site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अमेरिका–रूसबीच तनाव बढ्दा नेपाली सेना समस्यामा !
SkywellSkywell

काठमाडौं । पछिल्ला वर्षहरुमा अमेरिका र रूसबीच तनाव बढ्दै जाँदा नेपाली सेना समस्यामा परेको छ । अमेरिकाले रूसी कम्पनी र सामग्रीमाथि प्रतिबन्ध लगाउँदा नेपाली सेनाले रूससँग खरिद गरेको एमआई–१७ हेलिकोप्टर मर्मत गर्न समस्या परेको हो ।

नेपाली सेनासँग रूसबाट खरिद गरी ल्याएका चारवटा एमआई–१७ हेलिकोप्टर छन् । ती हेलिकोप्टरको निश्चित समय पुगेपछि मर्मत गर्नुपर्छ । तर मर्मतका लागि रूस पठाउन र रूसबाट सामान ल्याउन नमिलेपछि लामो समयदेखि दुई हेलिकोप्टर प्रयोगमा आउन सकेका छैनन् ।

“अमेरिकी प्रतिबन्धका कारण हेलिकोप्टर मर्मतका लागि आवश्यक पर्ने रकम डलरमा रूस पठाउन नमिल्ने भयो । सामान पनि ल्याउन नसकिने भयो,” रक्षा मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो ।

Dabur Nepal
NIC Asia

रूसबाट सामान ल्याएर हेलिकोप्टर मर्मत गर्ने बाटोहरु बन्द भएपछि केही साताअघि नेपाली सेनाले एमआई–१७ हेलिकोप्टर भारतमा मर्मत गर्न स्वीकृति प्रदान गर्न भन्दै रक्षा मन्त्रालयलाई पत्र लेखेको थियो । 

“सेनाले अनुरोध गरेको पत्रसहितको प्रस्ताव मन्त्रिपरिषद् बैठक लगियो र बैठकले भारतमा मर्मत गर्न स्वीकृति प्रदान गरेको छ,” रक्षा मन्त्रालय स्रोतले भन्यो । 

मन्त्रिपरिषद्ले स्वीकृत प्रदान गरेपछि खुला प्रतिस्पर्धा गरी भारतको मुम्बईस्थित अमन एभिएसन् एण्ड एरोस्पेस सोलुसन्ससँग सेनाले आफ्नो एमआई–१७ हेलिकप्टर मर्मत गर्ने सहमति गरेको छ ।

“हामीले दुई वटा एमआई–१७ हेलिकोप्टर मर्मत गर्न भारतमा पठाएका छौं । दुईमध्ये एउटाको ममर्त कार्य सकिन लागेको जानकारी प्राप्त भएको छ,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव कुमार केसीले बाह्रखरीसँग भने । 

नेपाल सरकारको स्वीकृतिमा प्रतिस्पर्धा गरी भारतमा हेलिकोप्टर मर्मत गर्न पठाएको उनले बताए । 

भारतको वायु सेनासँग २२० वटा एमआई–१७ हेलिकोप्टर छन् । रूससँग खरिद गरिएका ती हेलिकोप्टरको मर्मत कार्य भारतीय वायु सेनाले लामो सयमदेखि भारतभित्रै गर्दै आएको थियो ।

रूससँग भारतको राम्रो सम्बन्धका कारण मर्मत गर्न आवश्यक सामग्री भारतले रूसबाट सहजै ल्याइरहेको छ ।  अमेरिकाले पनि भारतलाई ‘रूसबाट सामग्री खरिद नगर’ भनी दबाब दिन सकेको छैन । 
यसैकारण नेपाली सेनाले पनि भारतमै आफ्ना एमआई–१७ हेलिकोप्टर मर्मत गर्ने निर्णय गरेको हो ।

रूसबाट खरिद गरेका दुईवटा एमआई–१७ हेलिकोप्टर २०७२ जेठ २६ गते नेपाली सेनाले प्राप्त गरेको थियो । रूसको रोसोबोरोनेक्सपोर्टसँग हेलिकोप्टर खरिद गरिएको थियो । त्यतिबेला ती हेलिकोप्टरको पैसा रूस पठाउन निकै गाह्रो भएको थियो । 

रूसको सरकारी स्वामित्वमा रहेको हेलिकोप्टर आपूर्ति गर्ने अधिकार प्राप्त एकमात्र कम्पनी रोसोवोरोनेक्सपोर्टसँग २०७० पुस ४ गते २ वटा  एमआई–१७ भि–५ हेलिकोप्टर खरिद गर्ने सम्झौता भएको थियो ।

अमेरिकाले सन् २०१५ देखि रोसोबोरोनेक्सपोर्टमाथि प्रतिबन्ध लगाउँदै आएको छ । हातहतियार बेचबिखनसम्बन्धी सन्धिको उल्लंघन गरेको भन्दै अमेरिकाले रोसोबोरोनेक्सपोर्टमाथि प्रतिबन्ध लगाएको हो । अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्दै अमेरिकाले उक्त प्रतिबन्धलाई पछि बढाउने निर्णय गरेको थियो । 

यही प्रतिबन्धका कारण यसअघि रुसबाट हेलिकोप्टर खरिद गर्दा रोसोबोरोनेक्सपोर्टलाई पैसा पठाउन हम्मेहम्मे परेको थियो । ९० प्रतिशत नेपाल राष्ट्र बैंकमार्फत पठाइएको थियो, बाँकी १० प्रतिशत रकम पठाउन कठिनाई आएपछि जर्मनीको बैंकमार्फत पठाइएको थियो । 

रोसोबोरोनेक्सपोर्टले नै जर्मनी र फ्रान्सको बैंकमार्फत भुक्तानी गर्न नेपाली सेनालाई सुझाएको थियो ।

जुन वर्ष अमेरिकाले रुसी रोसोबोरोनेक्सपोर्टमाथि प्रतिबन्ध लगाएको थियो, त्यही वर्ष अर्थात् २०१५ मा अमेरिकाले नेपाली सेनलाई चारवटा स्काई ट्रक (जहाज) उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

नेपाली सेनाका प्रवक्ता केसीका अनुसार, हाल सेनासँग १८ वटा जहाज तथा हेलिकोप्टर छन् । 

तीमध्ये ८ वटा मात्र चालु अवस्थामा छन् । बाँकी १० वटा जहाज तथा हेलिकप्टर ग्राउन्डेड छन् । ग्राउन्डेडमध्ये ५ वटा साधारण मर्मतसम्हार गरे हुने खालका छन् । बाँकी पाँचवटाको भने सामान्य मर्मत सम्हारले नहुने खालका छन् ।

यसैबीच गतसाता नेपाल भ्रमणमा आएका अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्माले नेपाली सेनालाई दुईवटा जहाज (स्काई ट्रक) र दुईवटा वेल हेलिकोप्टर दिने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा ती जहाज र हेलिकोप्टर विपद् प्रतिकार्यका लागि अनुदान सहयोग स्वरुप नेपाली सेनालाई उपलब्ध गराउने बताएका थिए । ‘फरेन मिलिटरी फाइनान्स’ अन्तर्गत १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ३८ करोड रुपैयाँ) बराबरको जहाज तथा हेलिकोप्टर नेपाललाई अमेरिकाले उपलब्ध गराउन लागेको हो ।

माओवादी सशस्त्र संघर्ष चर्किएपछि सन् २००२ मा माओवादी दबाउन अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक दिने प्रतिबद्धता जनाएको थियो ।  सन् २००२ मा गरेको प्रतिवद्धता पूरा नगर्दै अमेरिकाले सन् २०१५ मा नेपालाई थप दुईवटा स्काई ट्रक उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो ।

सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि अमेरिकाले पहिले गरेको प्रतिवद्धतामा दुई जहाज थप गरी चारवटा स्काई ट्रक नेपाली सेनालाई उपलब्ध गर्ने प्रतिवद्धता जनाएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि विपद् प्रतिकार्यका लागि भन्दै स्काई ट्रक दिने प्रतिवद्धता अमेरिकाले गरेको थियो । 

सन् २०१९ को जनवरीमा अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका तत्कालीन कमाण्डर एड्मीरल फिलिप एस. डेभिड्सनले नेपाल भ्रमण गरेका थिए । 

त्यही बेला नेपालले १७ वर्ष पुरानो प्रतिवद्धता सम्झाएको थियो । त्यसपछि उनले प्रक्रिया अघि बढाउन मद्दत गरेका थिए । 

प्रक्रिया अघि बढेपछि सन् २०१९ मा अमेरिकाले नेपाली सेनालाई दुईवटा स्काई ट्रक उपलब्ध गरेको थियो । अमेरिकाले सन् २००२ र २०१५ मा प्रतिवद्धता गरेका चारवटा स्काई ट्रकमध्ये नेपाली सेनाले हालसम्म दुईवटा मात्र प्राप्त गरेको छ । दुईवटा प्राप्त गरेको छैन । 

प्राप्त हुन बाँकी दुईवटा स्काई ट्रक र थप दुईवटा वेल हेलिकोप्टर दिने निर्णय अमेरिकाले गरेको गत साता नेपाल भ्रमणमा रहेका बेला अमेरिकी व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री वर्माले जानकारी गराएका हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu