site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा २० हजार अस्थायी आवास निर्माण

काठमाडौं । जाजरकोट भूकम्प प्रभावित जिल्लाहरूमा २० हजारभन्दा बढी अस्थायी आवास निर्माण सम्पन्न भएको छ ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले भूकम्पपछि सो क्षेत्रमा अस्थायी आवास निर्माण कार्य भइरहेको बताए । 

“भूकम्प प्रभावित जिल्लामा हालसम्म २० हजार १४७ वटा अस्थायी आवास निर्माण सम्पन्न भएका छन्,” पोखरेलले बाह्रखरीसँग भने, “१० हजार ३०५ वटा अस्थायी आवासको अहिले निर्माण कार्य भइरहेको छ ।” 

गत कात्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो । त्यसको केही साताअघि बाजुरा केन्द्रविन्दु भएर गएको भूकम्पले पनि ठूलो क्षति गरेको थियो । 

कार्यकारी प्रमुख पोखरेलका अनुसार भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम, सल्यान, बझाङ र बाजुरामा ८० हजार १५० वटा अस्थायी आवास निर्माण गर्नुपर्ने प्रारम्भिक अनुमान छ । 

प्रारम्भिक अध्ययनले जाजरकोटमा ४० हजार, रुकुम पश्चिममा ३० हजार ५००, सल्यानमा २ हजार, बझाङमा चार हजार ७५० र बाजुरामा दुई हजार ९०० वटा अस्थायी अवास निर्माण गर्नुपर्ने देखाएको थियो । 

हालसम्म जाजरकोटमा ९ हजार ६३८, रुकुम पश्चिममा १० हजार ४२३, सल्यानमा ७१ र बझाङमा १५ वटा अस्थायी आवास निर्माण भइसकेको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले जानकारी दिए । 

यस्तै, अहिले जाजरकोटमा ४३६, रुकुम पश्चिममा ९ हजार ६६४, बझाङमा ३७ र बाजुरामा १६८ वटा अस्थायी आवासको निर्माण कार्य भइरहेको छ । 

भूकम्प प्रभावित जिल्लामा अस्थायी आवास निर्माणको लागि चार अर्ब ७५ लाख रुपैयाँ लाग्ने अनुमान छ । उक्त रकममध्ये जाजरकोटमा दुई अर्ब रुपैयाँ, रुकुम पश्चिममा एक अर्ब ५२ करोड ५० लाख रुपैयाँ, सल्यानमा १० करोड रुपैयाँ, बझाङमा २३ करोड ७५ लाख रुपैयाँ र बाजुरामा १४ करोड ५० लाख रुपैयाँ आवश्यक पर्नेछ । 

प्राधिकरणले अस्थायी आवास निर्माणका लागि हालसम्म जिल्लास्थित कोषमा दुई अर्ब २६ करोड रुपैयाँ पठाइसकेको छ । 

प्राधिकरणले अस्थायी आवास निर्माण गर्न जाजरकोट जिल्लामा एक अर्ब चार करोड रुपैयाँ, रुकुम पश्चिममा ८४ करोड रुपैयाँ, सल्यानमा सात करोड रुपैयाँ, बझाङमा २५ करोड रुपैयाँ र बाजुरामा ६ करोड रुपैयाँ पठाइसकेको छ । 

जिल्लाले अस्थायी आवास निर्माण गर्न ६७ हजार ७८० लाभग्राहीको लागि सम्बन्धित स्थानीय तहहरूमा हालसम्म एक अर्ब ६० करोड ९८ लाख २५ हजार रुपैयाँ पठाएको छ । 

प्राधिकरणका अनुसार स्थानीय तहहरूले हालसम्म ४५ हजार ९१३ लाभग्राहीलाई अस्थायी आवास निर्माण गर्न ९९ करोड ३३ लाख ७५ हजार रुपैयाँ उपलब्ध गराइसकेको छ । 

स्थानीय तहबाट अस्थायी आवास निर्माण गर्न रकम बुझ्ने लाभग्राहीमा जाजरकोटमा २५ हजार २०४, रुकुम पश्चिममा १९ हजार ७१७, सल्यानमा ५८०, बझाङमा १२४ र बाजुरामा २८८ जना रहेका छन् । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १८:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro