site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘बाबा’लाई पनि पठाउँछन् गृहमन्त्री पीएसओ, राज्यको तलब खाएर घरको काम !
SkywellSkywell

काठमाडौं । पदधारी तथा पूर्व पदाधिकारीहरुका खातिर सेना–पुलिस पीएसओ दिइन्थ्यो नै । कसैका निम्ति कानुनी बाटोबाटै त कसैले पहुँच प्रयोग गरी सुरक्षाकर्मी लिन्थे ।

हुँदाहुँदा पदबाहिरका व्यक्तिका हकमा मन्त्रीहरुले सुरक्षाकर्मी उपलब्ध गराउने प्रचलन भित्रिएको छ ।  गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘जगत गुरु’ यतीराज उपाध्यायलाई एक प्रहरी हवल्दार उपलब्ध गराएका छन् । 

उता बालकृष्ण खाण गृहमन्त्री ‘सदगुरुदेव अर्चना बाबा’लाई एक प्रहरी जवान उपलब्ध गराएको देखिन्छ ।  संसद्को राज्यव्यवस्था तथा सुशासन समितिलाई गृहमन्त्रालयले उपलब्ध गराएको विवरणमा सुरक्षाकर्मी उपलब्ध गराएको तथ्यांक सामेल छ ।

Dabur Nepal
NIC Asia

एक पटक मन्त्री भएका अर्थात् पूर्वमन्त्रीहरुले सानका लागि पनि बढी भन्दा बढी सुरक्षाकर्मी लिने र घरायसी काममासमेत लगाएको पाइएको छ ।  सुरक्षाकर्मी दुरुपयोग भएको गुनासो आएपछि समितिले विवरण माग गरेको हो । 

१५ दिनभित्र विवरण उपलब्ध गराउनू भनी पत्राचार गरेको थियो । तर समितिको दोस्रो पत्रपछि र त्यसमा लामो समय लगाउँदै विवरण उपलब्ध हो । समितिले पाएको विवरणमा नेपाल प्रहरीबाट व्यक्तिगत सुरक्षामा खटाइएका पिएसओको मात्र विवरण उपलब्ध भएको हो । 

सशस्त्र प्रहरी र नेपाली सेनाबाट खटेका सुरक्षाकर्मीको भने विवरण समितिले अझै पाउन सकेको छैन । नेपाल प्रहरीले करिब पौने १३ सय सुरक्षाकर्मी व्यक्तिगत सुरक्षामा खटिएको विवरण उपलब्ध गराएको छ ।  

तर, स्रोतका अनुसार नेपाली सेनाका भिन्न–भिन्न तहका झण्डै ४५ सय कर्मचारी व्यक्तिगत सुरक्षामा खटिएका छन् । अनौपचारिक रुपमा त्यसलाई एक हजारमा झार्ने नीति रहेको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, सशस्त्र प्रहरीले विगतका करिव ९ सय घटाएर करिव तीन सयमा झारिएको बताएको छ ।
०००
सरकारले अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षामा पौने १३ सय प्रहरी खटाएको छ । विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधिअनुरुप उनीहरुलाई विशिष्ट व्यक्तिहरुको सुरक्षमा खटाएको विवरणमा उल्लेख छ ।

त्यसबाहेक संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन तथा गृहमन्त्रालयसहित विभिन्न निकायको पत्र तथा निर्णयबाट पनि नेपाल प्रहरीका कर्मचारी खटिने गरेका छन् ।

त्यसबाहेक राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभा अध्यक्षसहितका अतिविशिष्ट र विशिष्टहरु तथा पदाधिकारीहरुका निम्ति पौने १३ सय नेपाल प्रहरीका कर्मचारी सुरक्षाकर्मी खटेका छन् ।

नेपाल प्रहरीले गृहमार्फत् राज्य व्यवस्था समितिमा पठाएको विवरण अनुसार, एक डिएसपी, ७ इन्स्पेक्टर, ९८ वरिष्ठ सइ, ६४ सइ, एक सय ८१ असइ, एक सय १६ वरिष्ठ हवल्दार, तीन सय १८ हवल्दार, दुई सय २५ सहायक हवल्दार, दुई सय ४४ जवान, पाँच प्रहरी कार्यालय सहयोगी (प्रकाश) भीआईपीलाई दिएको छ । 

नेपाल प्रहरीमार्फत गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले समितिलाई उपलब्ध गराएको विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ बमोजिम नेपाल प्रहरीबाट खटिएका व्यक्तिगत सुरक्षाकर्मी, प्रहरी कार्यालय सहयोगीहरूको दर्जागत विवरणअनुसार झण्डै एक हजार तीन सय बढी कर्मचारी सुरक्षामा खटिएको पाइएको हो । 

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाका अनुसार, मापदण्डविपरीत खटिएका नेपाल प्रहरीका छ सय र सशस्त्र प्रहरीका सात सय सुरक्षाकर्मी फिर्ता भएको अनौपचारिक जानकारी आएको छ ।

उनका अनुसार, सशस्त्रले केही समयभित्रै पूर्ण विवरण पठाउने जानकारी गराएको छ । उता नेपाली सेनाका ४५ सय सेना व्यक्तिगत सुरक्षामा भएको र त्यसलाई घटाएर हजारमा झार्ने प्रयास भइरहेको जानकारी दिएको छ ।

“सुरक्षाकर्मीको विवरण आइसकेपछि समितिका पूर्ण बैठकमा छलफल गराइने छ । मापदण्ड विपरित भएको पाइएमा तत्काल सच्याउन निर्देशन पनि हुने छ,” सभापति खतिवडाले बाह्रखरीसँग भने, “कुनै पनि नागरिकलाई सुरक्षा थ्रेट छ भने उसलाई सुरक्षा दिनसक्नुपर्छ ।’’

तर राज्यको तलब सुरक्षाकर्मी कसैका श्रीमतीका कपडा धुने, आइरन लगाइदिने र उसको सान बनिदिने गरी सुरक्षाकर्मी खटाउनु अनुचित ठान्दै समितिले छानबिन सुरु गरेको जानकारी खतिवडाले दिए ।

उनले व्यक्तिको जुत्ता पोलिस गर्ने, आइरन गर्ने तथा भान्से र ड्राइभर बनाउन सुरक्षा निकायको व्यक्तिको प्रयोग हुन नहुने बताए । संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनले संसदीय समितिका सभापतिले दुई जनासम्म सुरक्षाकर्मी लिन पाउने व्यवस्था गरेको छ । 

सभापति खतिवडाले भने सुरक्षा कर्मी लिएका छैनन् । त्यही ऐन अनुसार संघीय संसदका समिति सभापतिको सुरक्षामा ८ जना प्रहरी खटिएका छन् ।  जसमा एक वरिष्ठ सइ, तीन असइ, एक वरिष्ठ हवल्दार, एक हवल्दार, दुई सहायक हवल्दार रहेका छन् । 

प्रतिनिधिसभा महिला समिति सभापति किरणकुमार साह र अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति राजकिशोर यादवले असईसहित दुई–दुई प्रहरी लिएका छन् ।

उद्योग समिति सभापति अब्दुल खानले वरिष्ठ सइसहित दुई अधिकारी लिएका छन् भने पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले असइ र शिक्षा समिति सभापति भानुभक्त जोशीले प्रहरी सहायक हवल्दार गरी एक–एक प्रहरी लिएका छन् । 

कुन विशिष्टसँग कति प्रहरी ? 

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि अनुसार राष्ट्रपतिले १८ जना प्रहरी सुरक्षाकर्मीका रुपमा लिन पाउँछन् ।  राष्ट्रपति रामचन्द्र पौडेलको सुरक्षामा इन्स्पेक्टरसहित ११ जना खटिएका छन् ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले कार्यविधिले दिएको पुरै सुरक्षाकर्मी लिएका छन् । उनले इन्स्पेक्टरकै नेतृत्वमा पाँचजना सुरक्षाकर्मी लिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा डीएसपीको नेतृत्वमा तीन इन्स्पेक्टरसहित ६२ जना खटिएका छन् । बालुवाटारमा प्रधानमन्त्री विशेष सुरक्षा इकाइमार्फत उनीहरुको परिचालन हुने गरेको छ ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सुरक्षामा वरिष्ठ सइको नेतृत्वमा १० प्रहरी खटिएका छन् । 

प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्षले दुई–दुई जना सुरक्षाकर्मी लिएका छन् ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबाहेक सबै संघीय मन्त्री–राज्यमन्त्रीहरू, उपसभामुख, उपाध्यक्षको सुरक्षामा दुई–दुई जना प्रहरी खटिएका छन् । रक्षामन्त्रीको सुरक्षा भने नेपाली सेनाले नै दिँदै आएको छ ।
त्यसबाहेक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमाले प्रमुख सचेतक पदम गिरीलाई पनि दुई–दुई प्रहरी सुरक्षाका लागि खटाइएको छ ।

प्रधानन्यायाधीशसहित सर्वाेच्च अदालतका सबै न्यायाधीश, संवैधानिक आयोगका प्रमुख आयुक्त र आयुक्तले दुई–दुई, अध्यक्ष र सदस्यले दुई पाउनेमा कसैले दुई त कसैले एक प्रहरी लिएका छन् ।

पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले इन्स्पेक्टरसहित १५ प्रहरी लिएका छन् । गृहले उनलाई सुरक्षाकर्मीसहित अगुवा सवारीका लागि गाडीसमेत उपलब्ध गराएको छ ।

यी हुन् पीएसओ लिने पूर्वपदाधिकारी 

प्रथम राष्ट्रपति डा. रामवरण यादवले असइसहित दुई सुरक्षाकर्मी लिएका छन् । पूर्व राष्ट्रपति विद्या भण्डारीले वरिष्ठ सइसहित दुई सुरक्षाकर्मी लिएकी छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा सहायक हवल्दार र जवान गरी दुई प्रहरी छन् । 

प्रथम उपराष्ट्रपति परमानन्द झाले दुई वरिष्ठ सई लिएका छन् भने निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले सइसहित दुई प्रहरी लिएका छन् ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सइसहित दुई, लोकेन्द्रबहादुर चन्द, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी वरिष्ठ सइसहित दुई–दुई, झलनाथ खनाल दुवै वरिष्ठ सइ, शेरबहादुर देउवाले इन्स्पेक्टरसहित दुई प्रहरी लिएका छन् ।

देउवाले लामो समयदेखि लिएका सुरक्षाकर्मीलाई नछोडेका हुन् । उनको अगुवा सवारी साधनसहितका प्रहरी सुरक्षाकर्मी भने केही समयअघि फिर्ता भएका हुन् । पूर्वप्रधानन्यायाधीशहरू कल्याण श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा, हरिकृष्ण कार्कीले दुई–दुई प्रहरी लिएका छन् । 

मीनबहादुर रायमाझी र पूर्वकामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलेको सुरक्षामा एक–एक प्रहरी छन् ।  यसैगरी, पूर्वसभामुख अग्नि सापकोटा वरिष्ठ सइसहित दुई, ओनसरी घर्तीले एक असइ लिएकी छन् । पूर्वउपप्रधानमन्त्रीहरू भीम रावल, वामदेव गौतम, कमल थापा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्ण सिटौला, विष्णु पौडेलले दुई–दुई प्रहरी लिएका छन् भने विजय गच्छदारले एक सुरक्षकर्मी लिएका छन् । 

अनावश्यक पीएसओ लिन नहुने भन्दै फिर्ता गराउन भूमिका खेलेका पूर्वगृहमन्त्री रवि लामिछानेले एक प्रहरी हवल्दारको सुरक्षा लिएका छन् ।  पूर्वमन्त्रीहरू जनार्दन शर्मा, पूर्वमन्त्रीहरु हरिप्रसाद उप्रेती, मीनेन्द्र रिजाल, रामबहादुर थापा बादलले दुई–दुई प्रहरी लिएका छन् । 

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, देवेन्द्र पौडेल, किसान श्रेष्ठ, गोविन्द बन्दी, ज्वालाकुमारी साह, अमनलाल मोदी, मृगेन्द्रसिंह यादव, प्रदीप यादव, राजेन्द्र श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्री, इस्तियाक राई, पम्फा भुसाल, दिलेन्द्र बडू, महेश्वरजंग गहतराज, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, प्रेम आले, विक्रम पाण्डे, गोविन्दराज जोशी, महन्थ ठाकुर, अर्जुननरसिंह केसी, रामशरण महत, बुद्धिमान तामाङ, देव गुरुङ, सुनील थापा, दीपक गिरी, वर्षमान पुन, प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, जितेन्द्रनारायण देव, दीपक बोहराले एक–एक सुरक्षाकर्मी लिएका छन् ।

पूर्वराज्यमन्त्रीहरू देवेन्द्रराज कँडेल, बोधमायाकुमारी यादव, उमेश श्रेष्ठ र हिराचन्द्र केसीले पनि सुरक्षामा एक–एक प्रहरी लिएका छन्  । 

पूर्वमुख्यमन्त्रीलाई दुई–दुई प्रहरी

प्रदेशका पूर्वमुख्यमन्त्रीहरुले पनि दुई–दुई जना प्रहरी सुरक्षामा लिएका छन् ।  पूर्वमुख्यमन्त्रीहरू शंकर पोखरेल, शेरधन राई, राजेन्द्र पाण्डे, खगराज अधिकारीले दुई–दुई प्रहरी लिएका हुन् ।  यस्तै अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्की, नवीनकुमार घिमिरे, पूर्वमहालेखा परीक्षक टंकमणि शर्माले पनि दुई–दुई प्रहरी लिएका छन् । 

पूर्वनिर्वाचन आयुक्त ईश्वरी पौड्याल, अख्तियार पूर्वआयुक्त सावित्री थापा गुरुङ र पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले एक–एक प्रहरी लिएका छन् । 

०००

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार काठमाडौं, ललितपुर, भक्तपुरका न्यायाधीश र प्रमुख जिल्ला अधिकारीको सुरक्षामा रानी पोखरीस्थित मेट्रो कार्यालयबाट ३० जना प्रहरी कर्मचारी खटाइएको छ । 

जसमा पाँच वरिष्ठ हवल्दार, आठ हवल्दार, नौ सहायक हवल्दार र आठ जवान छन् । 

प्रदेशमा यस्तो छ व्यक्तिगत सुरक्षामा प्रहरी

कोसी प्रदेश प्रहरी कार्यालयबाट प्रदेश सरकारका पदाधिकारी, प्रदेशसभा पदाधिकारी, प्रदेश प्रमुख, १४ जिल्लाका सीडीओ र न्यायाधीशहरूको सुरक्षामा ८६ प्रहरी परिचालन गरिएको छ ।  जसमा एक वरिष्ठ सइ, दुई सइ, ६ असइ, १५ वरिष्ठ हवल्दार, ४० हवल्दार, १७ सहायक हवल्दार र पाँच जवान छन् । 

मधेस प्रदेशमा प्रदेश सरकारका पदाधिकारी, प्रदेशसभा पदाधिकारी, प्रदेश प्रमुख, ८ जिल्लाका सीडीओ र न्यायाधीशहरूको सुरक्षामा १४७ प्रहरी खटाइएको छ ।  जसमा २ सइ, १२ असइ, २२ वरिष्ठ हवल्दार, ४६ हवल्दार, ३२ सहायक हवल्दार र ३३ जवान छन् । 

वाग्मती प्रदेशमा प्रदेश सरकारका पदाधिकारी, प्रदेश सभा पदाधिकारी, प्रदेश प्रमुख, उपत्यकाका तीनबाहेकका १० जिल्लाका सीडीओ र न्यायाधीशहरूको सुरक्षामा एक सय २२ प्रहरी कर्मचारी खटाइएको छ । 

जसमा दुई सइ, सात असइ, आठ वरिष्ठ हवल्दार, ३५ हवल्दार, २५ सहायक हवल्दार र ४५ जवान छन् ।  गण्डकी प्रदेशमा प्रदेश सरकारका पदाधिकारी, प्रदेशसभा पदाधिकारी, प्रदेश प्रमुख, ११ जिल्लाका सीडीओ र न्यायाधीशहरूको सुरक्षामा ११६ प्रहरी कर्मचारी खटिएका छन् । 

जसमा एक वरिष्ठ सइ, दुई सइ, १५ असइ, चार वरिष्ठ हवल्दार, ४३ हवल्दार, २४ सहायक हवल्दार र २७ जवान छन् ।  लुम्बिनी प्रदेशमा प्रदेश सरकारका पदाधिकारी, प्रदेशसभा पदाधिकारी, प्रदेश प्रमुख, १२ जिल्लाका सीडीओ र न्यायाधीशहरूको सुरक्षामा एक सय ५९ अर्थात् सबै प्रदेशभन्दा बढी प्रहरी कर्मचारी खटिएका छन् । 

जसमा दुई वरिष्ठ सइ, दुई सइ, आठ असइ, १५ वरिष्ठ हवल्दार, ५१ हवल्दार, ३५ सहायक हवल्दार र ४६ जवान छन् । कर्णाली प्रदेशमा प्रदेश सरकारका पदाधिकारी, प्रदेश सभा पदाधिकारी, प्रदेश प्रमुख, १० जिल्लाका सीडीओ र न्यायाधीशहरूको सुरक्षामा ५५ प्रहरी कर्मचारी खटिएका छन् । 

जसमा तीन वरिष्ठ सइ, दुई सइ, ११ असइ, ८ वरिष्ठ हवल्दार, २३ हवल्दार, तीन सहायक हवल्दार र पाँच जवान छन् ।  सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारका पदाधिकारी, प्रदेशसभा पदाधिकारी, प्रदेश प्रमुख, ९ जिल्लाका सीडीओे र न्यायाधीशहरूको सुरक्षामा ९९ प्रहरी कर्मचारी खटाइएको छ । 

जसमा तीन वरिष्ठ सइ, तीन सइ, १० असइ, ९ वरिष्ठ हवल्दार, २४ हवल्दार, १९ सहायक हवल्दार र ३१ जवान छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu