site stats
बाह्रखरी :: Baahrakhari
देश
जग्गा दान गरेको २३ वर्षपछि दाबगरामा पुग्यो बस

गलकोट । सुदेशचन्द्र राजभण्डारीले बसपार्क बनाउन धान खेत दान गरेको २३ वर्षपछि मंगलबार दाबगरामा बस पुगेको छ ।

उनीसहितका ४१ स्थानीयले २०५८ सालमा ५९ रोपनी जग्गा बसपार्क निर्माणका लागि स्थानीय सरकारलाई दान गरेका थिए । 
 
लामो समयको पर्खाइपछि बस पुग्दा भण्डारी मात्रै होइन स्थानीयले खुसी व्यक्त गरे । बागलुङ नगरपालिका–४ मा रहेको दाबगरामा चार वर्ष अघिमात्रै बसपार्क निर्माण भएको थियो । तर बसपार्क सञ्चालनमा आउन भने लामो समय कुर्नुपरेको उनले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“धान फल्ने खेत दान गरेको लामो समयपछि भए पनि बसपार्क सञ्चालनमा आउँदा खुसी लागेको छ, ढिलै भए पनि विकास भएको अनुभव गर्न पाइयो”, भण्डारीले भने, “बसपार्क बनाउन १४ रोपनी दान दिने बुबा आमा अहिले नभए पनि उहाँको सम्झना भने रहिरहनेछ ।” 

पहुँचमार्ग विस्तारपछि बागलुङ बसपार्क सञ्चालन आएको हो । बसपार्कको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । बसपार्कमा धौलागिरी गण्डकी यातायातलगायत सेवा प्रदायक कम्पनीले बसपार्कबाट सेवा सञ्चालन सुरु गरिसकेका छन् । 

जग्गादाता गोविन्द उपाध्यायले भने, “नगरपालिकासँग सम्झौता गरेर जग्गा दिएका थियौँ, त्यो बेला उपयोग नहुने जग्गा फिर्ता हुने सर्तसहित नगरपालिकालाई जग्गा दिएको हो, अहिले बसपार्क बनेपछि खुसी लागेको छ ।” उनले बसपार्क निर्माणमा उपयोग नभएको जग्गा फिर्ता पाउनेमा आशा बढेको बताए । 

बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरविकास कोषको ऋणमा बागलुङ नगरपालिकाले नौ करोड खर्चेर आधुनिक बसपार्क निर्माण गरेको जानकारी दिए । “बसपार्क कूल १७ रोपनीमा निर्माण भएको छ, बाँकी ४२ रोपनी जग्गा जग्गादातालाई फिर्ताको तयारी भइरहेको छ”, उनले भने । रासस

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्