site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एसियन बिस्कुट इन्डस्ट्रिजले ल्यायो कोदोको पिठोबाट बिस्कुट, तिहारअगाडि नै भारत निर्यात गरिने

काठमाडौं । विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको छ । पहिलोपटक एसियन बिस्कुटले कोदोको बिस्कुटको उत्पादन र बजारीकरण गर्न सुरु गरिएको हो ।

केही समययता पश्चिम नेपालमा घरेलु र लघु उद्योगका स्तरमा स्थानीय उत्पादनका रूपमा यस्तो बिस्कुटको उत्पादन भइरहेको छ । तर, एसियनले एकैपटक देशभरि नै बजारीकरण र निर्यात समेत गर्ने उद्देश्यले अटोमेटिक मेसिनबाट ठूलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन हुन थालेको कम्पनीले जनाएको हो ।

नेपालका कच्चा पदार्थको प्रवर्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिस्कुटलाई सुगन्धित बनाउन पूर्वी नेपाल इलामको अर्को उत्पादन अलैँचीको धुलो पनि मिसाइएको बताइएको छ । साथै, फाइबरयुक्त बनाउन ओट्स मिसाइएको छ भने सुगन्ध र स्वादमा वृद्धि गर्न दालचिनीको धुलो पनि हालिएको उद्योगका सञ्चालक आशिष जाजुले बताए ।

सञ्चालक जाजुले कोदोको बिस्कुट मधुमेहका बिरामीले सन्तुलितरूपमा प्रयोग गर्न सक्ने र यसले इम्युनिटी वृद्धि गर्ने र पाचन प्रणालीमा पनि सुधार गर्ने दाबी गरेका छन् ।

उद्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ राखेको छ । जाजुले भारतीय बजारमा कोदोको बिस्कुटको नमुना पठाइसकिएको र त्यहाँबाट छिटो पठाइदिन अर्डर आएको जानकारी दिए । निर्यातका लागि कानुनी र प्राविधिक प्रक्रिया पूरा गर्ने कार्य भइरहेको जाजुको भनाइ छ ।

“हामी यसलाई अन्तर्राष्ट्रिय बजारमा कस्तो प्याकेजिङमा निर्यात गर्ने भन्ने गृहकार्य गरिरहेका छौँ,” सञ्चालक जाजूले भने, “भारतमा दसैँ तिहार अगाडि नै निर्यात गरिसक्ने योजना छ ।”

उनले एसियनले विभिन्न ३० प्रकारका बिस्कुटको उत्पादन र निर्यात गर्दै आएको जानकारी दिए । जसमा स्विट बिस्कुट, स्वीट एन्ड साल्टी, साल्टेड, सुगर फ्री, पोटेटो बिस्कुट, कुकिज, डाइजेस्टिभलगायतका बिस्कुट छन् ।

एसियनले मुख्यतया भारत र त्यसपछि अमेरिका, अस्ट्रेलिया र खाडी राष्ट्रमा बिस्कुटको निर्यात गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २३:२८
प्रतिक्रिया दिनुहोस्