किशोरावस्था र मानसिक स्वास्थ्य अन्तरसम्बन्धित मात्रै होइन अत्यन्तै संवेदनशील विषय पनि हुन् । कतिपय किशोरावस्थाका सन्तान अध्ययनमा अपेक्षाकृतरूपमा सफल नभएर वा प्रेम सम्बन्धका कारण मानसिक रोगको सिकारदेखि आत्महत्यासम्मको अवस्थामा पुगेको देखिन्छ ।
यसको पछाडि उनीहरूको हुर्काइ, अभिभावकले दिने सहायता, समाजले गर्ने व्यवहार आदिको भूमिका रहन्छ । पछिल्लो समय समग्र युवा पुस्तामा अधैर्यता र बेचैनीका कारण मानसिक समस्या निम्तिएको हाम्रो अनुभवले देखाउँछ ।
त्यसो त मानसिक समस्या जुनसुकै उमेर वा वर्गका व्यक्तिमा देखिन सक्छ । तर, यसको बढी जोखिममा भने हुर्काइमा समस्या भएका, दुर्व्यवहारमा परेका, हेलामा परेका, दुर्व्यसनको चक्करमा रहेका र परिवारमा कडा खालको मानसिक रोग भएका व्यक्ति धेरै पर्छन् । अहिलेसम्मको तथ्य अनुसार अधिकांश मानसिक समस्या किशोरावस्थामा नै सुरु भएको पाइएको छ ।
विशेषगरी हामीले हुर्काउँदै गरेका बालबालिकालाई असफलता र जिम्मेवारीबोधको पाठ नसिकाइँदा उनीहरू मानसिक समस्यामा फस्ने गरेको पाइएको छ । हामी सन्तानसँग सफलता र प्राप्तिको मात्रै कुरा गर्छौं, असफलता र त्यसबाट सिक्ने पाठको बारेमा चर्चा नै गर्दैनौँ । त्यसले किशोरकिशोरीलाई असफलतासँग जुध्न कठिन बनाइरहेको छ ।
किशोरावस्थाका सन्तानलाई असफल हुँदाको प्रतिक्रिया, मानसिक आघात र प्रेसरलाई पनि थेग्न सिकाउनुपर्छ । हामीले बालबालिकालाई एकेडेमिकरूपमा साक्षर त बनायौँ तर मानसिक रूपमा बलियो बनाइरहेका छैनौँ ।
कतिपय अवस्थामा अधिकारको नाममा हामीले उनीहरूलाई उमेर र क्षमता अनुसारको जिम्मेवारीबाट वञ्चित गरिरहेका छौँ । आत्मनिर्भर बनाउनुको साटो अभिभावकबाटै सबै जिम्मेवारी बहन गरी उनीहरूलाई परनिर्भर बनाइरहेका छौँ । अभिभावकको यो अभ्यासले कमजोर जनशक्ति उत्पादन गरिरहेको अहिलेको सत्य हो ।
असफलताबाट पनि पाठ सिक्न सकिन्छ, अर्कोपटक सुधार गर्न सकिन्छ भन्ने तथ्य विद्यालयतहबाट नै सिकाउनु जरुरी छ ।
हामीले मेन्टल हेल्थ लिट्रेसी, साक्षरता कस्तो खोजिरहेका छौँ समाजमा, एसईईमा फेल भएपछि, प्रेममा असफलतापछि आत्महत्या गर्ने कुरा स्कुल लेभलबाटै सिकाउन जरुरी छ । अझै ठूल्ठूला कुरा थपिन सक्छ । अहिले नै व्यवस्था गर्ने ।
असफलताबाट कसरी पाठ सिक्ने, अर्कोपटकको सफलताका लागि कसरी प्रेरित बन्ने भन्ने कुरा किशोरावस्थामा सिकाउन जरुरी छ । अझै हामी त्यो ट्र्याकमा छैनौँ ।
जिम्मेवारीबोध सानै उमेरदेखि गराउनुपर्छ । आवश्यकताका काम अधिकारका कुरा बढी गछौँ, त्यही नाममा काम सिकाएर आत्मनिर्भर बनाउन सिकाइरहेका छैनौँ, यसले कमजोर जनशक्ति उत्पादन भइरहेको छ । यसमा अभिभावक र शैक्षिक संस्था दुवैको भूमिका हुन्छ ।
एकातिर हाम्रो राज्य संरचना, समाज परिवर्तनको चरणमा छ । यसले सामाजिक र पारिवारिक वातावरणलाई पूरै प्रभावित गरेको छ । अर्कोतिर हामीले सन्तानलाई मानसिकरूपमा कमजोर बनाइरहँदा युवा पुस्तामा अधैर्यता र बेचैनी बढाउँदै लगेको छ ।
प्रविधिको विकासले हाम्रो सामाजिक संरचना पूरै फेरिएको छ । परिवारमा अन्तरक्रिया, सेयरिङ हुनै छोडेको छ । यसले परिवारको 'सपोर्ट सिस्टम' टुटिरहेको छ ।
परिवारको सहयोग र परामर्श नहुँदा व्यक्तिले समस्याको क्षणिक समाधानका लागि गलत बाटो रोजेको पाइन्छ । किशोरावस्थामा हुने शारीरिक तथा भावनात्मक परिवर्तन र सामाजिक दायित्वका परिवर्तनलाई सबैले स्वीकार गर्न नसक्दा पनि किशोर किशोरीबाट गलत घटना हुने गरेको पाइएको छ । यस्तो अवस्थामा परिवारमा विश्वासको वातावरण हुनुपर्छ ताकि उनीहरूले गरिरहेका हरेक कामको अभिभावकलाई जानकारी होस् ।
व्यक्तिगत उनीहरूको सही र गलत छुट्याउन सिकाउनुपर्छ, उनीहरूको जिद्दीपना र रिसलाई स्वाभाविकरूपमा लिनुपर्छ । किशोरावस्थाका सन्तानको जिद्दीपना र रिसलाई अभिभावकले उस्तै रूपमा प्रतिक्रिया जनाउँदा सन्तानले गलत निर्णय पनि लिन सक्छन् । यी सबै समस्यालाई अभिभावकले छलफलबाट समाधान गर्नु उचित हुन्छ ।
(पाटन मानसिक अस्पतालका मनोचिकित्सक डा. नवीन देवकोटासँग गरिएको कुराकानीका आधारमा ।)