site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक साँझ सियर्सको सिरानमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

शिकागो आर्ट इन्स्टिच्युटदेखि सियर्स टावरसम्म हामी फुटपाथै फुटपाथ हिँड्दै हिँड्दै पुगेका थियौँ । त्यहाँसम्म पुग्न हामीलाई आधा घण्टा लागेको थियो । यसअघि हामी शिकागोका अनेकौँ व्यस्त फुटपाथमा लम्केर, विशाल लेक मेचिनको मोहक किनार टहलिएर र शिकागो आर्ट इन्स्टिच्युटका पचासौँ  ग्यालरी चहारेर थाकिसकेका थियौँ ।

बिहान एउटा फास्टफुड सपमा चिज वर्गर र कफी पेटस्थ गरेर घुम्न सुरु गरेका थियौँ । त्यसपछि  हाम्रो पेटमा पानीको तुर्कोसम्म पनि परेको थिएन ।

त्यसकारण मेरी पत्नी मीनाले तेह्र÷तेह्र डलर प्रतिव्यक्ति शुल्क लाग्ने त्यो भवन हेर्न नलाग्न मलाई मनाउन खोज्दै भन्या भन्यै थिइन्, ‘यो जाबो घर हेर्न छब्बिस डलर खर्च गर्नुभन्दा एउटा रेस्टुरेन्टमा पसेर टन्न अघाउनु राम्रो ।’

KFC Island Ad
Dabur Nepal
NIC Asia

अघाउनु त राम्रो हो, कुरो ठिक थियो । तर, मेरो उत्सुकताले यसलाई स्वीकारेन । म मीनाको यो फतफतपूर्ण सल्लाह सुन्या नसुनेझैँको मुद्रामा  टिकट काट्न लागिरहेका लामो पंक्तिको पछिल्लो व्यक्ति हुन पुगेको थिएँ ।

पन्ध्र–सोह्र मिनेटसम्म त्यस लाममा उभिएर सुस्तसुस्त सर्दै टिकट काउन्टरमा पुगेर दुई टिकटको लागि कुल छब्बिस डलर स्वाहा पारेँ । त्यसपछि आआफ्नो टिकट मुट्ठ्याएर हामी बुढाबुढी सुरक्षा जाँचको पंक्तितिर लाग्यौँ । त्यहाँ  पनि पाँच–छ मिनेट पंक्तिबद्ध भएर कुर्दै अगाडि सर्दै गएपछि हाम्रो झोलीतुम्बा र शरीरमा नलुकाएको हातहतियार र बमको जाँच गरियो ।

Royal Enfield Island Ad

हामीसँग त्यस्तो केही रहेन छ । यो उनीहरूले थाहा पाएको कुरो थियो ।  त्यसकारण हामी सुरक्षा जाँचबाट पास भयौँ । त्यसपछि एउटी महिला सुरक्षा अधिकारीको स्कर्टिङमा हामीलाई भवनभित्रको एउटा सानो थिएटरभित्र हुलियो । दर्शकको लागि थिएटरमा राखिएका सबै कुर्सी टिकट साथमा लिएर आउनेहरूले भरिएपछि थिएटरको अन्तरकुन्तरसम्मका सारा बत्ती निभाइयो ।

हाम्रो सामुन्नेको पर्दा उज्यालियो । त्यसमा सियर्स टावरको निर्माणको रोचक इतिहास र त्यसको भौतिक तथ्य र स्वरूपको बखान गरिएको डकुमेन्ट्री देखाउन थालियो ।

भुइँ तलादेखि छतको सुइरे टुप्पोसम्म गरी चार सय बयालिस मिटरको एकचालिस लाख स्क्वायर मिटर भूमिमा खडा भएको एक सय दशतले सियर्स टावर अमेरिकाभरि फैलिएको सियर्स कर्पोरेट खुद्रा व्यापार प्रतिष्ठानको मुख्यालय राख्ने उद्देश्यले बनाइएको रहेछ ।

सन् १९७० मा सुरु गरेर १९७३ मा निर्माण सम्पन्न गरिएको कुनै समय धर्तीकै अग्लो मानिएको त्यो गगोन्मुखी दैत्य भवन हेर्न हरेक वर्ष पन्ध्र लाख मानिसको ओइरो लाग्ने सुनियो । यो कुरो मान्ने हो भने भन्नैपर्‍यो– हामी पनि त्यही पन्ध्र लाख वा त्योभन्दा सम्भावित बढी संख्याको आँकडा पुर्‍याउन त्यहाँ पुगेका थियौँ ।

वजनको हिसाबले दुई लाख तेइस हजार मेट्रिक टन भार भएको त्यस दैत्य भवनको सञ्चार व्यवस्थाको लागि ओछ्याइएको तार मात्र सत्तरीभन्दा बढी किलोमिटरजतिको हुने रहेछ नापमा ।

त्यस्तै, प्रकाश व्यवस्थाको लागि एक हजार पाँच सय माइलबराबरको हुनेजतिको बिजुलीका तार ओछ्याइएको रहेछ । ढल निकास, धारापानी र मलमूत्र निकासको लागि भनेर ओछ्याइएको प्लम्बिङका पाइपहरू नै पच्चिस माइलजतिको नापिने रहेछ । डकुमेन्ट्रीको पार्श्ववाचक सियर्स टावरबारे यस्तैयस्तै थुप्रै आश्चर्य लाग्ने भौतिक संरचनागत विवरण सुनाइरहेको थियो ।

टावरबारेको यो बखान डकुमेन्ट्री बीस मिनेट देखाइएको थियो । त्यसपछि  सबलाई थिएटरबाट बाहिर निकालियो र क्रमशः एउटा ढ्वाङे  एलिभेटरभित्र हुलका हुल पसालियो । अत्यन्त शक्तिशाली त्यस एलिभेटरले चालु भएको सवा मिनेटभित्र हामीलाई हाम्रो लक्षको टुप्पो भवनको स्काइडेकमा हुत्तै पुर्‍यायो । हामीलाई त्यसको गतिको पत्तै हुन पाएन । एकाएक एलिभेटरको ढोका खुलेपछि हामी गन्तव्यको उचाइमा पुग्यौँ भन्ने थाहा भयो ।

अब हाम्रो पाइला स्काइडेकमा भीडसँगै ठेलिँदै बढ्न थाल्यो । जीवनकै  पहिलोपटक हामी कुनै भवनको त्यस्तो उचाइमा पुगेका थियौँ । त्यसकारण स्वभावतः हाम्रो मन, मुहार अत्यन्त पुलकित र  रोमाञ्चित भयो नै । त्यहाँ चढेका सब सहयात्रीका अनुहार र आँखाहरू उस्तै चम्किएका, उज्यालिएका थिए ।

सियर्सको स्काइडेक स्वभावतः सिसाबन्द थियो । सिसाबन्द त्यो अवलोकन कक्षबाट चारैतिर हेर्ने जोकोही पनि पुलिकत, आह्लादित हुन्छन् । त्यो उचाइबाट तल देखिएको दृश्यले हामी अझ चमत्कृत भएका थियौँ ।

भौतिक स्वरूपको त्यस्तो उचाइमा पुग्नुको आनन्दमय त्यस क्षण हामीलाई त्यहाँ पुग्न तेह्र÷तेह्र डलर तिरेर बिलकुल ठिक गरिएछ भन्ने लाग्दै थियो । हामी भोक बिर्सिएर त्यहाँ रमाउन थालेका थियौँ । हामीलाई आकाशमा उभिएको भान भइरहेको थियो । हामी त्यो उचाइबाट विख्यात अमेरिकी कविहरू कार्ल स्यान्डबर्ग, रिचार्ड राइट, जेराल्डिन ब्रुक्स, सेल शिलभर्स्टाइन, जमिला उडको सुन्दर शिकागो महानगरका हिँडेर नसकिने केस्राकेस्रा देख्न थालेका थियौँ ।

कुनै पनि सहरबस्तीको आयतन, विस्तार हेर्न त्यस वरिपरिको कुनै पहाड वा टावरको उचाइमा जानुपर्छ, अनि थाहा हुन्छ त्यसको विस्तार सुन्दर छ वा कुरूप भन्ने । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, गोपालप्रसाद रिमाल, लेखनाथ पौड्याल, चित्तधर हृदय, धुस्वाँ सायमी, भीमनिधि तिवारी, सिद्धिचरण श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ, मोहन कोइराला, दुर्गालाल श्रेष्ठ, नारायणगोपाल गुरुवाचार्यजस्ता प्रख्यात गायक, कविहरूको कुनै समयको हराभरा काठमाडौँ स्वयम्भूनाथको उचाइबाट हेर्दा अत्यन्त सुन्दर देखिन्थ्यो ।

अहिले त्यस्तै कुनै उचाइबाट हेर्दा काठमाडौं त्यस्तो देखिने छैन जस्तो ती पुराना आँखाहरूले देख्ने गर्थे । किनभने, अब स्वयम्भूनाथबाट देखिने काठमाडौं ठेलमठेलमा ठडिएका घरहरूको कुरूप सघन विस्तार मात्र देखिन्छ । स्वयम्भूनाथको आफ्नै प्राकृतिक स्वरूप पनि पहिलेझैँ शान्त, सुन्दर, खुला  स्वच्छ र बुद्धप्रिय छैन । जुन रूप र उचाइको टावर बनाएर हेरे पनि अब काठमाडौं हराभरा, सुन्दर देखिने छैन ।

काठमाडौं सुन्दर बनाउन मन र धनको एउटा सहासिलो बुलडोजर चाहिन्छ । वाग्मती, विष्णुमतीलगायत खोलाहरूमा यिनको मुहानबाट बगेस्वरूपको सङ्लो, स्वच्छ पानी पुनः बग्न थालेको हुनुपर्छ । अनि, देवलोकबाट देवताहरू पूर्ववत् जलसेचन गर्न वाग्मतीमा झर्नेछन् । कुनै बुद्ध जलस्नान गर्न आफ्ना तपस्वी साधक चेलाहरूसहित विष्णुमतीमा रोकिनेछन् । अहिले त काठमाडौं यस्ता सम्भावनाहरूको ढोका बन्द गरेर कुरूप विकासको अनुकरण गर्दै अँध्यारोमा मस्त छ ।

विश्वमा सबभन्दा पहिलो स्टील फ्रेमको दैत्य भवन निर्माणको सूत्रपात गर्ने मानिएको शिकागो महानगर बहुतले गगनचुम्बी भवन निर्माणको जन्मदाता पनि हो । धेरै पक्षमा आधुनिकताको जननी मानिएको शिकागोबाट आधुनिक कविताको प्रवर्तक र कल्पनावादको प्रश्रयमा लागेकी कवयित्री हेरियत मुनरोले सन् उन्नाइस सय बाह्रमा विश्वविख्यात कविताप्रधान पत्रिका ‘पोयट्री’को प्रकाशन सुरु गरेकी थिइन् ।

आधुनिक कविता र आधुनिक कविहरूको प्लेटफर्म बनेको पोयट्री पत्रिकामा आधुनिक कविताको स्तम्भ र आधिकारिक व्याख्याता एज्रा पाउन्ड, टीएस इलियट, मेरलिन मुनरो, वालेस स्टभेन्न, विलिय कार्लोस विलिय, ईई कमिङ, कार्ल स्यान्डवर्ग आदि कविहरू खुब छापिन्थे । वास्तवमा अमेरिकी आधुनिक कविताको स्वरूप र दर्शन निर्माणमा पोयट्री पत्रिकाले प्रमुख भूमिका निभाएको थियो ।

आज पनि आफ्नो एक सय बाह्रवर्षे परिपक्व उमेर बोकेर पोयट्री पत्रिका निर्बाध प्रकाशित भइरहेको छ । पोयट्री पत्रिकाको प्रकाशन थलो भएकोले शिकागोलाई आधुनिक कविताको सूत्रपात गर्ने सहर पनि मानिन्छ ।

काठमाडौंको न्युरोडस्थित तत्कालीन अमेरिकी पुस्तकालय धाउन थालेदेखिको गणना गर्ने हो भने म पनि पोयट्री पत्रिकाको दशकौँ पुरानो नियमित पाठक हुँ । नियमित किनभने अहिले यता अमेरिकामा पनि म पोयट्रीका अंकहरू नियमित पढ्दै छु । अमेरिकी कविमाझ शिकागो र पोयट्री पत्रिका पर्यायवाचीझैँ भएको छ ।

शिकागो भन्नेबित्तिकै उनीहरू पोयट्री पत्रिकाको स्मरण गरिहाल्छन् । हजारौँ अमेरिकी नयाँ कविहरू पोयट्री पत्रिकामा छापिने सपना देख्छन् । स्थापित कविहरू पनि त्यसमा छापिन महिनौँ, वर्षौँ पालो पर्खन्छन् । अहिले पनि यो अमेरिकी कविहरूको ‘ड्रिम म्यागजिन’ हो, जसरी कुनै बेला हाम्रो ‘शारदा’, ‘रुपरेखा’, ‘प्रगति’, ‘रचना’, ‘मधुपर्क, ‘गरिमा’ समकालीन साहित्य हुने गर्थ्यो ।

अहिले पोयट्री पत्रिका पोयट्री फाउन्डेसनमार्फत प्रकाशित हुन्छ । यो फाउन्डेसन  स्थापनाको लागि एक अत्यन्त धनाढ्य अमेरिकी फिलान्थ्रोपिस्ट महिला लिली रुथले ठूलो आर्थिक सहयोग गरेकी थिइन् । त्यही फाउन्डेसनमार्फत पोयट्री पनि मासिक रूपमा नियमित प्रकाशित भइरहेको छ ।

लिली रुथले कविताको उन्नति, विकास र पोयट्री पत्रिकाको निरन्तर प्रकाशन व्यवस्थाको लागि भनेर पोयट्री फाउन्डेसनलाई दिएको एक सय मिलियन डलरभन्दा बढीको सम्पत्तिको दानको समाचार विश्वसाहित्यजगत्को लागि एक अपूर्व घटना भएको थियो । अमेरिकी साहित्यजगत्मा यो दानले हल्लीखल्ली मच्चाएको थियो । त्यसले सकारात्मक र नकारात्मक टीकाटिप्पणीको ओइरो व्यहोरेको थियो ।

पोयट्री फाउन्डेसनले लिली रुथको नाममा सालाना कुनै एक कविलाई एक लाख डलर राशिको पुरस्कार पनि दिने गरेको छ । सालाना दिइने यत्तिको ठूलो धनराशिको साहित्यिक पुरस्कार अमेरिकामा अहिलेसम्म अर्को स्थापित भएको छैन । त्यसकारण लिली रुथ पुरस्कारलाई साहित्यकारहरू कविताको नोबेल पुरस्कार भन्ने गर्छन् ।

म सियर्स टावरको स्काइडेकमा राखिएको एक क्वाटर (एक सुका) छिराउनुपर्ने दूरबिनबाट माउन्ट मोरिसस्थित पोयट्री पत्रिकाको त्यही कार्यालय भवन चिन्ने कोसिस गर्दै थिएँ । एक कवि र कविताप्रेमी हुनुको हार्दिक नाताले पोयट्री पत्रिकाको त्यो कार्यालय मेरो तीर्थस्थल हो ।

त्यहीँ पुगेर पोयट्री फाउन्डेसन र पोयट्री पत्रिकाको कार्यालय हेर्ने मेरो तीव्र इच्छा थियो । तर, शिकागो आर्ट इन्स्टिच्युटका पचासौँ ग्यालरीहरूमा झुन्ड्याइएका विश्वप्रसिद्ध कलाकारहरूका चित्रहरू घोरिँदै हेर्दै घुम्दा पाँच बजाइसकिएछ ।

वास्तवमा हामी फ्रेन्च कलाकार सेजाँ, बोन्नार्ड, म्यात्से डिटेन र पिकासोका उद्भुत चित्रहरूको प्रदर्शन भइरहेको ग्यालरीबाट बाहिर निस्कँदा पाँच बजिसकेको थियो । त्यस समयसम्ममा बन्द भइसक्ने माउन्ट मोरिसस्थित पोयट्रीको कार्यालयमा पुग्न सकिएन । यसैको थैथै बोक्दै म मीनालाई कर गर्दै सियर्स टावरतिर सोझिएको थिएँ ।

हामी शिकागोको त्यो कालो अजंगको सियर्स टावरको दैत्यद्वारमा पुग्दा पौने छ बजिसकेको थियो । समय र दाम खर्चिने त्यस्तो प्रक्रिया पूरा गर्दागर्दा हामी माथि स्काइडेकमा पुग्दा साढे छ बजिसकेको थियो । तर, सूर्यको प्रकाश मार्चको अमेरिकी आकाशमा रक्तिम हुन बाँकी नै थियो । गगनचुम्बी अत्याधुनिक भवनहरूले भरिएको शिकागो महानगरमा बिजुलीको रंगीन चमकको जोड चल्ने बेला भइसकेको थिएन ।

हामी स्काइडेकबाट पूर्वतिर देखिने सयौँ किलोमिटर पर इन्डियाना, मेचिगन, विस्कन्सिन राज्यसम्म विस्तारित सामुद्रिक स्वरूपको लेक मेचिगन अर्थात् मेचिगन तालको कञ्चन निलो जलराशिमाथि गति लिइरहेका जहाज र यन्त्रडुंगाहरूको देखिने भंगेरे रूप मुग्ध हरिरहेका थियौँ ।

वास्तवमा लेक मेचिगन शिकागोको अद्भुत प्राकृतिक जलशृंगार हो । यो नभएको भए शिकागो महानगर आधुनिक गगनचुम्बी भवनहरूको रुखो वन मात्र मानिने थियो । यद्यपि, मध्यमहानगर हुँदै बग्ने शिकागो रिभरले पनि शिकागोलाई शुष्क सहर हुनबाट जोगाएको छ । तर, सामुद्रिक विस्तार पाएको कञ्चन स्वरूपको सुन्दर मेचिगन ताल (लेक मेचिगन)को अगाडि धमिलो देखिने शिकागो रिभर हामीलाई निरीह र स्पदनहीन लागेको थियो ।

लेक मेचिगन अर्थात् मेचिगन ताल नहुँदो हो त शिकागो रिभर नै शिकागो महानगरको गौरव हुने थियो । भावनात्मक रूपमा हामी स्काइडेकबाट लेक मेचिगन र शिकागो रिभरको तुलनात्मक दृष्टिको आनन्द लिइरहेका थियौँ । 
तल भूमिदेखि चार सय बयालिस मिटरभन्दा माथि रहेको सियर्स टावरको स्काइडेकमा हामी आकाशबाट सूर्यको अन्तिम लालिमा विलीन नहुन्जेलसम्म चहारिरहेका थियौँ । विशेषतः त्यहाँबाट देखिने शिकागो महानगरका बहुतले गगनोन्मुखी भवन र गुच्चाजस्ता देखिने सडकमा गुडिरहेका वाहनहरू हेर्नुको रमाइलोमा थियौँ हामी ।

थियटर, प्रदर्शन कक्ष, फास्टफुड सप, सोभिनियरका स्टलहरूले भरिएको र यात्रुहरूको निरन्तर खचाखचको ओइरो व्यहोरिरहने सियर्स टावरको स्काइडेक  एउटा मेलामयस्थलजस्तो देखिन्थ्यो । त्यस सन्ध्यामा पनि त्यहाँ डेढदुई  सयजति पर्यटकको उत्सुक घुइँचो थियो । त्यस्तो घुइँचोले स्काइडेक झन् रमणीय र जीवन्त बनिरहेको थियो । त्यसको हरएक कुनामा परस्पर अँगालिएर चुम्बनमा लिप्त भइरहेका युवायुवतीको जोडी पनि थुप्रै थिए । त्यस्तो रम्य कर्ममा समलिंगी जोडी पनि त्यस्तै व्यस्त थिए ।

हामी पश्चिम आकाशमा छाएको लालिमा निथ्रिएपछि स्काइडेकबाट तल धर्ती झर्ने एलिभेटरभित्र पसेका थियौँ । चाह त स्काइडेकबाट रात्रिकालीन शिकागोको चमक हेर्ने थियो । तर, त्यो कसैको लागि पनि सम्भव थिएन । स्काइडेक रातले पूर्ण विस्तार नपाउँदै बाँकी–बक्यौता यात्रुहरूलाई धपाउने शैलीमा बिदा गर्दै पूर्ण खाली भएर बन्द भइसक्दो रहेछ ।

कुनै पनि यात्राबाट सम्पूर्ण तृप्ति प्राप्त गर्न सकिन्न । यात्रा सम्पूर्णताको चाहको लागि गरिन्न पनि । यात्राको स्मृतिमा अतृप्ति नै सुखद कोसेली बनेर बसेको हुन्छ । अतृप्तिले नै यात्रा गराइरहन्छ । अतृप्त जो छ त्यसको यात्रा जारी रहन्छ ।                                     

(रचनाकाल : २०६४)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro