site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यमा २०९ कर्मचारी फाजिलमा, पूर्वनिर्देशकले समेत पाएनन् ८ महिनादेखिको तलब

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका एघारौँ तहका तीनसहित २०० धन्दा धेरै कर्मचारी फाजिलमा राखिएका छन् ।  पूर्वनिर्देशकहरूसहित २०९ जना जिम्मेवारीविहीन रहेको मन्त्रालयको तथ्यांक छ ।

फाजिलमा राखिनेमा पूर्व एघारौँ तहका पूर्वनिर्देशक भइसकेका कर्मचारीसमेत छन् । जिम्मेवारीविहीन हुनेमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका पूर्व निर्देशक डा. यदुचन्द्र घिमिरे, जनस्वास्थ्य प्रशासक डा. प्रकाश साह र डा. राधिका थपलिया छन् । उनीहरू तीनैजना एघारौँ तहका कर्मचारी हुन् ।

डा. घिमिरेलाई तालिम केन्द्रको निर्देशकबाट हटाउँदै गत जेठमा स्वास्थ्य मन्त्रालयमा ल्याइएको थियो । दश महिनाअघिदेखि मन्त्रालयमा हाजिर हुँदै आएका घिमिरेले गएको दसैँयताको तलब पाएका छैनन् । 

डा. राधिका थपलिया यसअघि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकको जिम्मेवारीमा थिइन् । समायोजनका क्रममा सुर्खेत सरुवा भएपछि आफ्नो दरबन्दी नभएको भन्दै अदालत पुगेकी थपलियालाई सर्वोच्चको आदेशले विभागमा फिर्ता हुने बाटो त खुलायो । तर, साढे दुई वर्षदेखि उनी जिम्मेवारीविहीन छिन् ।

विभागको संस्थागत संरचनामा उनको नाम उल्लेख भए पनि सेवा समूह र जिम्मेवारी छुट्याइएको छैन । जिम्मेवारी मात्र नभई उनले गएको साउनयताको तलब सुविधासमेत पाएकी छैनन् । 

यसअघि गजेन्द्र नारायण सिंह अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहेका डा. प्रकाश साह गएको कार्तिकदेखि मन्त्रालय तानिएका छन् । स्वास्थ्य सेवा विभागमा दरबन्दी रहेका उनलाई मन्त्रालयमा कुनै जिम्मेवारी दिइएको छैन । जनस्वास्थ्य प्रशासकको सेवा समूहमा रहेका डा. साह गएको मंसिरदेखि तलब सुबिधा नपाएको बताउँछन् । 

आफूलाई मिल्ने दरबन्दी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा हुँदाहुँदै पनि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ‘आफ्ना मान्छे’लाई नियुक्त गरेको र आफूहरूलाई जिम्मेवारीविहीन बनाएको डा. साह बताउँछन् । 

मन्त्रालयले भने एघारौँ तहका तीनजनालाई विशेष जिम्मेवारी दिने तयारी भइरहेको जनाएको छ । कर्मचारी प्रशासनअन्तरगत मन्त्रालयका उपसचिव कृष्ण थापा महिनौँदेखि उच्च तहका कर्मचारी जिम्मेवारीविहीन रहनु गम्भीर विषय भएको र यसबारे छिट्टै ठोस निर्णय गरिने बताउँछन् । 

ओएनएम सर्भे गर्दा केही दरबन्दी काटिएकाले कर्मचारीहरू फाजिलमा पर्न गएको र दरबन्दीमा नअटेकै कारण तलब सुविधाबाट वञ्चित भएको उनको तर्क छ । 

मन्त्रालयमा फागुन पहिलो सातासम्म २०९ जना कर्मचारी फाजिलमा रहेको मन्त्रालयको कर्मचारी प्रशासन शाखाको तथ्यांक छ । समायोजनका क्रममा दरबन्दीविहीन बनेका कर्मचारीलाई व्यवस्थापन गर्न गृहकार्य भइरहेको उपसचिव थापा बताउँछन् ।

मन्त्रालयले विभिन्न चरणमा गरी चौथोदेखि दशौँसम्म गरी २६ हजार ७१७ कर्मचारी समायोजन गरेको थियो । 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro