काठमाडौं । भ्रष्टाचारको आरोप लागेका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालसँग ५० हजार रुपैयाँ धरौटीमा मागिएको छ ।
आइतबार विशेष अदालतमा भएको थुनछेक बहसपछि उनीसँग ५० हजार रुपैयाँ धरौटी मागिएको उनका कानुन व्यवसायी ललित बस्नेतले जानकारी दिए ।
अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
मुख्यसचिव हुँदा नै अर्यालमाथि भ्रष्टाचार मुद्दा दायर भएको हो । मुद्दा पर्नेमा उनीसँगै तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल, गणेशविक्रम साह, विष्णुप्रसाद गौतम, हरिबल्लभ घिमिरे, केशव शर्मालगायत छन् ।
उनीहरूविरुद्ध ३८ करोड ६७ लाख १७ हजार बिगो मागदाबी गरिएको छ ।