site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
च्यातिएको पर्दा

जून हेर्ने रहरमा साँझ परेदेखि घरीघरी छानोमा ओहरदोहर गरिरहन्छु म । तर, जूनको एक झलक पनि नसिब हुँदैन, त्यो रात मलाई । च्यातिएला कि त्यो बादलको पर्दा भनेर पटकपटक छानोमा उक्लिरहन्छु । तर, टसमस नभई गजधम्म परेर जूनलाई ढाकिरहन्छ निर्दयी बादलको पर्दा । बालखदेखिको हरेक पूर्णिमामा पूर्णचन्द्र हेर्ने मेरो मोह पूरा नहुँदा ज्यादै खिन्न हुन्छ मन ।

मलाई जूनजस्ती भन्नेहरू गलत लाग्छ । बरु, जून मजस्तो पो लाग्छ मलाई । जो राम्री हुनुको सीमै छैन, तर जसको झुल्कने स्वतन्त्रतामा समयले सीमा कोरेको छ । चम्कने स्वतन्त्रतामा बादलले अनि यात्रामा क्षितिजले । जसरी पारिवारिक र सामाजिक मर्यादा र परम्पराको पर्खालैपर्खालभित्र म घेरिएकी छु ।

नौ बजेसम्म पनि जूनको पर्दा च्यातिने संकेत नदेखेपछि खाना खाएर आफ्नै कोठे संसारमा पस्छु । फेरि पनि आस मार्न नसकेर पटकपटक कोठाको पर्दा उघारेर आकाशतिर आँखा लाइनै रहन्छु । यहीक्रममा मेरो आँखा पल्लो घरको भुइँतलाको च्यातिएको पर्दाभित्रको दृश्यमा ठोक्किन पुग्छ । त्यहाँ एक युवक अर्धनग्न अवस्थामा ओछ्यानमा पल्टिएर अध्ययनरत छ । कहिले कोल्टे फेर्छ ऊ, कहिले जिउ कन्याउँछ । उसका ध्यान र आँखा भने पुस्तकमै अडिएका छन् एक तमासले ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तैमा उसले आफ्नो हातले गुप्तांग कन्याउँदै ध्यान र आँखा उसैगरी पुस्तकमा लगाइरहन्छ । मनमनै ‘छ्या, कस्तो शरम पचेको लबस्तरो !’ भन्दै आफ्नो पर्दा बन्द गर्छु । अनि, बत्ती निभाएर बेडमा पल्टिन्छु म ।

बेडमा पल्टिएपछि त्यो हरकत गर्ने युवकभन्दा चियाउने आफू नै गलत भएको महसुस हुन्छ मलाई । र, निदाउने कोसिस गर्छु । तर, आँखामा त्यही दृश्य घुम्न थाल्छ । मनमा अनौठो बेचैनी सुरु हुन्छ । विस्तारै मन अनियन्त्रित बन्दै जान्छ ।

ओछ्यानबाट उठेर फेरि पर्दा उघार्छु । युवक उस्तै मुद्रा र अवस्थामा छ । ऊ एकोहोरो उसकै सुरमा छ, म मेरै सुरमा एकोहोरिन पुग्छु । विस्तारै त्यो दृश्यले मलाई रोमाञ्चित बनाउँछ । उसको अग्लो कद, बलिष्ट शरीर अनि कालो वर्णले मलाई मोहित पार्छ । त्यसैबखत उसको कोठाको बत्ती झ्याप्प निभ्छ ।

पर्दा बन्द गरेर सुत्ने तरखर गर्छु । टेलिफोनको घण्टी बज्छ । फोन उठाउँछु । ‘हेलो’ सुन्नासाथ आवाजैले थाहा हुन्छ, संस्कारको फोन भनेर । रक्सीले लरबरिएको स्वरमा सन्चो–बिसन्चो पनि नसोधी आफ्नो प्रवचन छाँट्न थाल्छ । एक मिनेटको संवादमा मैले सिर्फ अमेरिका जाने आफ्नो इच्छा व्यक्त गर्न भ्याएको छु । ‘तिमी किन आउने अमेरिका ? बुवामुवाको सेवा गरेर बस न’ भन्ने पुरानै जवाफ फर्कायो उसले ।

विवाहका सुरुआती दिनमा मलाई ऊ मनैदेखि अमेरिका लैजान चाहन्थ्यो । तर, किनकिन हिजोआज ऊ मलाई नेपालमै थन्क्याउन खोज्छ । नेपथ्यमा अंग्रेजी गीत र युवतीका हाँसोको चर्को आवाज आउँदै गरेको स्थानबाट ‘म व्यस्त छु अहिले, तिमीलाई के पठाइदिऊँ ?’ भनेर जिम्मेवार श्रीमान् भइटोपले झैँ मेरो आवश्यकता सोध्छ । म ‘केही चाहिँदैन’ भनेर फोन राख्छु ।

उसको त्यो कर्मकाण्डी व्यवहारले मेरो अमेरिका जाने रहर र उत्साहलाई शिथिल पार्दै छ । ऊ यसरी नै मलाई अनेक बहानामा रोक्छ । संवादको अन्त्यमा ‘के पठाइदिऊँ ?’ भनेर सोधिरहन्छ, तर कहिल्यै केही पठाउँदैन । म के चाहन्छु, मेरो आवश्यकता के हो भनेर कहिल्यै बुझ्ने कोसिस समेत गर्दैन । यथार्थमा उसलाई मेरो कुनै चासो र चिन्ता नै हुँदैन । विवाहपछि ऊ अमेरिका हिँडेको चौथो सालसम्म यसरी नै आक्कलझुक्कलको टेलिफोने संवादमा सीमित छ, हाम्रो दाम्पत्य जीवन ।

भोलिपल्ट बिहान घाम नझुल्कँदै बाल्कोनीमा उभिएकी छु । उही युवक एउटा सानो ब्याग बोकेर पल्लो घरको आँगनमा निस्कन्छ । सायद ऊ त्यो घरमा भाडामा बस्छ अनि बिहान कलेज र दिउँसो अफिस उसको दिनचर्या बनेको छ । ऊ बाहिरिन्छ आँगनबाट । आफ्नै सुरमा पछाडि फर्केर हेर्छ । लाग्छ, उसले मलाई नै हेरिरहेछ ।

प्रतिष्ठित र सम्पन्न परिवारकी बुहारी म । उच्च कुलघरानियाँ परिवार, घरभरि नोकरचाकर, गाडी, बंगला, धनसम्पत्ति कुनै चिजको कमी छैन । अरूले देख्दा भरिपूर्ण छ ।

मेरो नियमित रात्रिकालीन व्यवहार नै बन्छ, च्यातिएको पर्दाबाट उसैगरी त्यो युवकको अर्धनग्न गतिविधि नियाल्ने कार्य । गलत भन्ने जान्दाजान्दै त्यो कार्यमा लिप्त बन्न पुग्छु म । रोक्दारोक्दै पनि धैरै पर पुग्छु म, ऊसँगको काल्पनिक सहयात्रामा । किनकिन त्यो युवक मलाई आफ्नै मान्छेजस्तो लाग्न थाल्छ । उसलाई सम्झँदा मात्र पनि मेरो एक्लोपन हराउने गर्छ । अनौठो लत बस्छ ममा, उसलाई हेर्ने र उसैसँगको काल्पनिक प्रेमलापको ।

दिन प्रतिदिन झन्झन् उसका गतिविधि मायावी लाग्छ मलाई । विस्तारै मलाई कोठा अनि झ्याल नै आफ्नो संसार लाग्न थाल्छ । कोठाभन्दा बाहिरको मेरो संसार कि त कौसी कि बगैँचासम्म सीमित भएर साँघुरिन्छ । चञ्चल अनि फरासिली म एकान्त र मौनता रुचाउन थाल्छु ।

छोरीजत्तिकै माया दिने सासूससुरालाई पनि ममा आएको यो परिवर्तन अस्वाभाविक लाग्न थालेछ क्यारे, हिजोआज मेरो विशेष हेरचाह गर्न थाल्नुभएको छ ।

एक दिन सासूले बोलाएर भन्नुभयो, “तिमी संस्कारलाई भेट्न अमेरिका जाऊ बुहारी, न्यास्रियौजस्तो छ ।”

पहिले अमेरिका जान मरिहत्ते गर्थेँ । अहिले अमेरिकाको नाम सुन्दै तर्सन थालेको छु । मलाई संस्कारलाई भेट्नुको रहर र रमाइलोभन्दा त्यो युवकसँग छुट्नुको पीडा असह्य हुन थाल्छ, अमेरिका जाने प्रसंगले मात्र पनि ।

“मामाको सानो छोरीको विवाह छ, त्यो सकेर जाउँला नि, हुन्न मुवा ?, बहाना बनाएँ । सासूबाट सहज स्वीकृति पाएँ ।

मामाकी कान्छी छोरीको विवाहको दिन सबैले मतर्फ नजर लगाए । रहरबेगर मैले लगाएको शरीरका गहनाले सबैको ध्यान तानिरहेको रहेछ । त्यही गहना र म सवार गाडी नै मेरो भाग्य जाँच्ने कसी भएको छ अरूको लागि यो विवाह समारोह । र, म औधी भाग्यमानी ठहरिन्छु तिनका नजरमा ।

स्रष्टा – मामाकी जेठी छोरी, जसको विवाह पनि चारै वर्षपहिले भएको थियो । फरक यति हो, उसको भागी, मेरो मागी विवाह । मान्छेलाई आर्थिक हैसियतको कसीले तौलने हाम्रा आफन्त र नातागोतालाई आजसम्म पनि उसको विवाह सहज र स्वीकार्य भएको छैन । दुई वर्षसम्म कुनै वास्ता नगरेका मावलीले रहरले भन्दा करैले निमन्त्रणा गरेका थिए, स्रष्टा र उसको श्रीमान्लाई यो विवाहमा ।

सबै आफन्तहरू स्रष्टालाई उसका पछाडि कटु वचनले धिक्कार्दै थिए, ‘के देखेर गएकी होला त्यो माग्नेसँग ?’ भनेर । मलाई भने स्रष्टाको खुसी र सुखको असाध्यै ईष्या लाग्छ । लुगा एकसरो लगाएर के भो र, खुसीका गाढा रङ पोतिएका छन् स्रष्टाको मुहारमा । एउटा बेग्लै सुखले उसको मुहार धपक्क बलिरहेको देख्छु म । त्यो सुख धन चिन्ने आँखाहरूलाई फिका लाग्छ ।

उसको शरीरमा मेरोजस्तो सुनैसुन झपक्क त छैन, तर पनि ऊ सुखी अनि खुसी देखिएकी छे । म सुनैसुनले थिचिएर विरक्तिएको एक्लो मन लिएर उपस्थित छु, यो समाहरोमा । ऊ आफूलाई असाध्यै माया गर्ने जीवनसाथीका साथमा दुई वर्षको छोरो पे्रमको निसानीसहित आएकी छे ।

सिमसिम पानी परिरहेको मंसिरको महिना । साँझ युवक रुझ्दै आइरहेको टाढैबाट देखेँ । अनायसै मेरो मन पनि भिज्यो । उसलाई छाता लिएर अलि परसम्म लिन जान मन लाग्यो । तर, म त अर्काकी आइमाई, यसो गर्ने अधिकार र छुट दुवै कहाँ छ र मलाई ! कलेज र अफिसको थकाइ अनि चिसोयामको झरीमा उसको मन पनि मेरैजसरी एक्लोपनले कठ्यांग्रिएको होला भन्ने सोचेँ, मनमनै ।

शनिबारको दिन सासूससुरा आफन्त/बिरामी भेट्न अस्पताल जानुभयो । काम गर्ने सबै बगैँचामा व्यस्त छन् । म ओछ्यानमा पल्टिरहेकी छु । अचानक युवक मेरो कोठामा प्रवेश गर्‍यो । डर र रिसको मिश्रित मुद्राले मेरो आङै जिरिङ्ङ भयो । एक मन उसलाई थप्पड लगाएर त्यहाँबाट घोक्र्याउन मन लाग्यो । अर्को मनले हाँसेर स्वागत गरूँगरूँ लाग्यो ।

मेरो मुस्कानले भरिएको स्वागत पाउनासाथ ऊ सरासर आएर म पल्टिरहेको ओछ्यानमै बस्यो । कस्तो अचम्म, न डर न धक ! म अवाक् बनेर एक तमासले उसलाई हेरिरहेँ । निःशब्द उसका ओठले पनि मधुर मुस्कान छर्न भ्याए । म उसको त्यो मुस्कानमा चुर्लुम्म डुब्न पुगेँ । उसले एक्कासि मेरो हात समायो । अपूर्व सुख महसुस गर्दै मौन सहमति जनाइरहेँ ।

अचानक ‘बुहारी’ भनेको आवाजले बिउँझिएँ । डरले काम्दै पसिनाले निथ्रुक्क भिजेको अवस्थामा देखेर मुवाले सोध्नुभयो, “के भो, सन्चो भएन कि क्या हो ?”

‘हैन, ठिकै छु । डर लाग्ने सपना देखेछु’ भन्दै बाथरुम छिरेँ ।

विस्तारै ममा संस्कारको न पर्खाइ रहन्छ न त ऊप्रति कुनै घुर्काइ नै । संस्कारप्रतिको लगाव, झुकाव अनि आशक्तता किनकिन कमजोर बन्दै गइरहेको छ ।

ममा आएको परिवर्तन घरमा सासूससुरालाई ठूलै चिन्ताको विषय बन्छ । कोसिस त मेरो हमेसा आफ्नो अवस्थाबारे उहाँहरूलाई अनविज्ञ नै राख्ने थियो । तर, बुझ्नेले त अव्यक्त मनेदशा पनि बुझिहाल्ने रहेछ । मलाई ससुराबाट समेत पटकपटक संस्कारलाई भेट्न अमेरिका जान दबाब बढ्न थाल्छ ।

माघे संक्रान्तिको दिन घरभित्र पाहुनाको चहलपहल अनि भान्साबाट स्वादिष्ट परिकारको बास्ना चलिरहेको छ । बाहिर माघेझरीले ठन्डीलाई ऊर्जा दिइरहेको छ । मलाई भने परिकार र पाहुनाभन्दा युवकको चिन्ताले सताइरहेको छ, कतै चिसोले ऊ बिरामी पो पर्ने हो कि !

प्रायः फर्कने साँझको समयमा ऊ फर्केन त्यो दिन । मन नमिठो गरी अमिलियो । साँझ ढलेर रात छिप्पिँदै गयो, तर उसको च्यातिएको पर्दाबाट उज्यालो आएर मेरो मनमा प्रवेश गरेन । पटकपटक आफ्नो पर्दा उघारेर उसको पर्दामा नियालेँ, कोठामा बत्ती बलेन । उसकोे कोठासँगै मेरो मन पनि रत्तिभर उज्यालिएन त्यो रात ।

भोलिपल्ट दिनभरि आङमा घाम लागेन । खल्लोखल्लो लाग्यो पूरै दिन । फेरि साँझ उसैगरी झ्यालमा बसेर आँखा उसैका बाटोमा बिछ्याइरहेँ । तर, त्यो साँझ पनि फर्केन ऊ । साँझ ढल्छ, रात जवान हुन्छ । रात झर्छ, मिरमिरे फक्रिन्छ । तर, ऊ फर्केन । मन भतभती पोल्छ । आँखा झिमिक्कै नगरी रात बित्छ ।

चिन्ता र अनिदोले भोक पनि हराउँछ । एक दिन, दुई दिन गर्दागर्दै दुई हप्ता बित्छ । तर, ऊ फर्केन । मेरो अवस्था झनै बिग्रन्छ । आफ्नो अवस्था छोप्न अलि ज्यादा सौन्दर्य साधन पोत्न थालेँ । तर, त्यो कृत्रिम साधनले प्राकृतिक सुन्दरता के फिराउँथ्यो र ! फिक्का र मलिन अनुहार देख्ने जो कसैले मेरो असामान्य अवस्था सजिलै अड्कल काटिहल्थ्यो सायद । त्यसपछि झन् अमेरिका जान चर्को दबाब पर्‍यो मलाई ।

विक्षिप्त मनको उपचारका लागि पनि केही दिन माइत जान्छु । माइतमा झन् सबैले केरकार गर्छन् मेरो अवस्था देखेर । जवाफविहीन हुन्छु । मुस्किलले एक हप्ता बसेर फेरि घरै फर्किएँ ।

पूर्णिमा रहेछ, म फर्केको त्यो दिन पनि । साँझ युवकको कोठा उसैगरी अन्धकार देखेर मन कटक्क खायो । आफ्नो कोठामा पसेर उसैको अँध्यारो कोठातिर हेरिरहेकी छु । अचानक राति आठ बजेतिर उसको कोठामा बत्ती बल्यो । एकपटक मेरो मन फेरि उज्यालो भयो । आकाशको जून कोठैमा आएजस्तो लाग्यो ।

तर, च्यातिएको पर्दा फेरेर सद्दे पर्दा उसको झ्यालमा टाँगिएको रहेछ । मन फेरि अँध्यारो भयो । पूर्णिमाको त्यो रात क्षणमै औँसीझैँ बन्यो । छटपटछटपट भयो मन । उसको त्यो नयाँ पर्दा च्यातचुत पारिदिन मन लाग्छ । के गरौँ, कसो गरौँ ! डाहा भयो मनमा । केही बेरमै युवकको कोठाको बत्ती झ्याप्प निभ्यो । त्यो रात पनि पूरै अनिदो बित्यो ।

बिहान उसैलाई हेर्न उही बाल्कोनीमा उभिएकी छु । केही बेरमा युवक कोठाबाट ठाँटिएर निस्कन्छ । ऊ पहिलेभन्दा पनि सुन्दर र हट्टाकट्टा देखिएको छ । केही बेरपछि ऊ बाहिरैबाट ‘छिटो गर न’ भनेर चिच्याउँछ । भित्रबाट ‘आएँ बाबा, कति हतार गरेको !’ भन्दै रातो साडीमा सजिएकी नवदुलहीझैँ देखिने सुन्दर युवती निस्कन्छे । दुवै नारिएर जान्छन्, मेरा आँखैका सामुबाट ।

त्यो दृश्यले मलाई भाउन्न भएझैँ हुन्छ । संसारै घुम्न थाल्छ । थरथर काम छुटेर बाल्कोनीमै ढल्न लागेजस्तो हुन्छ । मुस्किलले आफूलाई सम्हाल्छु । कोठामा गएर क्वाँक्वाँ रुन्छु । अनि, आफ्नो तितो वास्तविकतासँग टाढिँदै गएकी म मिठो कल्पनासँग सम्बन्धबिच्छेद गरेर एक हप्तापछि अमेरिका प्रस्थान गर्छु ।
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०५:५३
प्रतिक्रिया दिनुहोस्