site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विस्फोटको जोखिम सूचीमा नभएको हिमताल यसकारण फुट्यो
हिमताल फुटेपछिको दृश्य ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गएको शुक्रबार (साउन ३२) सोलुखुम्बुको थामेखोलामा अचानक आएको बाढीले थामेगाउँ तहसनहस पार्‍यो । करिब चार हजार मिटर उचाइको यो बस्तीमा पसेको बाढीले विद्यालय, घर, होटेल स्वास्थ्यचौकी बगायो ।

थामेमा एक्कासि आएको बाढीले १३ घर पूर्ण रूपमा क्षतिग्रस्त भयो । एउटा विद्यालय, एउटा स्वास्थ्य क्लिनिक बगायो । खुम्बु बिजुली कम्पनीको ड्याम क्षतिग्रस्त हुँदा विद्युत् उत्पादन समेत बन्द भयो ।

सामान्यतया तराई र पहाडी क्षेत्रमा बाढीको प्रकोप बढ्ता देखिन्थ्यो । तर, पछिल्ला वर्षहरूमा हिमाली क्षेत्रमा अचानक बाढी आउने (फ्ल्यास फ्ल्ड)क्रम बढेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

०८० साउनमा मुस्ताङको कागखोलामा आएको बाढीले कागबेनी बजार डुबायो । बाढीले कागबेनीका ३० भन्दा बढी घरमा क्षति गर्‍यो ।

कागबेनी डुबाउने गरी बाढी आउनुको मुख्य कारण थियो, हिमालपारिको जिल्ला मुस्ताङमा पानी पर्नु । बाढी आउनुअगाडि कागबेनीमा २५ मिलिमिटर पानी परेको थियो । मुस्ताङ विरलै पानी पर्ने जिल्ला हो । २५ मिलिमिटर पानी पर्नु नै त्यहाँ बाढीको कारण बन्यो ।

Royal Enfield Island Ad

०७८ जेठ अन्तिम साता हिमालपारिकै अर्को जिल्ला मनाङको चामे बाढीको चपेटामा पर्‍यो । बाढीले करोडौँ रुपैयाँबराबरको धनमाल क्षति भयो । 

०७८ असारमा सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा आएको बाढीपहिरोले मेलम्ची बजारसँगै मेलम्ची खानेपानी आयोजनाको मुहान ध्वस्त पार्‍यो । यो बाढीमा परेर ११ जनाले ज्यान गुमाए भने २५ जना बेपत्ता भए ।

सामान्यतः हिमपहिरो, हिमपात हिमाली क्षेत्रका प्राकृतिक विपत्ति मानिन्छन् । तर, पछिल्ला केही वर्षयता हिमाली क्षेत्रमा बाढीका घटना दोहोरिइरहेको छ । हिउँ पर्ने हिमाली क्षेत्रमा घनघोर वर्षा भइरहेको छ ।

विज्ञका अनुसार, हिमाली क्षेत्रमा बर्सेनि बाढीका घटना दोहोरिनुले उक्त भेगको जलवायुमा परिवर्तन भएको संकेत गर्छ । अर्थात्, नेपाल जलवायु परिवर्तनको चपेटामा परिसक्यो ।

हिमताल विस्फोट भएर आएको थामेको बाढीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जलवायु परिवर्तनको असर भनेर अर्थ्याएको छ ।

जानकारहरूका अनुसार, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा तीन प्रभाव परेको छ । पहिलो, औसतभन्दा धेरै पानी पर्न थालेको छ । दोस्रो, तापक्रम बढेको छ । तापक्रम बढ्दा हिउँ र हिमनदी पग्लेर ताल बन्छ । हिमनदी र हिउँले बलियो गरी छोपेर राखेको खुकुलो माटोमा पानी परेपछि त्यसले आफ्नो ठाउँ छाड्छ ।

“यसरी त्यो माटो वा गेग्य्रानले पहिरोको रूप लिन्छ । कहिलेकाहीँ यो पहिरोमा हिउँका चट्टान पनि मिसिन्छन्,” वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का विज्ञ सदस्य डा. विमल रेग्मी भन्छन्, “यसरी बगेर आएको गेग्य्रानको भार नयाँ बनेका हिमतालले धान्न सक्दैन र ती फुट्छन् ।”

प्रारम्भिक अध्ययनानुसार, थामे बाढीको कारण पनि हिमताल फुट्नु नै हो । प्राधिकरणका अनुसार, थामेको सिरानस्थित पाँचमध्ये दुई हिमताल विस्फोट हुँदा त्यसले बाढीको रूप लियो ।

“प्रारम्भिक जानकारीबाट थामेखोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा रहेका पाँचवटा हिमतालमध्ये सबैभन्दा माथि रहेको ताल फुटेर त्यसको पानी तल रहेको अर्को तालमा खसेको र उक्त ताल पनि फुट्दा शृंखलाबद्ध प्रभाव परेको देखिन्छ,” प्राधिकरणले भनेको छ ।

हिमताल विस्फोट हुने अवस्था कसरी आयो त ?
जल तथा मौसम विज्ञान विभागका अनुसार, हिमतालहरू रहेको थामेको सिरान क्षेत्रमा साउन ३२ भन्दा अगाडि सात दिनमा कुल ६५ मिलिमिटर वर्षा भएको थियो । एकातिर वर्षा भयो भने अर्कोतिर तापक्रम पनि बढ्यो । विभागका अनुसार, बाढी आउने अघिल्लो दिन त्यस क्षेत्रको औसत तापक्रम करिब १६ डिग्री सेल्सियस थियो । निरन्तरको वर्षा र तापक्रम वृद्धिको नतिजा हिमताल विस्फोट हुन पुग्यो ।

प्राधिकरणले भनेको छ, “जलवायु परिवर्तनको प्रभाव समेत जोडिई भएको तापक्रम वृद्धि, बढ्दो वर्षा, पर्माफ्रोस्ट, ग्लेसियर पग्लँदा थामेखोलाको जलाधारमा हिमताल विस्फोट भएको देखिन्छ ।”

त्यसो भए हिमाली क्षेत्रमा हुने थोरै वर्षाले पनि किन बाढीको रूप लिन्छ ?
वातावरण अध्यता तथा संरक्षणकर्ता रोशन शेरचन भन्छन्, “हिमाली क्षेत्रमा माटोभन्दा बढी गेग्य्रान हुन्छ । त्यहाँको भू–बनोट निकै भिरालो हुन्छ । हिउँले गेग्य्रानसहितको माटो समातेर राखेको हुन्छ । यस्तोमा हिउँ पग्लिएर त्यो माटोमा पानी छिरेपछि अत्यधिक भिरालोपनका कारण त्यो माटो एक्कासि खस्छ र त्यसले बाढीको रूप लिन्छ ।”

नेपालका कोसी, गण्डकी कर्णालीलगायत मुख्य नदीको उत्पत्ति हिमाली क्षेत्रबाटै भएको छ । त्यसैले मुहानमै बाढी आउँदा त्यसले नदीको बहाव क्षेत्रभरि असर पुर्‍याउँछ ।

विभागका वरिष्ठ मौसमविद् तथा जलवायु परिवर्तन अध्येता डा. इन्दिरा कँडेलका अनुसार, भिरालो जमिन र खुकुलो माटो हुने हिमाली क्षेत्रमा थोरै वर्षा हुँदा पनि त्यसले बाढी निम्त्याउँछ ।

उनी भन्छिन्, “हिमाली क्षेत्रको बाढी नियालेर हेर्‍यो भने त्यहाँ पानीभन्दा बढी ढुंगा, माटो र गेग्य्रान हुन्छ । हिमाली क्षेत्रको खुकुलो माटो थोरै पानी पर्दा पनि बग्छ । त्यसमाथि त्यहाँको भूगोल निकै भिरालो हुन्छ, जसले गर्दा बाढीको गति (बहाव) बढाउँछ ।”

यही कारणले गर्दा हिमाली क्षेत्रको बाढी विनाशकारी हुन पुग्छ । शेरचन भन्छन्, “यही कारणले गर्दा हिमाली क्षेत्रको बाढी तराई, पहाडको जस्तो नभई फ्ल्यास फ्ल्ड हुन्छ ।”

हिमाली क्षेत्रमा वर्षाको शैली परिवर्तन भइरहेको डा. कँडेल बताउँछिन् । उनी भन्छिन्, “यो परिवर्तित प्यार्टनले गर्दा हिमाली क्षेत्रमा हिउँ पग्लिने, हिमताल बढ्ने र थोरै पानी पर्दा पनि बाढीपहिरोको जोखिम बढाएको छ ।”

‘नेटफ्ल्क्सि’ले तयार पारेको ‘आवर प्लानेट’ वृत्तचित्र शृखंलामा पोस्टड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्टका अनुसन्धान निर्देशक जोन रकस्ट्रम भन्छन्, “लाखौँ वर्षअगाडि पृथ्वीको मौसममा स्थिरता देखिएपछि हामीले ऋतुहरू थाहा पायौँ । ऋतुको चक्र थाहा पाएसँगै हामीले निश्चित समयमा पानी पर्छ भन्ने थाह पायौँ । निश्चित समयमा जाडो हुन्छ, हिउँ पर्छ र गर्मी हुन्छ भन्ने चाल पायौँ । हामीले घाम, पानी र हिउँको चक्र थाह पायौँ ।”

तर, जलवायु परिवर्तनले मौसमको यो चक्र बिथोलिरहेको छ । तात्दै गएको पृथ्वीको मौसमी चक्र बिथोलिएसँगै पहिलेजस्तो सहजै मौसम अनुमान गर्न मुस्किल भएको छ । वैज्ञानिकहरूका अनुसार, तापक्रम बढेकै कारण पानीको मुख्य स्रोत मानिने हिउँ पृथ्वीबाट ४० प्रतिशतले घटेको छ । पृथ्वीका धमनी र नसा भनिने नदी, तालहरू सुक्खा हुँदै गएका छन् । हिउँको आद्र्रताले ढाकेको जमिन उदांगिएकै कारण नेपालजस्ता हिमाली भू–भागमा हिमपहिरो, हिमताल विस्फोटन र फ्याल्स फ्ल्डको जोखिम बढिरहेको डा. रेग्मी बताउँछन् ।

विश्वको औसत तापक्रमको तुलनामा नेपालको हिमाली क्षेत्रमा तापक्रम धेरै छिटो बढिरहेको छ । सन् २०२० को एउटा अध्ययनानुसार, नेपालको औसत वार्षिक तापक्रम ०.०६ डिग्री सेल्सियले बढिरहेको छ । डा. रेग्मीका अनुसार, नेपालको औसत तापक्रम वृद्धि ०.०६ डिग्री सेल्सियस छ । तर, यसले हिमाली क्षेत्रमा १ डिग्री सेल्सियस तापक्रम वृद्धि गरिरहेको छ । यो बढ्दो तापक्रमले हिउँ पग्लँदा नेपालमा हिमतालको संख्या पनि बढिरहेको छ । कतिपय अध्ययनले हिमाली क्षेत्रको तापक्रम वार्षिक १.८ डिग्री सेल्सियसले बढिरहेको देखाउँछ ।

थामे हिमताल विस्फोटको अवलोकन गरेर फर्किएका प्राधिकरणका निर्देशक अनिल पोखरेल आफूले थामे क्षेत्रमा गर्मी महसुस गरेको सुनाउँछन् । उनी भन्छन्, “हिमाली क्षेत्रमा जाडो होला भनेर हामी ज्याकेट लगाएर गएका थियौँ । तर, अचम्म ! त्यहाँ गर्मी थियो । हामीले ज्याकेट फुकाल्नुपर्‍यो ।”

आफ्नो अनुभव सुनाउँदै पोखरेल भन्छन्, “हिमाली क्षेत्रमा तापक्रम बढेको तथ्यांक र अनुभव दुवैले देखाएको छ ।”

उनका अनुसार, मनाङ, मुस्ताङ, मेलम्ची र थामेको बाढी जलवायु परिवर्तनले निम्त्याएका घटना हुन् ।

हिन्दकुश हिमालय क्षेत्रमा बर्सेनि हिउँ पग्लने क्रम बढेको छ । हिन्दकुश हिमालय क्षेत्रको अध्ययन, अनुसन्धान गर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार, बर्सेनि यस क्षेत्रका हिमनदीहरू पग्लने क्रम बढेको छ । इसिमोडले सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनानुसार, हिमनदी र हिउँ पग्लिएका कारण नेपालमा २१ हिमताल विस्फोटको जोखिममा छन् ।

इसिमोडको अध्ययनानुसार, नेपालमा रहेका दुई हजारभन्दा बढी हिमतालमध्ये २१ वटा विस्फोटको जोखिममा छन् । जोखिममा रहेका २१ हिमतालमध्ये १८ वटा कोसी बेसिन क्षेत्रमा पर्छन् ।

थामेमा विस्फोट भएको हिमताल पनि कोसी बेसिन क्षेत्रकै हो । प्राधिकरणका निर्देशक पोखरेलका अनुसार, थामेमा विस्फोट भएको हिमताल जोखिमको सूचीमा थिएन ।

“त्यो हिमताल विस्फोटको जोखिम सूचीमा थिएन,” उनी भन्छन्, “तर, त्यहाँ अचानक परेको पानी र बढेको गर्मीले ताल विस्फोट गरायो ।”

अनुमान गर्न नसकिने मौसम र त्यसले निम्त्याउने अप्रत्याशित विपद् नै जलवायु परितर्वनको एउटा सूचक हो ।

इसिमोडका अनुसार, नेपालमा पहिलोपटक सन् १९८५ मा डिग चो हिमताल विस्फोट भएको थियो । त्यसपछि तमोर बेसिनमा पर्ने नागम हिमताल १९८० मा विस्फोट भएको थियो । १९९८ मा दूधकोसी बेसिनको ताम हिमताल विस्फोट भएको थियो । विस्फोटको खतरा बढेपछि यसअगाडि इम्जा र च्छो रोल्पा हिमतालको पानी घटाइएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro