site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कर्मचारी युनियनका नेताले निजीसरहको सुविधा मागेपछि रिसाए अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी युनियनका नेताहरूमाथि आक्रोश पोखेका छन् । आइतबार बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री महतले कर्मचारीहरू आफ्नो कर्तव्य भुलेर सेवा सुविधामा केन्द्रित हुन नहुने बताए ।

बैंकका कर्मचारी युनियनका अध्यक्षहरूले बैंकले दिएको सेवा सुविधाप्रति असन्तुष्टि जनाएका थिए । राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दिपेन्द्र कार्कीले निजी बैंक र सरकारी बैंकको सेवामा भिन्नता भएको बताएका थिए ।

उनलाई काउन्टर दिँदै मन्त्री महतले कर्मचारीका नेताहरूले ठूलो स्वरमा चर्काे भाषण गरेर आफ्ना माग मात्र राखेर नहुने बताए ।

“जहिले पनि कर्मचारीले यो चाहियो मात्र भन्छन् । हामीले के गर्ने भनेर कहिल्यै भन्दैनन्,” मन्त्री महतले भने, “तपाईंहरूले माग गरेका ठूला कुरा केही छैनन् । तर, काम निजी बैंकको जस्तै गर्नुपर्छ । संस्था नै मर्ने गरी माग राख्न हुँदैन ।”

असमानरूपमा बोनस निर्धारण भएको कार्कीको भनाइ छ । “बोनसको विषयमा बाह्य र सरकारीमा फरक परेको छ । सरकारी र बाह्यको हकमा फरकफरक हुन हुँदैन,” उनले भने ।

सेवासुविधा निजी बैंकजस्तै दिनुपर्ने कार्कीको माग थियो । उपदान समयमै स्वीकृति नभएर पनि कर्मचारी रित्तो हात फर्किनुपरेको उनले बताए ।

“वाणिज्य बैंकले निरन्तर नाफा गरिरहेको छ । त्यो अनुसारको आर्थिक सुविधा नदिने हो भने नयाँ जनशक्ति यहाँ भित्रिदैनन्,” उनले भने, “वाणिज्य बैंक पुरानो ठाउँमा जाने स्थिति सिर्जना भएको छ । यसको विषयमा पुनर्विचार गर्न अनुरोध गर्दछु ।”

राष्ट्रिय वाणिज्य बैंक, नेपाल वित्तीय संस्था कर्मचारी संघ अध्यक्ष ईश्वरबहादुर सिंह वाणिज्य बैंक वित्तीय अनुशासनका हिसाबले अब्बल भएको बताए । आगामी दिनमा आउने प्रमुख कार्यकारी बैंकलाई बुझ्ने खालको आए बैंकको भविष्य उज्जल हुने बताए । सरकारलाई बैंकले आफ्ना सेवामार्फत तान्ने भन्दै हस्तक्षेप नगर्न पनि आग्रह गरे ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेले हाल बैंकमा जल्दोबाल्दो समस्याका रूपमा कर्मचारी विनियमावलीको संशोधनको कुरा रहेको बताए । तर, कर्मचारी विनियमावलीको संशोधनले मात्र कर्मचारीका समस्या समाधान नगरेको पनि बताए । अब समिति गठन गरेर मस्यौदा नै पुनरलेखन गर्नुपर्ने उनको भनाइ छ । अर्थमन्त्रालयमा विनियमावली संशोधनका लागि प्रस्ताव लगिएको भए पनि अर्थमन्त्रीले त्यसलाई अगाडि नबढाएको पनि बताए ।

“हामीले जुन आर्थिक सुविधाका लागि विनियमावली सहमति गरेर सञ्चालक समितिबाट पारित गरेर अर्थ मन्त्रालयमा पठाएका थियौँ । माननीय अर्थमन्त्रीज्यूले असारको ३१ गते त्यसमा सहमति प्रदान गरेर हामीलाई केही खुसियाली प्रदान गर्नुभएको थियो । त्यसका लागि उहाँलाई म धन्यवाद दिन चाहान्छु,” उनले भने, “तर, उक्त सहमति पत्रमा उल्लेख भएका कर्मचारी समावेश हुने गरी अर्थ मन्त्रालय पुगेको ६ महिना भइसक्दा समेत अर्थमन्त्रलयमा किन रोकिरहेका छन् । हामीले पत्ता लगाउन सकेका छैनौँ । कर्मचारी विनियमावली संशोधन गरेर लागु गर्न म माग गर्छु ।”

जवाफमा मन्त्री महतले बढी लिएर काम गर्ने कर्मचारीलाई सरकारले कम बोनस नदिएको बताए । तर, यसरी नाफा खोज्नेले कम्पनी घाटामा जाँदा 'म कम सेवा सुविधा लिन्छु' भन्न तयार हुनुपर्ने उनको भनाइ छ।

“राज्यले पूर्वधार तयार गरिदिएको छ । कर्मचारीलाई कम दिएर सरकारले बढी लिएको छैन । हामीले बढी लिएर काम गर्नेलाई कम दिएको भए पो तपाईंहरू असन्तुष्ट हुनु,” मन्त्री महतले भने, “जापानिजहरूले गर्छन्, कम्पनी घाटामा गयो भने रातभरि काम गर्छु आधा तलब लिन्छु भन्छन् । त्यसै जापान बनेको छ । अलिकति नाफा हुने बित्तिकै सबै लिन खोज्ने हो भने त बैंक कसरी फस्टाउँछ ? संस्थाको समृद्धि भयो भने हामी समृद्धि हुन्छौँ ।”

कर्मचारीले पनि आफ्नो संस्थालाई माया गरेर काम गर्नुपर्ने उनको भनाइ छ । पूर्वाधारमा राज्यले लामो समय लगानी गरेको भन्दै उनले त्यसमा कर्मचारीले ध्यान दिनुपर्ने बताए ।  

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २०:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro