site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिममा किन भयो भारी वर्षा ? शुक्रबारदेखि कम हुने

काठमाडौं । देशका धेरैजसो स्थानमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । कतिपय स्थानमा भारी वर्षा हुँदा अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशमा आज अन्य प्रदेशको तुलनामा धेरै वर्षा भएको छ । “कैलालीलगायत सुदूरपश्चिमका केही स्थानमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ,” मौसमविद् विनु महर्जन बाह्रखरीसँग भन्छिन्, “कैलाली र सुदूरपश्चिम प्रदेशका भारी वर्षा भएका स्थानमा एक सय मिलिमिटरभन्दा धेरै वर्षा भएको छ ।” 

सुदूरपश्चिम प्रदेशमा न्यूनचापीय रेखासँगै न्यून चापीय क्षेत्र पनि विकास भएकाले अन्य प्रदेशमाभन्दा धेरै वर्षा भएको उनको भनाइ छ । “न्यूनचापीय क्षेत्र सक्रिय हुँदा यसै पनि भारी वर्षाको सम्भावना हुन्छ, त्यससँगै न्यून चापीय क्षेत्र पनि विकास हुँदा धेरै वर्षा भएको हो,” मौसमविद् महर्जनले स्पष्ट पारिन् । 

उनका अनुसार मधेस प्रदेशका बारालगायत केही स्थानमा मात्रै वर्षा भएको छ । कोसीको पश्चिमी भू–भागमा कम वर्षा भइरहेको छ । बाँकी सबै प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रमले अझै केही समय निरन्तरता पाउने उनको भनाइ छ । 

वाग्मती, गण्डकी र लुम्बिनीका केही थानमा पनि भारी वर्षा भएको छ । काठमाडौंमा पनि भारी वर्षा भएको छ । गएरातिदेखि सुरु भएको वर्षा दिउँसो ३ बज्दासम्म रोकिएको छैन । काठमाडौंमा पनि भारी वर्षा भएको छ । जसका कारण वाग्मती, विष्णुमती, धोवी खोलालगायत काठमाडौंका अधिकांश नदी तथा खोलामा जलसतह बढेको छ । 

जल तथा मौसम विज्ञान विभागले बिहान गौरीघाटस्थित जलमापन केन्द्रमा वाग्मतीमा जलसतहले सतर्कता तह पार गरेको जनाएको थियो । 

“मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको हो । न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्दा मनसुन थप सक्रिय भएर भारी वर्षा हुन्छ,” मौसमविद् महर्जन भन्छिन्, “यो रेखा आज राति केही दक्षिणतर्फ सरे पनि पुनः उत्तरतर्फ नै सर्नेछ । त्यसैले आज जस्तै भोलि पनि पानी पर्नेछ ।” 

आज र भोलि पानी परे पनि शुक्रबारबाट भने केही कम हुने उनले जानकारी दिइन् । “आज र भोलिको तुलनामा शुक्रबार न्यूनचापीय रेखा सरदर स्थानबाट केही दक्षिणतर्फ सर्नेछ, जसका कारण वर्षा केही कम हुनेछ ।” 

यद्यपि, अति भारी र धेरै भारी वर्षा नभए पनि भारी वर्षाको सम्भावना भने केही प्रदेशमा रहिरहने उनी स्पष्ट पार्छिन् । “यो वर्ष मनसुन सक्रिय भएपछि कुनै न कुनै प्रदेशमा भारी वर्षा भइरहेको छ,” मौसमविद् महर्जन भन्छिन्, “यसले निरन्तरता पाउनेछ ।” 

आज राति कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना छ । 

बिहीबार दिउँसो कोसी, लुम्बिनी र मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार शुक्रबार दिउँसो कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति कोसी, मधेस र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro