site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोती हत्याकाण्डका २४ जनालाई जन्मकैदको फैसला

काठमाडौं । रुकुम पश्चिमको चर्चित सोती हत्याकाण्डमा संलग्न २४ जनालाई जन्मकैदको सजाय भएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले मंगलबार थुनामा रहेका २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

अदालतले डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, तिलक चन्द, इर्दबहादुर ठकुरी, लिपेन्द्र कुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नविनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर र विष्णु मल्ललाई जन्मकैदको फैसला सुनाएको हो । यसैगरी परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) १ र परिवर्तित नाम ५४ रुकुम पश्चिम (३६) ३ लाई पनि जन्मकैद भएको छ ।

नवराज विककी प्रेमिका र उनकी आमालाई भने जातीय छुवाछुतमा दुई वर्ष कैदको फैसला भएको अदालतकी स्रेस्तेदार मन्दिरा शाहीले जानकारी दिइन् । विककी प्रेमिकाकी दाइलाई भने जन्मकैदको फैसला भएको छ । 

यस मुद्दामा तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दिपेन्द्र चन्दले सफाइ पाएका छन् ।

६ युवाको सामूहिक हत्या गरिएको मुद्दामा ३४ जनालाई प्रतिवादी बनाइएको थियो । यस मुद्दामा जाहेरवाला र सरकारी वकिलतर्फका १५ र प्रतिवादीतर्फका ६ वकिलले बहस गरेका थिए ।

२०७७ जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा पर्ने सोतीमा ६ जना युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका नवराज र उनका साथीहरूको समूहलाई सोतीका स्थानीयले कुटपिट गरेर गरी सेती नदीमा बगाइदिएको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाएको थियो ।

प्रेमिका भनिएकी किशोरीले हत्या भएको स्थानमा नपुगेको बयान दिए पनि निजकै कारण घटना भएको भन्दै प्रेमिका भनिएकी किशोरीमाथि समेत कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतमा मुद्दा चलाइएको थियो । २०७७ साल जेठ ३२ मा रुकुम पश्चिम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको संख्या बढी हुँदा सुनुवाइमा लामो समय लागेको हो । 

मुद्दा दर्ता भएको ३६ महिनामा निरन्तर सुनुवाइ भएको थियो । पदमबहादुर बुढा, शोभे नेपाली लगायतको जाहेरीका आधारमा प्रहरी अनुसन्धान भई नेपाल सरकारले ३४ जनालाई ज्यान मारेको मुद्दामा जन्मकैद, जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभावको कसुरमा तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबाना तथा ज्यान मार्ने उद्योगमा संलग्नहरूको हकमा १० वर्षसम्मको कैद सजायको माग दाबी लिएको थियो ।

नवराज दलित केटा भएकाले पटकपटक घरमा आउने गरेको कुरा परिवारका सदस्यहरूलाई मन नपरेको र आएमा मारिदिनेसम्मको योजना घरमा बनेको बयान नवराजकी प्रेमिका भनिएकीका दाइले दिएका थिए । प्रेमिकाले भने पहिले दलित भन्ने थाहा नभएको तर पछि दलित रहेको थाहा पाएपछि सम्बन्ध तोड्न चाहे पनि आफूसँग विवाह गर्न दबाब दिएको बताएकी थिइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro