रीतिथिती बिग्रिएको ठाउँमा उभिएर
ट्वाल्ल हेर्छु लाटोकोसेरोले झैँ
भाग्नावशेष लाग्ने मेरो घरको भित्ता
यो बिरामी घर र बिरामी गोठ
अनि, अनायास कराउँछु–
हे डाक्टर, मलाई उपचार चाहिन्नँ !
म मरे भने मरो भाइ जन्मेला, तर त्यो भैँसी मरे हामी सबै मर्छौं
डाक्टर भैँसीतिर हेर्दै थियो
मलाई रोग र भोकभन्दा बढी तिरोले गाल्दै थियो
तिरोको यात्रामा निस्किएँ म
रोग र भोकको हल खोजेको देखेर
बडाघरे साहुजीले उधारोमा एउटा ओखती दिए
खाऊ खाऊ भने, खाइहालेँ
आखिर भोको पेटले फेरि भोक लाग्ने ओखती पो खाएछ
साउँब्याज तिरो सबै थपियो नि भने साहुले
खै, कस्तो जिन्दगी हो यो ?
भोक बढ्यो, तिरो बढ्यो
प्यास बढ्यो, तिरो चढ्यो
मन भने काकाकुल, तिरोले आकाश छोयो
बेसी झरेँ
बेसीले मेरो पाइलापाइला नापेर तिरो माग्दै थियो
विवाहको औँठीलाई तिरो बनाउन बाध्य भएँ
तर, तिरो खाने बाटोले खाडल पुर्न बिर्सेछ
फर्किंदा गोडो त्यसैमा फस्यो
ठनक्कै भाँचियो
मेरो उकालो चढ्ने सपनामा विराम लाग्यो
आज बैसाखीले तिरो माग्छ मसँग
सास फेर्यो कि तिरो माग्छन्, सास रोक्न बल गर्छु
सपनाको तिरो माग्छन्, आँखा खोली निदाउँछु
जिन्दगी जिन्दगी नभई तिरो बनेछ
मायाप्रेम तिरो भएछ
मन मन हैन, तिरो भएछ – मात्र तिरो भएछ
यो तिरैतिरोको भीडबाट गन्तव्य खोज्दा खोज्दै
म कसैको निसाना बनेँ
सधैँ पसिनाको तिरो तिर्ने म
आज रगतको तिरो तिरेँ
एउटा ड्याङ्ङ आवाजसँगै
मेरो तिरो मेरै लागि गोली बनेछ
मलाई चिनेन
छाती छेडेर गयो तिरो
म माटो बनेर तिरो तिर्दै छु सदासदा
मलाई मलखाद बनाए, प्रयोगशाला बनाए
के–के बनाए के–के
फेरि आफ्नै दुःखले फूल बनेँ
एउटाले चुड्यो, थाहा छैन के गर्छ
कुनै भ्रष्टको गलामा सजाउँछ कि
या ईश्वरको पाउमा ?
हेर्नै बाँकी छ
म मुक्तिको खोजीमा छु भगवान्
दया नछुटोस् ।