुसार सञ्चार क्षेत्रका कानुन निर्माण र परिमार्जन गर्ने विषयलाई सरकारले मुख्य प्राथमिकता दिन थालेको मन्त्री गुरुङले बताए ।

बहुदलीय प्रजातन्त्रपछिका वर्षहरूमा नेपालमा संघ संगठन तथा सञ्चार माध्यम खोल्ने ठूलो लहर आएको तर आवश्यकता र दीगोपनको लेखाजोखा नगरिएकाले अहिले समस्या आएको उनको भनाइ छ । तर, सामुदायिक रेडियोका समस्या समाधान गर्ने विषयलाई सरकारले बेवास्ता गर्न भने नसक्ने भएकाले आफूले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता उनले जनाए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्