मनका असीमित विकल्पसामु
बुद्धिमा ग्रहण लाग्दा
चित्तले दूषित बाछिटा छरेपछि
आत्मा कबाड सम्झेर कौडीमा बेच्ने म
इन्द्रिय घोडाहरूको लगाम
अहंकारले च्याट्ट छिनाएर
रकेटको वेग मार्ने रथारोही म
खबरदार, मेरो बाटो नछेक !
नदेखाऊ लाल झन्डी, यो एक्सप्रेस सवारी हो
दौड घोडा दौड — हैट घोडा हैट
ओहो, पहिलो मोडमै दुईवटा गरुंगो भारी !
माता र पिता कसरी उम्कनु
देख्यो कि पीडा हुन्छ मलाई
अझ लाल झन्डी देखाउँदै छन्
यिनको झुत्रे लुगा, चाउरिएको रूप, गतिहीन पाइला
यस्तो भारी बोकेँ भने त म आफैँ थिचिन्छु
पहाडले थिचेझैँ उठ्न नसक्ने गरी
के गर्नु, बल्लबल्ल छल गर्न भ्याएँ
अलि पर पुगेर फर्कने झुटो बाचा गरेँ
तिनका आँखामा आशा थियो
तर,
समय मेरो लागि बलियो थियो
सजिलै पत्याए
साढेसाती नै टरेर गो
दौड घोडा दौड — हट घोडा हट
ए घोडा हो, देख्यौ तिमीहरूले प्रेमको लाल झन्डी !
सबैभन्दा कठिन मोड हो यो
मलाई सात जुनी नछोड्ने मोड
त्याग र समर्पण कि राधा बसेकी मोड
छल न यसलाई छल घोडा हो, इसारा तोड
उनी चढिन् भने त एउटा पांग्रो खुस्किन्छ,
गर्लम्मै
बाटोमा यस्ता फूल धेरै मिल्छन्
प्रेम त केवल किताब र कवितामा हुन्छ
घोडाले बुझी गो
हो, घोडा हो ! स्याबास, बाटो मोड !
दौड घोडा दौड — हट घोडा हट
लामो सास फेरेँ
मोड सकियो भनेको त
बीचबाटोमा एक्लो पिपल
लाल झन्डी देखाउँदै
यो शान्तिलाई साथै लानोस् भन्दै थियो
ए, घोडाहरू हो !
रुखमा पनि शान्ति अनि सत्य हुन्छ त ?
आफैँ अशान्त भई रुँदै छ बजिया !
यो सब मेरो गन्तव्यका बाधकहरू हुन्,
काटिन लायक
नछोड, लौ जा !
बल्ल ढल्यो सत्य र शान्ति भनाउँदो
एकै प्रहारमा बाटो फेरि खुल्यो
दौड घोडा दौड — हट घोडा हट
म जिन्दगी जित्न निस्किएको
हार्न नजान्ने मान्छे
छटपटाइरहेको दया र मरिरहेको धर्म बोकेर
कसरी जीवन जित्ने,
यस्ता हरुवाहरूलाई बोकेर ?
यिनलाई चढायो भने त जीवनकै प्रलय हुन्छ
यो दलदल रूपी रछ्यान हो
यसले रथ डुबाउँछ, पाताल पुर्याउँछ
चलायो भने बडो दुर्गन्ध फैलिन्छ
जीवनभर धोएर नजाने छिटा पर्छ
कालो धब्बा
मेरो सफेद टाइसुटमा
दौड घोडा दौड — हट घोडा हट