site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित

जेनेभा । सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसंघले मंगलबार बताएको छ । एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ । 

गत वर्ष विश्वव्यापी तापक्रम कीर्तिमानी उचाइमा पुगेको छ । राष्ट्रसंघको मौसम तथा जलवायु एजेन्सीले एसियामा विशेषरूपमा तीव्र गतिमा तापक्रम बढिरहेको बताएको छ । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले एसियामा गर्मीको लहरको प्रभाव अझ गम्भीर हुँदै र पग्लिँदै गरेको हिमनदीबाट एसियाको भविष्यको जल सुरक्षामा खतरा उत्पन्न भएको बताएको छ । 

गत वर्षको तापक्रम सन् १९६१ देखि सन् १९९० को औसतभन्दा करिब दुई प्रतिशतले बढी रहेको भन्दै डब्ल्यूएमओले एसियामा विश्वव्यापी औसतको तुलनामा तीव्ररूपमा तापक्रम बढिरहेको बताएको छ । 

Dabur Nepal
NIC Asia

“प्रतिवेदनको निष्कर्ष गम्भीर छ, यस क्षेत्रका धेरै मुलुकले सन् २०२३ मा आफ्नो सबैभन्दा तातो वर्षको अनुभव गरेका छन् भने खडेरी र गर्मीको लहरदेखि लिएर बाढी र आँधीसम्मको चरम स्थितिको सामना गरेका छन्,” डब्ल्यूएमओका प्रमुख सेलेस्टे साउलोले एक विज्ञप्तिमा भने, “जलवायु परिवर्तनले यस्ता घटनाहरूको आवृत्ति र गम्भीरतालाई बढाएको छ, यसको समाज, अर्थतन्त्र र सबैभन्दा महत्त्वपूर्णरूपमा मानव जीवन र हामी बस्ने  वातावरणमाथि गहिरो प्रभाव पारेको छ ।”

एसियामा जलवायुको अवस्था २०२३ को प्रतिवेदनमा यस क्षेत्रको समाज, अर्थतन्त्र र पारिस्थितिकीय प्रणालीका लागि गम्भीर प्रभाव पार्ने सतहको तापक्रम, पग्लिँदै गरेको हिमनदी र समुद्रको स्तरमा वृद्धि जस्ता प्रमुख जलवायु परिवर्तनका सूचकहरूको तीव्र गतिमाथि प्रकाश पारिएको छ । 

“सन् २०२३ मा एसिया मौसम, जलवायु र पानीसम्बन्धी खतराबाट विश्वको सबैभन्दा बढी प्रकोप प्रभावित क्षेत्र बनेको छ,” डब्ल्यूएमओले भनेको छ । सन् २०२३ मा एसियामा सतह निकट वार्षिक औसत तापक्रम रेकर्डमा दोस्रो सबैभन्दा धेरै थियो । यो सन् १९९१–२०२० को औसतभन्दा शून्य दशमलव ९१ डिग्री सेल्सियसले र सन् १९६१–१९९० को औसतभन्दा एक दशमलव ८७ डिग्री सेल्सियसले अधिक थियो । 

पश्चिमी साइबेरियादेखि मध्य एसिया र पूर्वी चीनदेखि जापानसम्म विशेषरूपमा उच्च औसत तापक्रम रेकर्ड गरिएको र जापानमा अहिलेसम्मकै सबैभन्दा गर्मी रेकर्ड गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै हिमालय तथा पाकिस्तान र अफगानिस्तानको हिन्दु कुश पर्वत शृंखलामा वर्षा सामान्यभन्दा कम भएको थियो । 

यसैबीच, गत वर्ष दक्षिण पश्चिम चीनले खडेरीको सामना गर्नुप¥यो । वर्षको करिब प्रत्येक महिनामा यहाँ वर्षाको स्तर सामान्यभन्दा कम रह्यो । तिब्बती पठारमा केन्द्रित हाई–माउन्टेन एसिया क्षेत्र अर्थात् ध्रुवीय क्षेत्रबाहिर बरफको सबैभन्दा ठूलो मात्रा विद्यमान छ । 

पछिल्लो धेरै दशकमा यीमध्ये अधिकांशमा हिमनदीहरू पछि हट्दै गएको र यसको गति पनि तीव्र भइरहेको भन्दै डब्ल्यूएमओले यस क्षेत्रका निरीक्षण गरिएका २२ हिमनदीमध्ये २० मा गत वर्ष लगातार सामूहिकरूपमा क्षति भइरहेको जनाएको छ । 

सन् २०२३ मा उत्तरपश्चिम प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम रेकर्डमा सबैभन्दा धेरै रहेको प्रतिवेदनमा बताइएको छ । गत वर्ष एसियामा पानीसम्बन्धी मौसमी जोखिमसँग सम्बन्धित ७९ प्रकोप रेकर्ड गरिएका छन् । तीमध्ये ८० प्रतिशतभन्दा धेरै बाढी र आँधी थिए । यसबाट दुई हजारभन्दा धेरैको मृत्यु र ९० लाख मानिस प्रत्यक्षरूपमा प्रभावित भएका छन् । 

प्राकृतिक प्रकोपका घटनाहरूमा एसियाको संवेदनशीलतालाई लगातार उच्च जोखिममा राख्दै डब्ल्यूएमओले भनेको छ, “सन् २०२३ मा रिपोर्ट गरिएका घटनाहरूमा मृत्युको प्रमुख कारण बाढी थियो ।”

हङकङमा सेप्टेम्बर ७ मा एक घन्टामा १५८ दशमलव एक मिलिमिटर वर्षा रेकर्ड गरियो । आँधीको परिणामस्वरूप सन् १८८४ मा रेकर्डहरू राख्न सुरु भएयता यो सबैभन्दा उच्च थियो । 

डब्ल्यूएमओले विपद् जोखिम न्यूनीकरणमा काम गरिरहेका अधिकारीहरूलाई अनुकूल जानकारी सुधार गर्नका लागि यस क्षेत्रभर राष्ट्रिय मौसम सेवाहरूको तत्काल आवश्यकता रहेको बताएको छ । रासस/एएफपी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १३:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro