site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा संघीेय सरकार नै बाधक

सविन धमला/न्युज एजेन्सी नेपाल
काठमाडौं । रुकुम पश्चिम र जाजकोटका भूकम्प प्रभावितले अस्थायी घर पाउने अवस्था पेचिलो बन्दै गएको छ । विद्यमान कानुनी झन्झट, लामो प्रक्रिया र बजेट अभावले भूकम्प प्रभावित परिवारले अस्थायी आवास नै नपाउने हुन् कि भन्ने शंका व्यक्त गर्न थालिएको छ ।

कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा १५७ जनाको मृत्यु भएको थियो । ६५ हजारभन्दा बढी परिवारको घर संरचना बस्न नहुने/नमिल्ने गरी भत्किएको छ । केही सामाजिक संस्थाले पुनर्निर्माण तथा राहतको काम गरे पनि त्यो पर्याप्त छैन ।

अस्थायी आवास निर्माणको काम नै सुरु भएको छैन । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठ वास्तविकभन्दा धेरै लाभग्राही बढ्दै गएकाले व्यवस्थापन र पुनर्वासमा समस्या आउन थालेको बताउँछन् । लाभग्राहीको संख्या यसरी नै बढ्ने र प्रक्रिया लम्बिए सरकारले दिएको आर्थिक सहायता घर बनाउनमा भन्दा अन्यत्र खर्च हुने अवस्था आउने उनको भनाइ छ । जसका कारण सरकारमाथि आर्थिक भार थपिने उनी बताउँछन् ।

Dabur Nepal
NIC Asia

पूर्वमन्त्री तथा सांसद जनार्दन शर्माको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वयंसेवी कार्यदलका अनुसार, स्थानीय सरकारको संरचना कमजोर र बढ्दो लाभग्राही संख्याका कारण व्यवस्थापन नै गर्न नसकिने अवस्था आएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई खारेज गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइए पनि यसले राम्रोसँग काम गर्न सकिरहेको छैन । प्राधिकरणलाई गृह मन्त्रालयको एक शाखासरहको हैसियतमा राखिएपछि यो काम गर्न नसक्ने अवस्थामा पुगेको हो ।

पूर्वाधार पुनर्निर्माणविज्ञ डा. श्रेष्ठ २०७२ सालको भूकम्पको अनुभव नै नरहेको जस्तो अवस्थामा संघीय, प्रदेश र स्थानीय सरकार रहेको बताउँछन् । जाजरकोट भूकम्पपछिको अवस्था अनिश्चित र चिन्ताजनक रहेको उनको भनाइ छ ।

भूकम्पलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ घटनास्थलमा पुगेर स्थलगत अवलोकन गरी छिट्टै पुनर्निर्माण गर्ने आश्वासन दिएका थिए । तर, स्थानीयका स्थायी घर बनाउने काम अझै सुरु भएको छैन ।

अस्थायी आवासका निम्ति प्रभावित प्रतिपरिवारलाई सरकारले ५० हजार रुपैयाँ अनुदान दिने भनेको छ । तर, प्रभावित क्षेत्रमा पर्याप्त बजेट जान सकेको छैन । सरकारले अस्थायी आवास निर्माणलगायत भूकम्प प्रभावित क्षेत्रमा काम गर्न १० अर्ब रुपैयाँ विपद् जोखिम न्यूनीकरण कोषमा निकासा गर्ने निर्णय गरेको थियो । हालसम्म एक अर्ब रुपैयाँ मात्र निकासा गरिएको प्राधिकरणले जनाएको छ ।

संघ सरकारले हस्तक्षेप गरेर पुनर्निर्माणको काम अघि बढाउन सक्ने अवस्था छैन । स्थानीय सरकार सक्षम भएर आउन सक्ने अवस्था छैन । भूकम्पपछिको पुनर्निर्माणको कामको जिम्मा कसले लिने भन्ने अन्योलकै कारण कठिनाइ उत्पन्न भएको श्रेष्ठको भनाइ छ ।

विगतको अभ्यास र अनुभव भुल्दै स्थानीय सरकार
जाजरकोट भूकम्प र त्यसले पुर्‍याएको क्षति तथा पुनर्निर्माणको कामलाई हेर्दा यसअघि यस्तो अनुभव नै नभएको जस्तो देखिने विज्ञले बताएका छन् । ०७२ सालको भूकम्पपछिको अनुभवले धेरै काम गरेको हुनुपर्ने भए पनि केही नै नभएको जस्तो स्थलगत अध्ययनका क्रममा देखिएको विज्ञ श्रेष्ठले बताए ।

घर निर्माण आचारसंहितालाई कडाइका साथ पालना गराएको भए र भूकम्प कुनै पनि बेला आउन सक्छ भन्ने पूर्वतयारी मात्र गर्न सकेको भए यति ठूलो जनधनको क्षति नहुने उनी बताउँछन् । नेपालको पश्चिम क्षेत्र भूकम्पको अत्यन्त जोखिममा रहेको भन्ने विषय स्थानीय सरकारले बिर्सिएको विज्ञ श्रेष्ठको टिप्पणी छ ।

खाका नै छैन निजी आवास निर्माणको 
भूकम्पपछिको पुनर्निर्माणमा स्थानीय सरकार मात्र कमजोर बनेको छैन, संघीय सरकार स्वयं पनि गैरजिम्मेवार देखिएको छ । स्थानीय सरकारलाई आवश्यक कानुन नबनाइदिने, आवश्यक प्राविधिक सहायता पनि उपलब्ध नगराउने अवस्था संघीय सरकारले नै सिर्जना गरेको छ ।

राहत वितरण गर्ने कार्यविधि स्थानीय सरकारसँग छैन । कस्तो प्रकारको निजी आवास बनाउने, आर्थिक प्राविधि पक्ष के हुन्छ भन्नेजस्ता योजना स्थानीय सरकारले बनाउन सकेका छैनन् । संघीय सरकारले पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अपनाएको विधि समेत स्थानीय सरकारलाई दिन सकेको छैन ।

०७२ सालको भूकम्प पुनर्निर्माणको अनुभवलाई मूल्यांकन गर्दा यसको प्रभावकारिता कति र कस्तो भयो भन्ने प्रश्न उठाइएको छ । त्यसैले अबको पुनर्निर्माणबारे नयाँ ढंगले छलफल गर्न आवश्यक छ । भत्किएका घर बनाउने काम मात्र नभई स्थानीय उत्पादनको प्रवृत्ति र पुनर्निर्माणको मोडालिटीबीच तालमेल हुन आवश्यक छ । पुनर्निर्माणमा एकातिर परम्परागत सम्पदा शैली र संस्कृतिको संरक्षण आवश्यक छ । अर्कोतिर, आधुनिक र एकीकृत बस्तीको महत्त्व पनि उत्तिकै छ ।

अबको पुनर्निर्माणमा परम्परागत सम्पदा शैली र आधुनिक सुविधायुक्त र एकीकृत बस्तीको समायोजन गर्दै ‘डोको राख्न मिल्ने संरचनामा भकारो पनि हुनुपर्ने’ गरी कसरी तालमेल गर्ने भन्नेमा केन्द्रित हुनुपर्ने विज्ञले बताएका छन् ।

प्राधिकरणलाई प्रधानमन्त्री मातहत ल्याउने रोडम्याप 
भूकम्पपछिको पुनर्निर्माण र निजी आवास निर्माणलाई गति दिने हो भने विपद् व्यवस्थापन प्राधिकरणलाई गृह मन्त्रालयबाट खोसेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ल्याएर संरचना फेर्नुपर्ने विज्ञ श्रेष्ठ बताउँछन् । प्राधिकरण प्रमुखको हैसियत मन्त्रीसरहको बनाएर मात्र कार्य सम्पादन हुन सक्ने निष्कर्ष गठनपूर्व नै निकालिए पनि पछि ऐन बनाउने बेलामा सचिवसरहको व्यक्तिले नेतृत्व गर्ने गरी संरचना बनाइएपछि समस्या आएको उनको भनाइ छ । सोही कारण प्राधिकरण कमजोर बनेको उनको भनाइ छ ।

प्राधिकरणको पुनर्संरचना गरेर निर्णय गर्न सक्ने अधिकार दिएर मात्र काम अघि बढाउन सकिने श्रेष्ठको सुझाव छ । “पुनर्निर्माणको नेतृत्व स्थानीय र प्रदेश तहले गर्दै राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले रणनीतिक दिशानिर्देश गरेर कामको बाटो खोल्न सक्छ ।  राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले स्रोतसाधन जुटाइदिने, जनशक्ति व्यवस्थापन मिलाइदिने, जनशक्तिलाई तालिम दिने र स्थानीय र प्रदेशमार्फत गराइएको पुनर्निर्माणको काम अनुगमन गर्ने र नीतिगत निर्देश गर्नुपर्छ,” श्रेष्ठको सुझाव छ ।

यति भए मात्र अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्न र आर्थिक सहायता जुटाउन सहज हुने विज्ञ श्रष्ठले बताए । ‘रेस्क्यु रिलिफ’को उत्तरदायित्व गृह मन्त्रालयअन्तर्गत नै र पुनर्निर्माणका कार्य प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्नुपर्ने उनको सुझाव छ । प्राधिकरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नराखेसम्म पुनर्निर्माण सम्भव नरहेको उनले जिकिर गरे ।

प्राधिकरणको कार्यक्षमताबारे यसको गठनसँगै प्रश्न उठाइँदै आएको छ । गृह मन्त्रालयअन्तर्गत राखेर काम गराउन नसकिने भन्दै संरचना नै फेर्न सुझाव दिइँदै आएको छ । विपद्सँग जोडिएर काम गर्नुपर्ने तर गृहमन्त्री र सचिवको निर्देशन पर्खिनुपर्ने अवस्थाको प्राधिकरणले काम गर्न नसक्ने भन्दै संरचना नै फेर्न सुझाव दिइएको विज्ञ श्रेष्ठले बताए । कानुनी आधारमा को जवाफदेही भन्ने स्पष्ट नभएको अवस्थामा पुनर्निर्माणको काम हुन नसक्ने सुझाव प्रधानमन्त्रीलाई दिइएको उनी बताउँछन् ।

‘संकीर्ण सोच छ, काम गर्न सकिँदैन’
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हासिल गरेका अनुभवले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितको व्यवस्थापन र पुनर्निर्माणमा काम गर्न सकिने प्रशस्त सम्भावना भए पनि सरकार त्यसलाई स्वीकार गर्न अनिच्छुक छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न विषयमा प्रकाशन गरेको पुस्तक समेत विपद् व्यवस्थापन प्राधिकरणमा राख्न अनिच्छुक रहेको तितो अनुभव विज्ञ श्रेष्ठले सुनाए । कतै राजनीतिक आग्रहले हेरियो कि भन्ने आशंका जीवित रहेको उनको भनाइ छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तालिम दिएका जनशक्तिलाई प्रयोग गर्ने हो भने रुकुम, जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई आवश्यक जनशक्ति पुग्ने उनको निष्कर्ष छ ।

प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउन आवश्यक
संघीय सरकारले आवश्यक प्राविधिक जनशक्ति पठाउने र त्यसको व्यवस्थापकीय र प्रशासनिक जिम्मेवारी प्रदेश र स्थानीय सरकारले लिएर काम गर्न सकिन्छ । स्थानीय आवश्यकताअनुसारको भूकम्पप्रतिरोधी घरको डिजाइन बनाउन प्राधिकरण, प्रदेश र स्थानीय सरकारको समन्वयात्मक कार्यसम्पादन खाका बनाउने सुझाव दिइएको विज्ञ श्रेष्ठले बताए ।

“स्थानीय तह र प्रदेशलाई बलियो बनाएर पुनर्निर्माणको काम सुरु गर्न सके स्थानीय तह र प्रदेशका संरचनाको क्षमता अभिवृद्धि हुन्छ, एक व्यवस्थित प्रणालीको स्थापना हुन्छ,” उनी भन्छन्, “यो अभ्यास स्थानीय र प्रदेश सरकारको विपद् व्यवस्थापनको संरचना बन्छ । यसले दीर्घकालमा विपद् व्यवस्थापनको क्षमता पनि स्थापित हुन्छ ।”

विपद्‌मा पनि संघीयता कार्यान्वयनको अवसर
यो विपद्ले संघीयता कार्यान्वयनको अवसर पनि दिएको छ । संघीय संरचनाको क्रियाशिलता र कार्यान्वयनको बाटो यसले खोल्छ । स्थानीय जनप्रतिनिधिलाई व्यवस्थित रूपमा काम गर्न सिकाउने र कार्यक्षमता चिन्ने अवसर समेत प्राप्त हुन्छ । रुकुम, जाजरकोटको मोडलले तीनै सरकारको सहकार्य र समन्वयमा विपद् व्यवस्थापनको काम हुने ढाँचा स्थापित हुन्छ ।

घरको अवस्था र उपलब्ध गराउन सकिने रकमलाई विश्लेषण गरेर लिन सक्नेलाई ऋण र नसक्नेलाई आवास बनाउने मोडालिटीमा जान उनले सुझाव दिए । ब्याजमा सहुलियत ऋण दिएर पुनर्निर्माणको काम अघि बढाउन सकिने उनले बताए ।

पुनर्निर्माण गर्न ६६ अर्ब ४० करोड बढी लाग्छ : प्राधिकरण 
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गरेर जाजरकोट र रुकुमलगायत पछिल्लो भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनासहितका काम गर्न झन्डै ५०० मिलियन डलर अर्थात् ६६ अर्ब ४० करोड ५४ लाख रुपैयाँ लाग्ने अनुमान सार्वजनिक गरेको छ ।

उक्त भूकम्पबाट ९५ हजार ७८७ घरमा क्षति पुगेको छ । ती पुनर्निर्माण गर्न प्रतिघर झन्डै पाँच लाख रुपैयाँ अनुदान दिँदा ५२ अर्ब ४२ करोड सात लाख लाग्ने अनुमान छ । पुनःस्थापनाका निम्ति २८ करोड ९२ लाख रुपैयाँ अनुमान गरिएको छ ।

यस्तै, पुनर्निर्माण तथा पुनःस्थापनाका निम्ति पूर्वाधारतर्फ २८ करोड ९२ लाख रुपैयाँ लाग्ने अनुमान छ । स्थानीय स्रोतसामग्री प्रयोगको थप प्रोत्साहनका निम्ति २४ करोड ११ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

पुनर्निर्माणसँगसम्बन्धी अरू विभिन्न विषयमा रकम खर्च हुने प्राधिकरणले पहिचान गरेको छ । स्कुल, स्वास्थ्य संस्था, सरकारी भवन, सडक, पुल, खानेपानीलगायत पुनर्निर्माणमा लाग्ने खर्च अलग्गै व्यवस्था गर्नुपर्ने जनाइएको छ ।

कार्यदलको सुझाव
कार्यदलले निजी आवासको पुनर्निर्माण पालिकाले गर्ने र हरेक स्थानीय तहमा पुनर्निमाण एकाइ राखिनु उचित हुने सुझाव सरकारलाई दिएको छ । पालिकाका इन्जिनियरको मातहत आवश्यक प्राविधिकको व्यवस्था गरिनु उचित हुने सुझाव दिइएको छ ।

जाजरकोट भूकम्पबाट क्षति पुगेको निजी आवास पुनर्निर्माणका निम्ति करिब २० हजार तालिमप्राप्त डकर्मी आवश्यक पर्ने देखिएको जनाइएको छ । स्थानीय तवरमा यो उपलब्ध हुन असम्भव रहेको कार्यदलको भनाइ छ । स्थानीयस्तरमा तालिमसँगै गोरखा भूकम्पपछिको पुनर्निर्माणमा खटिएका तालिमप्राप्त डकर्मीले अहिले काम गर्ने वातावरण स्थानीय सरकार र निजी क्षेत्रले तयार पार्नुपर्ने कार्यदलको निष्कर्ष छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २०:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro