हजारौँ किलोमिटर परको मुलुक अस्ट्रेलिया । त्यसकै राजधानी क्यानबेरा । क्यानबेराको पनि बेल्कोनेनको एउटा आवासीय अपार्टमेन्टमा यतिखेर मेरा दिन बितिरहेको छ ।
यहाँ आएको आठदश दिन बितिसकेको छ । दुई महिना अझै बाँकी नै छ, यहाँ बस्न ।
छोरीज्वाइँ भन्दै छन्, ‘कति छिटो दिन बितेको, दश दिन त फ्यास्सै गइसकेछ !’
यस्तै रहेछ विदेशको बसाइ । सबै सुनाउँथे— हामीलाई दिन धेरै लाग्छ, छोराछोरीलाई कम । अहिले हामी (म र मेरी पत्नी) यही अनुभूत गरिरहेछौँ ।
सधैँ घुम्न निस्किने कुरो भएन । घुम्नेलाई फुर्सद भए पनि घुमाउनेलाई फुर्सद हुनुपर्यो ! त्यसैले यतिखेर टाइमपासको माध्यम भएको छ, नेटफ्लिक्स । उता आफूले हेर्ने गरेको युट्युबमा खोजेको चलचित्र नभेटिने, नेटफ्लिक्स आफ्नो पहुँचभन्दा बाहिर ।
नेटफ्लिक्सको पहुँचमा रहँदा अहिले हेर्न खोजेको तर उता हेर्न नपाएका चलचित्र फेला पारिरहेको छु ।
अपार्टमेन्टका तलाहरू चहार्ने क्रममै पाँचौँ तलामा एउटा सिनेमा हेर्ने कोठा देखेँ । घुम्ने क्रममा स्वीमिङ पुल, जिमखाना हुँदै त्यो सानो सिनेमा हलमा पुगेको थिएँ ।
केही सोफासेटहरू, केही मानिसहरू बस्न मिल्ने । भित्तामा अडिएको चहकिलो सेतो पर्दा । अनि, माथि झुन्डिएको प्रोजेक्टर ।
२७ तले त्यस भवनमा बस्नेहरूले हेर्न मन लागेको चलचित्र त्यही हल बुक गरेर हेर्दा रहेछन् । यसबारेमा छोरी सुनाउँदै थिई ।
एकछिन त्यो कालो कोठाले रगमग्यायो मलाई । र, सिधै धकेल्यो ४० वर्ष पछाडिको त्यो समयमा, जतिखेर म र मजस्ता सयौँले फुटबल खेल्ने चौरमा बसेर चलचित्र हेरेका थियौँ ।
०००
आज प्रविधिको विकासले अनेक एप्लिकेसन प्रयोगको लत लगाएको छ । त्यसैले घरी युट्युबमा चलचित्र खोज्न थालिन्छ त घरी नारायणगोपाल, तारादेवी, प्रेमध्वजसँगै रफी, लता, किशोरका गीत बजाएर प्रविधिमैत्री हुने प्रयास गरिँदै आएको छ ।
कम्प्युटर र ल्यापटप मात्रै नभएर अचेल हाते फोनमै पनि घण्टौँ चलचित्र हेरिरहेका भेटिन्छन्, मानिस । बसमै पनि चलचित्र हेर्ने गरेको देखेको छु । केटाकेटीले मात्र होइन, मेराजस्ता सेतै कपाल भएकाले पनि ।
कुरा गर्न बनेको एउटा सानो फोनमा अहिले चलचित्र हेर्न सकिन्छ ! तर, एउटा समय थियो, चलचित्र हेर्दा दुईदुईचोटि मध्यान्तर हुन्थ्यो । रिल काट्दा त्यसको संख्या तीनचारै पुग्थ्यो ।
पाँच तलामा रहेको त्यो सानो हलले हठात् सम्झना गराएको थियो, सिनेमा हल नभएको जलेश्वर । अनि, जलेश्वरकै फुटबल ग्राउन्डमा श्यामश्वेत नेपाली चलचित्र ‘मनको बाँध’ हेरेको त्यो क्षण ।
विस्मृतिमा थियो त्यो प्रसंग । सायद धेरैले बिर्सिसके होलान् । समय पनि त धेरै बितिसकेको छ ।
अचम्म, सिनेमा हलमा नभएर फुटबल ग्राउन्डमा चलचित्र ! तर, यथार्थ हो । किनभने, तिनताक जलेश्वरमा सिनेमा हल नै थिएन । त्यसबखत बिजुली बत्ती त थिएन भने सिनेमा हलको कल्पना कसरी गर्नु !
झकिझकाउ बजार, अनेकानेक सरकारी कार्यालयहरू भए पनि ‘आदर्श गाउँ पञ्चायत’ थियो जलेश्वर । अहिले नगरपालिका भइसकेको छ । त्यसो त २०३९/४० सालतिरै जलेश्वर नगरपञ्चायतमा परिणत भइसकेको हो ।
चलचित्र हेर्नु ठूलो सोखमा पर्दथ्यो । त्यसैले जनकपुर, जयनगर, सुरसन्ड, सीतामढीसम्म पुगेर हामी चलचित्र हेर्थ्यौँ । कहिले घरपरिवारका सदस्यहरूका साथमा त कहिले साथीभाइसँग । साथीभाइसँग सिनेमा हेर्न जाँदा भने लुकीछिपी जान्थ्यौँ, घरकाले थाहा नपाउने गरी ।
‘काला सोना’, ‘एक बाप छ बेटे’, ‘सत्यम शिवम सुन्दरम’, ‘आक्रमण’, ‘आशिक हुँ बहारों का’, ‘बैराग’, ‘जानी दुश्मन’, ‘नागिन’ यस्ता दर्जनौँ चलचित्र ठाउँठाउँका सिनेमा हलमा पुगेर हेरेका हौँ हामीले ।
कति चलचित्रहरूकोे त नाम पनि बिर्सिएँ । कतिको मात्रै सम्झिनु ! हो, ‘गान्धी’ हेर्न जयनगरको अलका टाकिज पुगेको र त्यसका केही सम्झना आज पनि मेरो मानसपटलमा ताजै छ । त्यो कुनै अर्को आलेखमा ।
जलेश्वरमा सिनेमा हल नभएकै कारण जलेश्वरबाहिर गएर चलचित्र हेर्नुपर्दथ्यो । त्यसैले सिनेमाको कुरो उठ्यो कि ‘जाऊँ न त फलानो ठाउँ’ भन्ने साथीभाइबीच सल्लाह भइहाल्थ्यो । अनि, यसो दुईचार रुपैयाँ खोजखाज गरेर हेर्न पुगिन्थ्यो ।
त्यसताका जलेश्वरमा मनोरन्जनको साधन भनेको कि त फुटबल खेल थियो कि त्यहाँ रहेका पुस्तकालयहरू, जहाँ पाठकहरूको भरमार जमघट रहन्थ्यो ।
यदाकदा कब्बाली, बाइजीका नाच, रामलीला, कृष्णलीला हुँदै आएको हो । त्यसका लागि लामो समय पर्खिनुपर्थ्यो । सधैँ जमघट हुने त ल.च.मु. हाई स्कुलछेउको विशाल चौरमा हुने फुटबल र चोकबजारमा रहेको पुस्तकालयमा मात्रै हो ।
०००
एक दिन यस्तो समय पनि आयो, जुन चौरमा मैले फुटबल खेलेँ (अलिअलि), एक्स्ट्रा खेलाडीका रूपमा रहेर एउटा सानो कप पुरस्कारमा पाएँ, त्यही चौरमा थचक्क बसेर चलचित्र हेरेँ ।
एक साँझ आकाशबाट ओर्लिएको शीत र तल घाँसको चिसो साथ लगाउँदै म र मजस्ता सयौँले पञ्चायतकालीन केही वृत्तचित्र र प्रकाश थापा निर्देशित चलचित्र ‘मनको बाँध’ हेर्ने मौका पाएका थियौँ ।
अचम्मसँग यो अवसर जुरेको थियो, हाम्रा लागि । २०३६ सालतिरको कुरा हुनुपर्छ । तिथिमिति ठ्याक्क भन्न सकिनँ । तर, जनमतसंग्रहको घोषणा भइसकेको थियो । र, बहुदलीय व्यवस्था तथा सुधारिएको पञ्चायती व्यवस्थाका पक्षधरहरू आ–आफ्नो प्रचारप्रसारमा जुटेका थिए ।
सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा सिंगै सरकार र सरकारी संयन्त्र सक्रिय थियो । त्यसैले पनि पञ्चायती व्यवस्था र राजारानीका बारेमा बनेका वृत्तचित्रहरू देखाउँदै एउटा टोली हिँडेको थियो ।
सम्भवतः त्यो टोली चुनाव प्रचारप्रसारकै लागि जलेश्वर आइपुगेको थियो, शाही नेपाली चलचित्र संस्थानको जामा पहिरिएर !
हामीलाई भने न त वृत्तचित्रसँग मतलब थियो न निर्वाचनसँग । १६ वर्ष पुग्न केही वर्ष बाँकी नै थियो । त्यसैले निर्वाचनमा भोट हाल्ने कुरै थिएन । हामी त रमाएका थियौँ ‘मनको बाँध’ चलचित्र हेर्न पाइन्छ भनेर ।
त्यो समयमा कतिपय नेपाली चलचित्र पञ्चायती व्यवस्थाको पक्षपोषण गर्नैका लागि बनाइएको थियो भन्ने भनाइ छ । ‘आमा’, ‘परिवर्तन’, ‘हिजो आज भोलि’ त्यस्तै चलचित्रमा पर्थ्यो भनिन्छ ।
तर, त्यस दिन हामी सयौँ मानिस प्रेमकथामा आधारित (?) ‘मनको बाँध’ हेर्न चौरमा बसेका थियौँ ।
त्यस बेला गीतसंगीतमा रुचि भएकाले यो चलचित्रका प्रायः गीत कण्ठ थिए, ‘हृदयभरिको मेरो शुभकामना तिमीलाई...’, ‘फूलको थुँगा बहेर गयो...’, ‘कस्तुरीले वास आउँछ भन्छ...’, ‘यो मुटुको माझमा...’ ।
प्रकाश थापाको निर्देशनमा बनेको यो चलचित्रमा सैल्यान केसी नायक र सुषमा शाही नायिका थिए । संगीत भने नातिकाजी र शिवशंकरको थियो ।
साँझ अँध्यारो भएर सबैतिर फैलिइसकेको थियो । चौरमा चलचित्र प्रदर्शन गर्ने पुरानो प्रोजेक्टर कराउन थाल्यो । अनि, सुरु भयो दुईचारथान वृत्तचित्रहरूको प्रदर्शन ।
रंगीन थिएनन् ती । श्यामश्वेत वृत्तचित्र नै प्रदर्शन गरिएको थियो । वृत्तचित्रको प्रदर्शन सकिएपछि प्रकाश थापा निर्देशित चलचित्र ‘मनको बाँध’को क्रेडिट टाइटल पर्दामा देखिन थाल्यो, आँखीझ्याल भएको लोगोसँगै शाही नेपाल चलचित्र संस्थानको नाम बोकेर ।
यसरी चलचित्र सुरु भयो । अनि। सुरु भएको केही समय नबित्दै चलचित्र भ्याट्ट बन्द भयो । उप्रान्त सर्वत्र छायो अन्धकार ।
त्यसपछि अनेक गरे संस्थानका मानिस र स्वयम्सेवकहरूले । तर, पर्दामा चलचित्र चलेन । दर्शक भने सबै पर्खेरै बसिरहे ।
केही बेरपछि संस्थानको समूहले अर्को दिन सोही समयमा चलचित्र देखाउने घोषणा गर्यो । घोषणासँगै विस्तारैविस्तारै दर्शक आफ्नो कुटीतिर लागे ।
भोलिपल्ट साँझ फुटबल खेल्ने चौरमा मानिसको भीड जम्न थाल्यो । यसपटक अझै दुईचार गाउँका मानिस थपिए क्यार, भीड बढी देखियो ।
अघिल्लो दिनझैँ दुईचारथान वृत्तचित्र प्रदर्शन गरियो । जब चलचित्र सुरु भयो, अघिल्लो दिनझैँ भयो । अर्थात्, आमदर्शकले अघिल्लो दिन जे भोगेका थिए, त्यस दिन पनि त्यही भोगे । फेरि घोषणा भयो– अर्को दिन सोही चौरमा चलचित्र देखाउने ।
भोलिपल्ट साँझ पनि दर्शक भेला भए, अघिल्लो दिनझैँ ।
त्यस दिन वृत्तचित्र मात्र हेरिएन, ‘मनको बाँध’ पनि हेरियो । रेडियोमा बारम्बार सुनेका सबै गीत सुनियो । अनि मात्रै सबै आ–आफ्नो घर फर्किए ।
पूरा चलचित्र हेरेकै दिन दिउँसो गौरी काकाको दोकानमा कसैले सुनाउँदै थियो, ‘फिल्डके कातमे रहल मन्दिरमे फिलिमबालासब आई पूजा करलकै । आई फिलिम देखके मिल्तै ।’
सानो, सफा, सेतो पर्दामा कुनै बाधा, अड्चनविना चलचित्र हेरिएको थियो ।
त्यो के थियो वा थिएन, त्यता नजाऊँ । तर, जलेश्वरमै धेरैले नेपाली चलचित्र हेरे, त्यो आफैँमा रोचक र स्मरणीय पल थियो । सिनेमा हल नभएको ठाउँमा पनि जे जसरी होस्, नेपाली चलचित्र हेर्न पाइएको थियो ।
म जलेश्वरमा हुँदासम्म त्यहाँ सिनेमा हल बनेको थिएन । पछि एउटा हल बनेको सुनेको हुँ । अहिले हल छ/छैन थाहा छैन ।
मैले नेपाली चलचित्र हेरेको त्यो नै पहिलो थियो । त्यसअघि नेपाली चलचित्र हेरेको मेरो सम्झनामा छैन ।
चलचित्रमा यतिविघ्न सोख राख्ने मलाई अचेल सिनेमा हेर्ने कामदेखि अल्छी लाग्न थालेको छ । भरसक सिनेमा हलतिर जान नपरे हुन्थ्यो भन्ने लाग्छ । तर पनि गइन्छ कहिलेकाहीँ, यसो साथीभाइले बोलाउँदा । मनले नाइँ नाइँ भने पनि साथीभाइलाई नाइँ भन्न सकिन्न रहेछ !
०००
अपार्टमेन्टको सानो कोठामा सोफा, सेतो पर्दा र प्रोजेक्टर देखेपछि सोचिरहेको छु– छोरीज्वाइँलाई भनेर एउटा कुनै चलचित्र हेरौँ कि ! भैगो, नहेरौँ ! किनभने, यो दुई महिनामा नेटफ्लिक्सले नै कति चलचित्र देखाउने हो, कुन्नि !