site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब वार्ता समितिको सहमतिपत्रको खाका बालेनको टेबलमा पुग्यो...

काठमाडौं । सडक तथा फुटपाथ व्यवसायीको व्यवस्थापनको माग राखेर आठ दिनदेखि काठमाडौं महानगरको गेटअगाडि उभिरहेका छन्, सामाजिक अभियन्ता ईः । उनले मुख्य गरी महानगरभित्र सडक व्यापार गरिरहेका व्यापारीहरूका लागि वैकल्पिक व्यवस्था गरिनुपर्ने, उनीहरूलाई निश्चित समय, स्थान र शुल्क लिएर भए पनि व्यवसाय गर्न दिनुपर्ने माग राखेका छन् ।

उसो त उनले चुनावअघिका बालेन शाहलाई वाचा सम्झाउन आफू सडकमा आएको पनि बताउने गरेका छन् । चुनावताका ‘गरिबको चेमेली बोल्दिने कोही छैन’ गीत गाएर हिँडेका बालेनले चुनाव जितेपछि महानगरबाट गरिबलाई हटाइरहेको उनको भनाइ छ ।

सुरुमा ई: ७७ घण्टाका लागि भनेर उभिएका थिए । तर, पछि उनले आफू नढलेसम्म उभिरहने निर्णय लिए ।

“सक्दासम्म उभिने हो । जुन दिन म ढल्छु यहाँ उभिन नसक्ने हुन्छ । मैले आशा गरेर जवाफदेहिता माग गरेको हुँ । म ढलेको दिनमा युवाको आशा पनि सँगै ढल्ने छ,” बाह्रखरीसँग उनले भनेका थिए ।

सुरुमा उनलाई काठमाडौं महानगरले वास्ता गरेन । बालेनले नगर प्रहरी पठाएर ‘ठाडो शैली’मा वार्ताका लागि त बोलायो तर माहोल बनेन । 

अर्कोतर्फ ई:लाई समर्थन बढ्दै गयो । अन्य अभियन्ताले पनि उनलाई साथ दिन थाले । सडक व्यापारीहरूले समूहमा नै गएर उनको मागमा ऐक्यबद्धता जनाए ।

समर्थन बढ्न थालेपछि आठौँ दिनमा महानगरले वार्ताका लागि बोलायो । वार्तामा महानगर र ईः का प्रतिनिधि सहभागी भए । बालेन र ईः सहभागी भएनन् । 

उनीहरूका प्रतिनिधिबीच मंगलबार दिउँसो साढे २ बजे वार्ता सुरु भयो । वार्ता बेलुका करिब ८ बजेसम्म चल्यो । वार्ताले सार्थकता पाउने अपेक्षा गरिएको थियो । महानगर गेटअगाडि सडक व्यवसायीहरू निर्णय सुन्न पर्खिरहेका थिए ।

वार्ता समितिले समस्या समाधानका लागि चार बुँदे सहमतिपत्र तयार गर्‍यो । सहमतिपत्रमा भनिएको थियो–फुटपाथ तथा सार्वजनिकस्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरू महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्ने, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानुनी व्यवस्था समेतको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझावसहित दुई महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेस गर्न समिति गठन गर्ने ।

समितिमा महानगरपालिकाले तोकेका तीनजना, ई:को तर्फबाट तोकिएका दुईजना प्रतिनिधि, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि एकजना, सहरी विकास मन्त्रालयका प्रतिनिधि एकजना र ट्राफिक प्रहरीबाट प्रतिनिधि एकजना रहने भनेर सहमतित्र ड्राफ्ट गरिएको थियो ।

बुँदा नम्बर चारमा साविकमा फुटपाथ तथा सार्वजनिकस्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्ने भनिएको थियो । ड्राफ्टमा कोटेश्वर चोकबाट जडीबुटी जाने बाटो, तिलगंगा अगाडि, चाबहिल मालपोत पछाडि, बालाजु क्षेत्र, भृकुटिमण्डप र सम्भावित अन्य क्षेत्र समेतमा दसैँ–तिहार र छठसम्मका लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा आजको मितिले एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरूलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइने उल्लेख थियो ।

जब बालेनले मुख्य बुँदा नै काटेर पठाए पत्र… 

सहमति पारित गर्नका लागि ड्राफ्ट बालेनकहाँ पठाइयो । तर, बालेनले मुख्य बुँदा नै काटिदिए । बुँदा नम्बर ४ काटेर बालेनले सुरुको लाइन मात्र राखे– साविकमा फुटपाथ तथा सार्वजनिकस्थलमा व्यापार गरेका व्यवसायीहरूका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरपालिकाले पहल गर्ने छ ।

करिब ६ घण्टा लगाएर तयार पारेका सहमतिपत्रको चार नम्बर बुँदा काटेर बालेनले नयाँ निर्णय लेखेर त्यसमा हस्ताक्षर गर्न भनेर पठाए । तर, मुख्य बुँदा नै काटेपछि व्यापारीहरूले असमति जनाएर निस्किए ।

त्यसपछि वार्ता निष्कर्षविहीन बनेर टुंगियो ।

ई: ले भने– बालेनका कारण वार्ता सफल भएन

बालेनले महत्त्वपूर्ण बुँदा नै काटेर पठाएपछि वार्ता निष्कर्षविहीन बनेको ई: को भनाइ छ । “महानगरको तर्फबाट वार्तामा आउनुभएको प्रतिनिधिहरूलाई एकदमै धन्यवाद भन्न चाहन्छु । उहाँहरूको सबैसँग फेलेक्जिबल हुने भन्ने किसिमको भूमिका थियो । तर, त्यो सहमति पारितका लागि मेयरको टेबलमा पुग्यो  । उहाँले महत्त्वपूर्ण बुँदा काटेर पठाउनुभयो । त्यो सहमतिपत्रमा भएको सबै कुरा काटेर कंकालमात्र बाँकी राखेर हस्ताक्षर गर्न भनेर हामीलाई पठाउनुभयो । तर, अनि निष्कर्षविहीन भयो,” ईः ले बाह्रखरीसँग भने ।

बालेन आफ्नै कुरा अडिक हुन नसकेको ईः को भनाइ छ । “हामीले बालेनलाई प्रधानमन्त्रीको रूपमा हेरेका थियौँ । तर, हामी भ्रममा रहेछौँ । हिजो आफैँले बोलेको विषयमा कुनै कमिटमेन्ट नै देखिएन,” ईः ले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ००:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro