काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले पद तथा गोपनियताको शपथ लिएका छन् ।
सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष सदस्य उमाशंकरले पद तथा गोपनियताको शपथ लिएका हुन् । उनलाई माघ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
केही समयअघि आयोगको गठन आदेश संशोधन गरी एक सदस्य थप गर्ने निर्णय सरकारले गरेको थियो । नवनियुक्त सदस्य उमाशंकरको शपथसँगै आयोगले पूर्णता पाएको छ ।
रौतहट स्थायी घर भएका उमाशंकरले अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका छन् । यसअघि पनि आयोगको सदस्य भइसकेका उमाशंकर स्वास्थ्य बीमा बोर्डको पूर्वअध्यक्ष समेत हुन् । उमाशंकर प्रध्यापन पेसामा समेत सक्रिय थिए ।