काठमाडौं । गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि ‘नेसन्स गट ट्यालेन्ट’ रियालिटी शोज हुने भएको छ ।
नेसन्स गट ट्यालेन्टको आयोजक संस्था एएनपी मिडिया हाउसले उक्त रियालिटी शोजको घोषणा गरेको हो । एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेसन्स गट ट्यालेन्टका निर्देशक लबबहादुर कार्कीले बाल प्रतिभाको खोजीमूलक उक्त कार्यक्रम एपीवान टेलिभिजनबाट प्रसारण हुने जानकारी दिए ।
शोजले बालबालिकाका लागि गायन र नृत्य विधामा आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्न मञ्च उपलब्ध गराउने बताए । शोजमा अभिनेत्रीद्वय मिथिला शर्मा र गौरी मल्ल तथा गायक आनन्द कार्की र गायिका देविका बन्दना निर्णायक रहने छन् ।
चैतको पहिलो साताबाट प्रसारण गर्ने तयारी रहेको शोजका लागि मंसिर १६ गतेबाट काठमाडौंमा अडिसन सुरु हुनेछ । काठमाडौंलगायत देशका प्रमुख सहरमा अडिसन राखिने आयोजकले जनाएको छ ।